बाइडेनले आफ्ना परिवारका सदस्य र कैदीहरूलाई दिएको क्षमादानमाथि छानबिन सुरु
प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार
Biden Auto Workers Strike
अमेरिकी डेमोक्र्याट नेता तथा पूर्व राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको अन्तिम दिनहरूमा आफ्ना परिवारका सदस्यहरू र मृत्युदण्डको सजाय पाएका संघीय कैदीहरूलाई दिएको क्षमादानमाथि अहिले छानबिन सुरु गरिएको छ।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको न्याय विभागमा कार्यरत वरिष्ठ अधिकारी एड मार्टिनले सोमबार स्टाफलाई पठाएको एक इमेलमा उक्त क्षमादानसम्बन्धी छानबिन गर्न निर्देशन दिइएको छ। छानबिनको केन्द्रीय विषय भनेको बाइडेन क्षमादान दिने बेला मानसिक रूपमा सक्षम थिए वा थिएनन् भन्ने र अटोपेन प्रयोगमार्फत अरू कसैले गलत तरिकाले निर्णय प्रभाव पार्न खोजे वा खोजेनन् भन्ने रहेको बताइएको छ ।
के हो अटोपेन ?
अटोपेन एक यन्त्र हो जसले स्वचालित रूपमा दस्तावेजमा हस्ताक्षर गर्न सक्दछ। ट्रम्प र उनका समर्थकहरूले यस उपकरणको प्रयोग राष्ट्रपतिको कार्यकारी निर्णयमा शंकास्पद प्रभाव परेको भन्दै आलोचना गर्दै आएका छन्। यद्यपि, बाइडेनले क्षमादान दस्तावेजहरूमा अटोपेन प्रयोग गरे वा गरेनन् भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन।
कुन क्षमादानहरू छन् अनुसन्धानको दायरामा ?
इमेल अनुसार, छानबिन मुख्यतः दुई विषयमा केन्द्रित छ :
-पूर्व क्षमादान
बाइडेनले २०२५ जनवरी २० मा राष्ट्रपति पद त्याग्नु अघि आफ्ना पाँच जना परिवारका सदस्यहरूलाई क्षमादान दिएका थिए। उनले आफ्ना दाजुहरु जेम्स बाइडेन र फ्र्यांक बाइडेन, बहिनी भ्यालेरी बाइडेन ओवेन्स, भ्यालेरीका पति जोन ओवेन्स र फ्र्यांककी पत्नी सारा बाइडेनलाई क्षमादान दिएका थिए ।
बाइडेनले उनीहरूलाई भविष्यमा हुने राजनीतिक रूपमा प्रेरित अनुसन्धानबाट जोगाउन क्षमादान दिएको बताएका थिए।
– मृत्युदण्डमा रहेको ३७ संघीय कैदीहरूलाई जीवनभरको जेल सजायमा रूपान्तरण
यी कैदीहरूलाई मृत्युदण्डबाट जोगाइ जीवनभर जेल सजाय दिइएको हो। यस कदमले पनि विवाद निम्त्याएको छ।
यसबाहेक, डिसेम्बर १ मा बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई पनि क्षमादान दिएका थिए। उनले कर उल्लंघनमा दोषी ठहरिएर सजाय भोगिरहेका थिए र हतियारसम्बन्धी मुद्दामा पनि दोषी प्रमाणित भएका थिए।
छानबिन कसले गरिरहेको छ ?
न्याय विभागका क्षमादान प्रमुख एड मार्टिनले यो छानबिन अगाडि बढाइरहेका छन्। उनले यसअघि वाशिङ्टनका अन्तरिम अमेरिकी अटर्नीको रूपमा पनि सेवा दिएका थिए। तर, उनको स्थायी नियुक्ति भने सीनेटमा असफल भएको थियो।
मार्टिनले यसअघि मे १३ मा पत्रकार सम्मेलनमा भनेका थिए : “राष्ट्रपतिको क्षमादान अधिकार पूर्ण हो। यदि अटोपेन प्रयोग गरिएको छ भने त्यो अनिवार्य रूपमा समस्या होइन। तर बाइडेनले दिएका क्षमादानहरूको अझै समीक्षा हुनु आवश्यक छ।”
यो छानबिनले हालैका हप्ताहरूमा अमेरिकामा पुनः बाइडेनको स्वास्थ्य र मानसिक क्षमतासम्बन्धी बहसलाई बल दिएको छ। केही समयअघि बाइडेनलाई ‘क्यान्सर भएको खुलासा’ भएपछि, र एक नयाँ पुस्तकमा डेमोक्र्याट नेताहरूले बाइडेनको स्वास्थ्यप्रति व्यक्त गरेका चिन्तापछि यो विषय फेरि चुलिएको हो।
८२ वर्षीय बाइडेनले अघिल्लो वर्ष पुनः निर्वाचनमा नउठ्ने घोषणा गरेका थिए। राष्ट्रपतिको बहसमा खराब प्रदर्शनपछि उनको मानसिक क्षमतामाथि प्रश्न उठेको थियो। बाइडेन अमेरिकी इतिहासमा सबैभन्दा पाका राष्ट्रपति थिए, ट्रम्प दोस्रो स्थानमा छन्।
बाइडेनका निकटका सल्लाहकारहरूले भने यी सबै आरोपहरू खारेज गरेका छन्। उनीहरूले बाइडेन पूर्ण रूपमा सक्षम र उनले गरेका निर्णयहरूमा उनको नैतिक तथा वैधानिक अधिकार प्रयोग भएको दाबी गरेका छन्।
संविधान अनुसार अमेरिकी राष्ट्रपतिलाई संघीय अपराधहरूमा क्षमादान दिने पूर्ण अधिकार छ। सन् २००५ मा न्याय विभागको एक ज्ञापनमा अटोपेन प्रयोग वैधानिक मानिएको थियो।
राष्ट्रपति ट्रम्पले पनि आफ्नो पहिलो कार्यकालमा धेरैलाई क्षमादान दिएका थिए, जसमा २०२१ जनवरी ६ को संसद भवन आक्रमणमा संलग्न करिब १६०० जना समर्थकहरूलाई सामूहिक क्षमादान पनि समावेश छ।








