अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चरले निकाल्यो चीनसहित ४ देशका ७० विदेशी अनुसन्धानकर्ता


प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार

अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए)ले अमेरिकी खाद्य आपूर्ति प्रणालीको सुरक्षालाई ध्यानमा राख्दै चीन, रूस, उत्तर कोरिया र इरानका करिब ७० जना विदेशी अनुबन्धित अनुसन्धानकर्ताहरूलाई बर्खास्त गरेको छ। यस निर्णयलाई राष्ट्रिय सुरक्षा समिक्षा अन्तर्गतको कठोर कार्यवाहीका रूपमा हेरिएको छ।

युएसडीएका एक प्रवक्ताका अनुसार, “डिपार्टमेन्टसँग अनुबन्धमा काम गर्ने अनुसन्धानकर्ताहरूको विस्तृत समिक्षापछि ती चार ‘चिन्ताजनक’ देशहरूसँग सम्बन्ध भएका करिब ७० जनालाई पहिचान गरिएको हो। ती अब युएसडीएका कुनै पनि परियोजनामा कार्यरत रहन पाउने छैनन्।”

जुलाई ८ मा अमेरिकी एग्रिकल्चर सेक्रेटरी ब्रुक रोलिन्सले घोषणा गरेको “फार्म सुरक्षा योजना” अन्तर्गत ती चार देशका नागरिकहरूले अमेरिकी कृषियोग्य भूमि खरिद गर्न नपाउने, साथै उनीहरूसँग भएका अनुसन्धान सम्झौताहरू पनि तोडिने जनाइएको थियो।

रोलिन्सले भनेकी थिइन्, “अमेरिकाको खाद्य आपूर्ति प्रणाली कुनै पनि विदेशी विरोधी शक्तिद्वारा प्रभावित हुन दिन मिल्दैन। यसैले अनुसन्धान स्तरमै सुरक्षा अपनाउनु जरुरी छ।”

अमेरिकी सरकारी कर्मचारी संघ स्थानीय १६५७ का अध्यक्ष थोमस हेन्डरसनका अनुसार बर्खास्त गरिएका अधिकांश अनुसन्धानकर्ता चिनियाँ पोस्ट(डक्टोरल वैज्ञानिकहरू थिए, जो दुई वर्षे अनुबन्धमा कार्यरत थिए। उनीहरूलाई नियुक्ति अघि नै संघीय तहमा सुरक्षासम्बन्धी छानबिन गरिएको थियो।

“केही अनुसन्धानकर्ता कार्यालय पुग्दा उनीहरूको प्रवेश कार्डले काम नगरेको पाएका थिए। उनीहरूलाई कुनै पूर्वसूचना दिइएको थिएन,” हेन्डरसनले बताए।

उनका अनुसार, संघीय नियुक्तिमा अक्टोबर १५ सम्म रोक लागेकाले युएसडीएले ती कर्मचारीहरूको ठाउँमा नयाँ वैज्ञानिकहरू ल्याउन सक्दैन। यसले वैज्ञानिक अनुसन्धानमा दीर्घकालीन असर पर्ने खतरा छ। “विज्ञहरूको अभावमा महत्वपूर्ण परियोजनाहरू (जस्तै, अधपाकिएको मासुमा देखिने घातक विषका लागि खोप विकास) रोकिनुपर्नेछ,” उनले चिन्ता व्यक्त गरे।

युएसडीएअन्तर्गतको कृषि अनुसन्धान सेवा (एआरएस)ले किराहरू, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायत कृषिसम्बन्धी महत्वपूर्ण विषयमा अनुसन्धान गर्दै आएको छ। तर, ट्रम्प प्रशासनको समयमा बर्खास्ती र स्वेच्छिक राजीनामाका कारण सन् २०२४ को जनशक्तिको १७ प्रतिशतभन्दा बढी अर्थात् झन्डै १,२०० कर्मचारी गुमाइसकेको एआरएस अहिले गम्भीर संकटमा छ।

जुलाई ८ को ज्ञापनमा, सेक्रेटरी रोलिन्सले युएसडीएका कर्मचारीहरूलाई ती चार देशका नागरिकहरूसँग कुनै अनुसन्धान सहकार्य बिना विभागीय स्वीकृति गर्न नपाउने र उनीहरूद्वारा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउन समेत प्रतिबन्ध लगाएकी छन्।

एआरएस कर्मचारी र अमेरिकी सरकारी कर्मचारी संघ स्थानीय ३२४७ का अध्यक्ष एथन रोबर्ट्सका अनुसार, “ज्ञापनपछि सबै प्रकाशनहरू पुनः समीक्षा गरिने र ती चार देशका सह-लेखकहरूसँग भएका अनुसन्धानहरू अस्वीकृत गरिने भनिएको छ। यसअघि पनि अतिरिक्त समीक्षा प्रक्रिया लागू थियो, तर अब यसले अनुसन्धानको स्वतन्त्रता र वैज्ञानिक क्षमतामा ठुलो असर पार्नेछ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com