बहिर्गमित जनमुक्ति सेनाको चेतावनी : नेताको घरमा बम झुण्ड्याउँछौँ


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

 

बहिर्गमित जनमुक्ति सेनाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘के हामीले पाँच लाख रुपैयाँका लागि लडेका थियौं ?’ भनेर प्रश्न गरेका छन् ।  राजधानीमा भएकाे एक छलफल कार्यक्रममा  बहिर्गमित जनमुक्ति सेना नेपालको विशेष राष्ट्रिय भेलामा सहभागी पूर्वजमुक्ति सेनाहरुले सो प्रश्न उठाएका हुन् ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले बहिर्गमित जनमुक्ति सेनालाई जनही ५ लाख रुपैयाँ दिने निणर्यलाई ओली सरकारले पाँच लाखमध्ये तत्काल २ लाख दिने निर्णय गरेकोमा सोही निर्णयलाई वर्तमान सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
जनमुक्ति सेनालाई देशीविदेशी दलालहरुको षडन्त्रमा शिविरबाट जबर्जस्त ‘अयोग्य’को बिल्ला भिराएर निकालिएको भन्दै ‘अयोग्य’ शब्दवली तत्काल हटाउन भेलामा सहभागीहरुले माग गरे ।

जनयुद्धमा लाग्दा पाँच लाख पाइन्छ भनेर लडेको थिइनँ । आज माओवादी केन्द्र सरकारको नेतृत्वमा हुँदा समेत बिल्ला हटाउन पहल नहुनु दुःखद भएको उनीहरुको मत छ । ‘हामीले देशमा आमुल परिवर्तनका लागि जनयुद्धमा रगत बगाएका थियौं । पाँच लाख रुपैयाँको लागि लडेका थिएनौं’ बहिर्गमित जनमुक्ति सेना नेपालका सल्लाहकार ज्ञानेन्द्र खड्काले भने ‘देश र जनताको पूर्ण मुक्तिका निम्ति अझै लड्न सबै साथी तयार छन् ।’

सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै तत्काल पैसा नबाँड्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सोही आदेशपछि बहिर्गमित जनमुक्ति सेना रुष्ट बनेका छन् ।

भेलामा सहभागीहरुले माओवादी केन्द्रका नेताहरुले महल बेचेर भएपनि सर्वोच्चले रोकेको पैसा दिनुपर्ने बताउँदै नत्र महलको गेटमा बम झुण्डिने चेतावनी दिए । बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर युद्धमा हिँडाएर आज नेतृत्वले धोका दिएको भन्दै आक्रोशित सहभागीहरुले महल र संसदीय सत्तामा बस्ने नेताहरुसँग छिट्टै जनयुद्धमा भएको लगानीको हिसाबकिताब गर्ने बताए ।

जनयुद्धका बेला बैंक कब्जाबाट आएको पैसाले शहरमा प्रचण्डलगायत नेताहरुको महल बनेको उनीहरुको भनाई छ । जनता र आफूहरुलाई सडकमा छाडेर सीमित नेता र व्यक्ति पुँजीपति बन्न पुगेको भन्दै धनी नेताहरुको टाउकोमा आगो सल्काउन संघर्ष चलाउने उनीहरुले बताए ।

‘मानौं, रकम लिएर तत्कालको खाँचो टार्न सकिएला, तर आन्दोलनको उद्देश्य र लक्ष्यबाट कोही पनि विचलित हुन सक्दैन । राज्यले यो विषय हल गर्न पहल लिनुपर्छ’ सहभागीहरुको मत थियो ।

भेलाका प्रमुख अथिति माओवादी केन्द्रका नेता एवं युवा इन्चार्ज मणि थापाले जनयुद्धलाई दुत्कार्नेहरुको जालो नच्यातेसम्म बहिर्गमित जनमुक्ति सेनाले पाँच लाख पाउन असम्भव रहेको बताए । ‘दिल्ली–हङकङ–मकाउको जालो नच्यातेसम्म पाँच लाख पाउने कुरा सम्भव छैन’ थापा भने ।

सरकारले नागरिकलाई दिने सुविधा रोक्न सर्वोच्च अदालतले गरेको आदेश मानवअधिकारमाथिकै हस्तक्षेप भएको बताए । बहिर्गमित जनमुक्ति सेनालाई सरकारले रकम दिने निर्णय तत्काल कार्यान्वन गर्न न्यायलयबाट रोकादेश भएपनि पार्टीले वैकल्पिक व्यवस्थामार्फत तत्काल उपलब्ध गर्नुपर्ने बताए ।

पूर्वजनमुक्ति सेना डिभिजन कमाण्डर शरदले पार्टी सरकारसँगको सम्झौतामा चुकेकै कारण ‘अयोग्य’ बिल्ला आइलागेको बताए । बहिर्गमित जनसेनालाई राहत दिने विषयमा मुख्य दलबीच एकमत नहुँदा अहिलेको समस्या आएको बताए । ‘मुख्यगरी एमालेका साथीहरु माओवादीसँग जोडिएका विषय आउनसाथ बुरुक्क उफ्रिनुहुन्छ । बाध्यतामा परेर दिनेमा सहमति गराइयो । आज एमाले सत्तामा नहुँदा पनि न्यायलयबाट अंकुश आइहाल्यो’ शरदले भने । न्याययिक फैसलाको लागि लड्नुको विकल्प नरहेको उनको भनाई छ ।

भेला बौद्धिक मञ्चका अध्यक्ष डा. केबी रोकायाले सामान्य तरिकाबाट बहिर्गमित जनमुक्ति सेनाले सरकारी राहत रकम पाउन नसकिने बताए । देशकै अस्तित्व संकटमा परेको बेला पैसाकै लागि भनेर नहिड्न बहिर्गमित जनमुक्ति सेनालाई आग्रह गरे ।
‘आफ्नो माग पूरा गराउन लडाकू पाराले उत्रनुपर्छ । नेताहरुलाई आरामले सुत्न नसक्ने बनाउनु पर्छ’ रोकायाले भने ‘प्रचण्ड, डेपुटी कमाण्डहरु स्वविकले निर्णय गर्न सक्ने अवस्थामा छैनन् । बाह्य शक्तिका शरणमा परिसकेका छन् ।’ देशका लागि अझै योगदान बहिर्गमित जनसेना रहनुपर्ने उनले बताए ।

त्यस्तै बौद्धिक मञ्चका महासचिव प्रा.डा. सुरेन्द्र केसीले प्रचण्ड–बाबुरामकै कारण बहिर्गमित जनमुक्ति सेना ठगिएको बताए । ‘प्रचण्ड–बाबुरामको खराब नियतले बहिर्गमित जनसेना सिध्याएको हो’ प्रा.डा. केसीले भने ‘बुजुर्वा शिक्षा पढ्न हुन्न, जनयुद्धमा लाग्नुपर्छ भन्ने बुद्धि पनि त्यही प्रचण्ड–बाबुरामले ल्याएका हुन् । आज पढ्न नपाएकाहरु कहाँ छन्, उनीहरु पुगे, के गर्दैछन् ? घामजत्तिकै छर्लङ्ग छ ।
सरकारी राहत पाएपनि युवाहरुले देश र जनताको विकास र समृद्धिका लागि निरन्तर योगदान दिन लाग्नुपर्ने बताउँदै सुविधा नफस्न सचेत हुन आग्रह गरे ।

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन बुढाथोकीले आफू बहिर्गमित जनमुक्ति सेनाको मुद्दा टुंगोमा नपुगेसम्म निरन्तर लड्ने र संगठनले उठाएको एजेन्डा र झण्डामुनि गोलबन्द हुन सबूपूर्ण बहिर्गमित जनमुक्ति सेनालाई अपिल गरे ।  माओवादीका सात शिविरबाट तत्कालीन संयुक्त राष्ट्र संघबाट खटिएका अनमिन टोलीले सेना हुन ‘अयोग्य’ भनी ४००८ माओवादी जनमुक्ति सेनालाई बाहिर निकालेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com