युरोपमा खतरनाक गर्मी : कसरी बच्ने ? जान्नै पर्ने यी कुरा !
प्रकाशित मिति : असार १६, २०८२ सोमबार
तस्बिर : अनस्प्लास
युरोपमा पछिल्लो केही दिनयता जारी चरम गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। फ्रान्स, इटाली, स्पेन र पोर्चुगलजस्ता देशहरूमा सर्वाधिक प्रभाव परेको छ भने बेलायत पनि दोस्रो पटकको गर्मी लहरको चपेटामा परेको छ। करोडौं मानिसहरू खतरनाक तापक्रमको थप दिनहरूको सामना गर्न तयारी अवस्थामा छन्।
यो गर्मी लहर अझै केही दिनसम्म यथावत् रहने र जलवायु परिवर्तनको कारण यस्ता गर्मी लहरहरू भविष्यमा झनै तीव्र हुने सम्भावना रहेको मौसम विज्ञहरुले चेतावनी दिएका छन् ।
कुन देशमा कस्तो अवस्था ?
पोर्चुगल :
पोर्चुगलको समुद्री तथा वायुमण्डलीय संस्थानका अनुसार, देशको दक्षिणी भित्री शहर (बेजा) मा सोमबार तापक्रम ४४ डिग्री सेल्सियस (१११ फेरेनहाइट) पुग्ने अनुमान गरिएको थियो।
स्पेन :
स्पेनको राष्ट्रिय मौसम विभागले सोमबार जनाए अनुसार, देशभर महत्वपूर्ण जोखिम को चेतावनी जारी गरिएको छ। केही स्थानमा तापक्रम ४३ डिग्री सेल्सियस (१०९ फेरेनहाइट) नाघ्ने संकेत देखिएको छ। शनिबार दक्षिणपश्चिमी शहर एल ग्रानाडोमा तापक्रम ४५ दशमलव ९ डिग्री सेल्सियस (११४ दशमलव ८ फेरेनहाइट) मापन गरिएको थियो, जुन यदि पुष्टि भएमा जुन महिनाको राष्ट्रिय रेकर्ड बन्नेछ।
फ्रान्स :
फ्रान्सको राष्ट्रिय मौसम सेवाले आइतबार जलाउने जस्तो गर्मीको चेतावनी दिएको थियो। यस अनुसार देशका धेरै स्थानमा लगातार केही दिनसम्म तापक्रम ४० डिग्री सेल्सियस (१०४ फेरेनहाइट) आसपास रहनेछ। केही क्षेत्रमा यो ४० दशमलव ५ डिग्री पार गर्न सक्ने बताइएको छ। गर्मी लहर हप्ताभरि रहनेछ।
इटाली :
इटालीको स्वास्थ्य मन्त्रालयले सोमबार १६ शहरमा सबैभन्दा उच्च तहको गर्मी सतर्कता जारी गरेको छ भने मंगलबारका लागि १७ शहरमा यस्तो चेतावनी दिइएको छ। राजधानी रोमको उपनगर टोर वर्गाटामा आइतबार तापक्रम ४० डिग्री नजिक पुग्यो, जुन सहरको औसत ३० डिग्रीभन्दा धेरै माथि हो।
बेलायत :
ब्रिटेनमा यो वर्षको दोस्रो औपचारिक गर्मी लहर सुरु भएको छ। मौसम कार्यालयले एम्बर तहको सतर्कता जारी गरेको छ, जुन दोस्रो उच्चतम सतर्कता हो। यो सतर्कता बुधबार बिहानसम्म इंग्ल्यान्डका धेरै भागमा लागु रहनेछ। सोमबार तापक्रम ३४ डिग्री सेल्सियस (९३ फेरेनहाइट) पुग्ने अनुमान गरिएको छ।
ब्रिटेनका अधिकांश घरहरूमा एयर–कन्डिसनिङ नभएको र तिनको बनावट गर्मी संचित गर्ने खालको भएकाले जनतालाई थप समस्या भइरहेको छ।
यो गर्मी कति असामान्य हो ?
पछिल्लो केही दशकको तुलनामा अहिलेको गर्मी अत्यधिक छ। रोमजस्ता शहरमा जहाँ सामान्यतया गर्मी महिनामा तापक्रम ३० डिग्री आसपास हुने गर्दछ, अहिले ४० डिग्री नाघेको छ। मौसम वैज्ञानिकहरूका अनुसार यस्तो चरम गर्मी जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम हो। अब यस्तो स्थिति ‘असामान्य’ होइन, ‘सामान्य’ बन्न थालेको उनीहरू बताउँछन्।
विशेषज्ञहरूको सल्लाह अनुसार गर्मीबाट जोगिन के गर्ने ?
पानी प्रयोग गर्नुहोस् :
एयर-कन्डिसनिङ नभए पानीले शरीर चिस्याउन सकिन्छ। भिजेको तौलियाले छाला चिसो राख्नु लाभदायक हुन्छ।
पर्याप्त पानी पिउनुहोस् : डिहाइड्रेसन हुन नदिन प्रशस्त पानी पिउनु आवश्यक छ।
सामान्य उपायहरू अपनाउनुहोस्
– दिउँसो घाम नछिर्ने गरी झ्याल ढाक्नुहोस्।
– राति झ्याल खुला राख्ने र पङ्खा प्रयोग गर्ने।
– चुलो नबाल्नुहोस् र भारी शारीरिक कार्यबाट टाढा रहनुहोस्।
यी लक्षण देखिए सावधान बनौं :
गर्मी थकान
– अत्यधिक पसिना
– छाला चिसो वा नमीयुक्त
– छिटो वा कमजोर नाडी
– थकान र बेहोसी
गर्मीको झट्का
– शरीरको तापक्रम ३९ दशमलव ५ डिग्री सेल्यिसर र १०३ डिग्री फरेनहाइट भन्दा माथि
– छाला सुख्खा र तातो
– भ्रम, अत्यधिक थकान वा बेहोसी
यदि यस्तो अवस्था देखिएमा तुरुन्त चिकित्सकको सहायता लिन आवश्यक छ।
बालबालिका र जनावरको हेरचाह पनि आवश्यक
– पाल्तु जनावर तथा साना बालबालिकालाई चिसो राख्न उनीहरूको गतिविधिमा ध्यान दिनुहोस्, पर्याप्त पानी दिनुहोस् र भिजेको तौलिया प्रयोग गरी शरीर चिस्याउनुहोस्।
जलवायु परिवर्तनले यस्ता गर्मीहरू अब बारम्बार हुने भएकाले सतर्कता र तयारी अनिवार्य भएको मौसम वैज्ञानिकहरूको चेतावनी छ।








