ट्रम्पद्वारा प्रस्तावित राजदूतविरुद्ध दूतावास अगाडी विरोध, किन स्विकार्न चाहँदैन मलेसिया ?


प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार

मलेसियाको राजधानी क्वालालम्पुरस्थित अमेरिकी दूतावासअगाडि शुक्रबार दर्जनौं प्रदर्शनकारीहरू भेला भई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित राजदूत निक एडम्सको नियुक्तिको कडा विरोध गरे। प्रदर्शनकारीहरू मुख्यतया प्रधानमन्त्री अनवर इब्राहिमको सत्तारूढ गठबन्धनका युवा नेताहरू थिए।

डोनाल्ड ट्रम्पले गत साता एडम्सलाई मलेसियाका लागि अमेरिकी राजदूत पदमा मनोनयन गरेका थिए। अष्ट्रेलियामा जन्मिएका र पछि अमेरिकाको नागरिकता लिएका एडम्स सामाजिक सञ्जालमा आफूलाई “अल्फा मेल” प्रभावकारको रूपमा प्रस्तुत गर्छन्। उनी सांस्कृतिक विषयमा आक्रामक र माचो शैलीमा टिप्पणी गर्दै आएका छन्, जसले युवापुस्तामा लोकप्रियता कमाएका छन्।

तर, एडम्सका इस्लाम विरोधी अभिव्यक्ति र गाजामा इजरायलको सैनिक कारबाहीप्रति खुला समर्थनले मलेसियामा मुस्लिम समुदायलाई आक्रोशित बनाएको छ। मलेसिया बहुसंख्यक मुस्लिम देश हो र लामो समयदेखि प्यालेस्टिनी जनताको पक्षमा उभिंदै आएको छ।

प्रदर्शनको नेतृत्व गरेका युवाहरूले अमेरिकी दूतावासमा विरोधपत्र बुझाउँदै राष्ट्रपति ट्रम्पलाई एडम्सको नियुक्तिबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। विरोधपत्रमा भनिएको छ, “निक एडम्सले सामाजिक सञ्जालमा विभाजनकारी, सांस्कृतिक रूपले असंवेदनशील तथा इस्लाम धर्मप्रति अपमानजनक अभिव्यक्ति दिएका छन्। यस्तो व्यक्तिलाई मलेसियामा राजदूतको रूपमा स्वीकार गर्न सकिँदैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सत्तारूढ गठबन्धनका एक युवा नेता मुहम्मद इजुआन अहमद कासिमले भने, “राजदूतको काम दुई देशबीच पुल निर्माण गर्नु हो । तर, एडम्सजस्तो व्यक्ति त्यो पुल भत्काउने खालका हुन्। हामी यस्ता अभद्र र असंवेदनशील व्यक्तिको उपस्थिति अस्वीकार गर्छौं।”

प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रवार पत्रकारहरूसँग भने, “यो प्रक्रिया अझै प्रारम्भिक चरणमै छ। सरकारले यसको उचित मूल्याङ्कन गर्नेछ। त्यस्तैगरी, मलेसिया र अमेरिकाबीचको सम्बन्ध जोगाउन पनि हामी सजग रहनेछौं।”

मलेसियाका सञ्चार तथा डिजिटल मामिला मन्त्री एवं सरकारका प्रवक्ता फाहमी फाजिलले मंगलबार जानकारी दिँदै भने, “मन्त्रिपरिषदले एडम्सको प्रस्तावित नियुक्तिको कुनै औपचारिक सूचना अहिलेसम्म प्राप्त गरेको छैन।”

प्रदर्शनकारीहरूले मलेसिया सरकारलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार राजदूत नियुक्ति अस्वीकार गर्न आह्वान गरेका छन्। भियना कूटनीतिक सन्धिअनुसार कुनै पनि मुलुकले आफूमा प्रस्तावित विदेशी राजदूतको नियुक्ति स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार राख्छ, र त्यसको कारण खुलाउनुपर्ने हुँदैन।

यो विवाद यस्तो समयमा उठेको हो जब मलेसिया अगस्ट १ भित्र अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छ। सम्झौता नभएमा मलेसियाबाट अमेरिका पठाइने केही मुख्य निर्यात सामग्रीहरूमा २५ प्रतिशतसम्मको भारी भन्सार शुल्क लाग्नसक्छ। यस्तो अवस्थामा द्विपक्षीय सम्बन्धलाई बिगार्ने किसिमका कूटनीतिक निर्णयहरू मलेसियाका लागि संवेदनशील बन्न सक्छन्।

यद्यपि एडम्सको नियुक्ति अझै अमेरिकी सिनेटबाट स्वीकृत भएको छैन, रिपब्लिकन पार्टीको बहुमत रहेको हुनाले उनको अनुमोदन हुने सम्भावना बलियो मानिएको छ। तर, मलेसियामा चर्किएको विरोध र कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै अन्तिम निर्णयमा परिवर्तन आउनसक्ने अनुमान पनि गरिएको छ।

अमेरिकी दूतावास र निक एडम्सको कार्यालयले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com