न्युयोर्क सिटीले ५ बोरोमा ५  कलाकृति प्रदर्शन गर्ने, क्वीन्सका लागि नेपालीको कलाकृति 


प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

न्युयोर्क सिटीको सहयोगमा शहरका पाँच बरोमा पाँचवटा कलाकृति प्रदर्शन गरिने भएको छ। न्युयोर्क सिटी डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशनले पाँचवटा बरोमा पाँचवटा अस्थायी सार्वजनिक कलाकृतिहरू प्रदर्शन गर्ने योजना घोषणा गरेको हो।

यस योजनाअन्तर्गत क्वीन्सको डाइभर्सिटी प्लाजामा नेपाली कलाकार स्नेहा श्रेष्ठ ‘इमाजिन’ को कलाकृति ‘अ लिभिंग कल्चर’ प्रदर्शन गरिनेछ। यो मूर्तिकला रुबिन म्युजियम अफ हिमालयन आर्टसँगको सहकार्यमा न्युयोर्कको ज्याक्सन हाइटस्थित रुजभेल्ट एभिन्यू र ब्रोडवेको डाइभर्सिटी प्लाजामा नोभेम्बर २०२५ सम्म प्रदर्शनमा रहनेछ।

‘इमाजिन’ उपनामले चिनिने स्नेहा श्रेष्ठ नेपाली मूलकी कलाकार हुन् जसले आफ्नो कलामार्फत नेपाली भाषा र संस्कृतिको सौन्दर्यलाई विश्वमाझ प्रस्तुत गर्दै आएकी छिन्। उनको यो मूर्तिकला करिब छ फिट अग्लो सुनौलो रङ्गको आर्क आकारको संरचना हो, जसमा नेपाली वर्णमालाको पहिलो अक्षर ‘क’ को दोहोर्याइएको पङ्क्तिहरू समावेश छन्।

नेपालमा धार्मिक र पवित्र स्थलहरूमा आर्क आकारका संरचनाहरू प्रायः पाइन्छन्, जसले आगन्तुकहरूलाई आध्यात्मिक आशीर्वाद प्राप्त गर्न प्रेरित गर्छ। यो मूर्तिकला डाइभर्सिटी प्लाजामा अवस्थित रहनेछ भने यसले दर्शकहरूलाई ध्यानमग्न हुने र विश्वभरि सकारात्मक सन्देश फैलाउने अवसर प्रदान गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्नेहाले आफ्नो कलामार्फत नेपाली संस्कृति र हिमालय क्षेत्रको जीवन्त परम्परालाई सम्मान गर्ने बताएकी छिन्। उनको यो मूर्तिकला ज्याक्सन हाइट्सको विविध समुदायको कथालाई समेट्दै हिमालय क्षेत्रको सांस्कृतिक जरा र आधुनिकताको संयोजन रहेको छ। स्नेहाले भनेकी छिन्, “यो मूर्तिकला हिमालयन डायस्पोराको जीवन्त परम्परालाई सम्मान हो। प्रकाश, आकार र लिपिको संयोजनमार्फत, यो मूर्तिकलाले सांस्कृतिक जरा र ज्याक्सन हाइट्सको विविध कथाहरूलाई जोड्ने एक चिन्तनशील स्थान सिर्जना गर्छ।”

स्नेहा श्रेष्ठले नेपाली लिपि र संस्कृत ग्रन्थहरूको सौन्दर्यलाई ग्राफिटी कलासँग मिश्रण गरेर आफ्नो विशिष्ट शैली विकास गरेकी छिन्। उनको कला काठमाडौंदेखि बोस्टनसम्म विभिन्न प्रदर्शनीहरू र सार्वजनिक भित्ताहरूमा प्रदर्शन भएको छ। उनको चित्रकला ‘होम४१६’ हालै बोस्टनको म्युजियम अफ फाइन आर्ट्सको स्थायी संग्रहमा समावेश भएको छ, जसले उनलाई उक्त म्युजियमको इतिहासमा पहिलो समकालीन नेपाली कलाकार बनाएको छ।

न्युयोर्क सिटीमा कलाकृति प्रदर्शनको परियोजना रुबिन म्युजियम अफ हिमालयन आर्टसँगको सहकार्यमा सम्भव भएको हो। म्युजियमले हिमालयन कला र यसको अन्तरदृष्टिलाई प्रदर्शनी, सहभागितामूलक अनुभव र डिजिटल प्लेटफर्ममार्फत विश्वमाझ प्रस्तुत गर्न प्रतिबद्धता जनाउँदै आएको छ। म्युजियमकी ग्लोबल प्रोजेक्ट्स र कलेक्सन निर्देशक मिशेल बेनेट सिमोरेलाले भनिन्, “यो साझेदारीले ज्याक्सन हाइट्स, न्युयोर्कको सबैभन्दा विविध समुदायहरू मध्ये एकमा नयाँ सार्वजनिक कला ल्याउँछ। स्नेहाको दृष्टिकोणलाई जीवन्त बनाउन र सबै पृष्ठभूमिका न्युयोर्कवासीलाई प्रेरणा प्रदान गर्न पाउँदा हामी उत्साहित छौं।”

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशनको यो कार्यक्रमले सामुदायिक संगठनहरू र कलाकारहरूसँग सहकार्य गरेर डिपार्टमेन्टको आर्थिक सहयोगमा अस्थायी, स्थान-विशिष्ट सार्वजनिक कला स्थापना गर्छ। यो कार्यक्रम सन् २००८ मा सुरु भएको थियो र सन् २०२० पछि पहिलो पटक फर्किएको थियो।

कलाकारहरूको चयन उनीहरूको कलात्मक योग्यता र साइटको सांस्कृतिक सन्दर्भसँग जोडिएको प्रस्तावको आधारमा गरिएको जनाइएको छ। स्नेहाको यो मूर्तिकला क्वीन्सको डाइभर्सिटी प्लाजालाई जीवन्त बनाउन र स्थानीय समुदायको सांस्कृतिक समृद्धिलाई उजागर गर्न डिजाइन गरिएको जनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com