राष्ट्रपति जेलेन्स्कीले भने – सुमी क्षेत्रको आन्द्रिईभ्का गाउँ पुनः युक्रेनी सेनाको नियन्त्रणमा
प्रकाशित मिति : असार १, २०८२ आईतबार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सुमी क्षेत्रको आन्द्रिईभ्का गाउँ युक्रेनी सेनाले पुनः कब्जा गरेको घोषणा गरेका छन्। यो रूसी सेनालाई सुमी क्षेत्रबाट हटाउने व्यापक अभियानको एक हिस्सा हो।
जेलेन्स्कीले पछिल्ला केही दिनयता सुमी क्षेत्रलाई रूसी सेनाबाट मुक्त गराउने अभियानलाई प्राथमिकता दिँदै आएका छन्। उनका अनुसार, अहिले सुमी क्षेत्रको सीमावर्ती क्षेत्रमा कडा लडाइँ चलिरहेको छ, जहाँ रूसले ५३,००० भन्दा बढी सैनिक परिचालन गरेको छ।
“हालैको घटनाक्रम हेर्दा, म २२५ औं पृथक आक्रमण रेजिमेन्टका सैनिकहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले सुमी क्षेत्रमा आक्रमण सञ्चालन गरी विशेष रूपमा आन्द्रिईभ्का गाउँको मुक्ति गराएका छन्”, जेलेन्स्कीले आफ्नो रातको भिडियो सम्बोधनमा भने।
जेलेन्स्कीले पूर्वी युक्रेनको पोखरोभस्क र कुपियान्स्क क्षेत्रमा पनि युक्रेनी सेनाले ‘सफल कारवाही’ सञ्चालन गरिरहेको जानकारी दिएका छन्। पोखरोभस्क क्षेत्र विगत केही महिनादेखि रूसी आक्रमणको लक्ष्य बनिरहेको छ। कुपियान्स्क पनि रूसी दबाबमा परेको क्षेत्र हो।
उनले भने, “हामी मोर्चाको अवस्था सम्याउँदैछौं। लडाइँ सिमानासँगै भइरहेको छ। रूसी सेना त्यहाँ रोकिएको छ र उनीहरूले सीमाबाट अधिकतम ७ किलोमिटर भित्र मात्र आक्रमण गर्न सकेका छन्।”
रूसी सेनाले शनिबार डोनेत्स्क क्षेत्रको पोखरोभस्कको दक्षिणपश्चिममा रहेको जेलेनी कुट गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ। यता युक्रेनी सेनाले भने उत्तरपूर्वी क्षेत्रहरूमा रूसी आक्रमणलाई प्रतिरोध गर्दै आएको बताइएको छ।
युक्रेनी सैन्य विश्लेषण साइट DeepState का अनुसार, युक्रेनी सेनाले केही क्षेत्रमा रूसी आक्रमणलाई परास्त गरे पनि अन्य क्षेत्रमा, विशेष गरी पोखरोभस्क नजिक, रूसी प्रगति भएको छ।
यसै महिनाको सुरुतिर युक्रेनले एक साहसी ड्रोन आक्रमणमार्फत रूस भित्रका केही विमानहरू ध्वस्त पारेको थियो। साथै, युक्रेनले पानीमुनिको विस्फोटक प्रयोग गरेर रुसलाई क्राइमियासँग जोड्ने पुलमा पनि आक्रमण गरेको थियो।
जेलेन्स्कीले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै भने, हामी अझै पनि आफ्ना नागरिकहरूलाई रूसी बन्दीबाट निकालिरहेका छौं। यो एक सातामा चौथोपटक गरिएको साटासाट हो।
उनका अनुसार, युद्धबन्दी साटासाटमार्फत नयाँ समूह स्वदेश फर्किएको छ। अधिकतर सैनिकहरू २०२२ देखि रूसी बन्दीमा परेका थिए, जसमा धेरैजसो आजोभ सागरको बन्दरगाह सहर मारियुपोलको ८० दिन लामो घेराबन्दीको समयमा समातिएका थिए।
यसैबीच, युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् कि युद्धमा मारिएका आफ्ना १,२०० सैनिकहरूको शव शुक्रवार युक्रेनलाई फिर्ता हस्तान्तरण गरिएको छ। तर, रूसी सञ्चारमाध्यमका अनुसार मस्कोलाई युक्रेनबाट आफ्ना कुनै पनि मृत सैनिकको शव फिर्ता प्राप्त भएको छैन।
राष्ट्रपति जेलेन्स्कीले पुनः एकपटक युक्रेनले सैन्य बलको माध्यमबाट सम्पूर्ण भूभाग फिर्ता ल्याउन असमर्थ रहेको स्वीकार्दै मस्कोलाई वार्तामा ल्याउनका लागि थप कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
इस्तानबुलमा भएका दुई चरणका शान्ति वार्ताबाट कुनै ठोस नतिजा ननिस्किएको उल्लेख गर्दै उनले भने, “हामी शान्तिको प्रयास जारी राख्छौं, तर दबाब बिना रूस वार्तामा आउँदैन।”








