ह्वाइट हाउसमा ट्रम्प-नेतन्याहु भेट : गाजा युद्ध, इरान वार्ता र प्यालेस्टिनी स्थानान्तरणबारे गम्भीर छलफल
प्रकाशित मिति : असार २४, २०८२ मंगलबार
फाइल तस्वीर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार व्हाइट हाउसमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। नेतन्याहुको भ्रमण क्रममा दुवै नेताले गाजामा युद्धविराम, हमाससँग बन्दी विनिमय वार्ता, इरानसँगको सम्भावित वार्ता र प्यालेस्टिनीहरूलाई गाजाबाट स्थानान्तरण गर्ने विवादास्पद प्रस्तावसम्बन्धी विषयमा विस्तृत छलफल गरेका हुन्।
भेटको सुरुवातमा नेतन्याहुले अमेरिका र इजरायलले अन्य केही देशहरूसँग मिलेर गाजावासीहरूलाई उज्ज्वल भविष्य दिन सक्ने सम्भावनाको खोजी गरिरहेको बताएका थिए। उनले भने, “यदि मानिसहरू गाजामै बस्न चाहन्छन् भने बस्न सक्छन्, तर जान चाहनेहरूलाई त्यसको अवसर मिल्नुपर्छ।” उनले गाजा छाड्न चाहने प्यालेस्टिनीहरूलाई लिने देशहरू फेला पार्ने प्रक्रियामा अमेरिका र इजरायल निकट समन्वयमा काम गरिरहेको बताए।
राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानसँग वार्ता तय गरिसकेको जानकारी दिएका छन्। उनले भने, “हामीले इरानसँग वार्ता तय गरेका छौं र उनीहरू अब वार्ता गर्न चाहन्छन्। उनीहरूले ठूलो क्षति व्यहोरेका छन्।” ट्रम्पले भविष्यमा उपयुक्त समयमा इरानमाथिका प्रतिबन्धहरू हटाउने संकेत पनि दिए। ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफका अनुसार वार्ता अर्को साताभित्र हुनसक्छ।
भेटका क्रममा नेतन्याहुले गाजामा हमाससँग भइरहेको अप्रत्यक्ष वार्ता तथा अमेरिकी मध्यस्थतामा युद्धविरामको सम्भावना पनि छलफल भएको बताए। नेतन्याहुको वाशिङ्टन यात्रा आसियान मन्त्रीहरूको बैठकमा सहभागी हुन आएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि भएको हो।
ट्रम्पले नेतन्याहुसँगको यो तेस्रो प्रत्यक्ष भेट हो, जुन जनवरीमा पदभार सम्हालेपछि भएको हो। यसअघि ट्रम्पले इरानी आणविक साइटहरूमा इजरायली हवाई आक्रमणको समर्थन गर्दै इरानमाथि अमेरिकी बमबारी आदेश दिएका थिए। त्यसपछि ट्रम्पको पहलमा १२ दिन लामो इजरायल-इरान युद्धको अन्त्य भएको थियो।
भेटकै बेला व्हाइट हाउसबाहिर सयौं प्रदर्शनकारीहरू भेला भएका थिए । उनीहरूले “इजरायललाई हतियार दिन रोकिनुहोस्” र “जातीय संहारको विरोध गरौं” लेखिएका ब्यानरहरू फहराउँदै नेतन्याहुको विरुद्ध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले गाजामा भएको युद्ध अपराधका लागि नेतन्याहुमाथि अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको गिरफ्तारी आदेशको सन्दर्भ उठाउँदै उनीलाई पक्राउ गर्न माग गरे।
नेतन्याहुले अमेरिकी संसद भवनमा पुगेर शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले यो भ्रमणले इजरायल इरान द्वन्द्वको समाधान तथा लेबनान, सिरिया र साउदी अरेबियाजस्ता देशहरूसँग सम्बन्ध सुधारतर्फ मार्ग खोल्ने आशा व्यक्त गरेका छन्।
भेटका क्रममा नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको पत्र हस्तान्तरण गरेका थिए। ट्रम्पले उक्त पत्र पाएपछि नेतन्याहुलाई धन्यवाद दिए।








