टेक्सासमा कागजातविहीनलाई लुकाइएको घरमा आइसको छापा, नेपालीसहित १६ जना पक्राउ


प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार

टेक्सासमा कागजातविहीन आप्रवासीहरूलाई लुकाइएको घरमा अमेरिकी अध्यागमन तथा सीमा शुल्क कार्यान्वयन (आइस) ले छापा मारेर नेपालीसहित १६ जनालाई पक्राउ गरेको छ। आइसको रियो ग्रान्डे भ्याली टोलीले दक्षिण टेक्सासको एक घरमा १६ जना कागजातविहीन आप्रवासीहरू लुकेर बसिरहेको पत्ता लगाएको थियो। सोमबार आइसले टेक्सासको मर्सिडिजमा रहेको शंकास्पद घर फेला पारेको थियो।

जुन १ मा एक अज्ञात फोनकर्ताले आइसलाई उक्त घरबारे सूचना दिएका थिए। सूचनामा मर्सिडिजको एक निवासमा अवैध रूपमा अमेरिका आएका धेरै आप्रवासीहरूलाई आश्रय दिइएको उल्लेख थियो।

त्यसपछि आइसले मर्सिडिज प्रहरी विभागसँग समन्वय गरी वेलफेयर चेक गरेको थियो। अधिकारीहरूले घरका मालिकसँग कुराकानी गर्दा उनले घरभित्र लगभग १६ जना व्यक्तिलाई आश्रय दिएको स्वीकार गरेका थिए।

यो अपरेशनले मानव तस्करी पहिचान गर्न र रोक्न स्थानीय कानून प्रवर्तन साझेदारहरूको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको छ। होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स रियो ग्रान्डे भ्यालीका डेपुटी स्पेशल एजेन्ट इन चार्ज मार्क लिप्पाले अन्तरराष्ट्रिय आपराधिक सञ्जालहरूले नाफाका लागि मानव जीवनलाई जोखिममा पारिरहेको बताएका छन्। आइसले आर्थिक लाभका लागि कमजोर व्यक्तिहरूको शोषण गर्नेहरूलाई निरन्तर पछ्याउने उनको भनाइ छ।

पक्राउ परेका १६ जना व्यक्तिहरू नेपाल, अल्बानिया, मेक्सिको, होन्डुरस र ग्वाटेमालाका नागरिक भएको आइसले पुष्टि गरेको छ। तीमध्ये कति नेपाली थिए भन्ने खुलाइएको छैन। साथै, उनीहरूको पहिचान पनि सार्वजनिक गरिएको छैन। अध्यागमन कानून उल्लङ्घनको आरोपमा ती १६ जनालाई हिरासतमा लिइएको छ भने मानव तस्करीमा संलग्न भएको आशङ्कामा एक मेक्सिकन नागरिकमाथि सोधपुछ भइरहेको छ।

घटनाबारे अनुसन्धान जारी रहेको आइसले जनाएको छ। यो कारबाहीमा आइसको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेशन, अमेरिकी सीमा गस्ती र सीसीपीको फिल्ड अपरेशन कार्यालयले सहयोग गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com