कोलोराडोको शान्तिपूर्ण प्रदर्शनमा ‘फ्री-प्यालेस्टाइन’ भन्दै पेट्रोल बम फ्याँकेपछि…


प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार

अमेरिकाको कोलोराडोको बोल्डर सहरमा आइतबार दिउँसो आयोजित एक शान्तिपूर्ण प्रदर्शनको क्रममा एक ४५ वर्षीय व्यक्तिले ‘फ्री प्यालेस्टाइन’ भन्दै चिच्याउँदै पेट्रोल बम भीडमा फ्याँकेपछि कम्तिमा ६ जना घाइते भएका छन्। यो प्रदर्शन इजरायली बन्धकहरूको सम्झनामा आयोजना गरिएको थियो।

एफबीआईका अनुसार घाइतेहरू ६७ देखि ८८ वर्ष उमेर समूहका छन् र तीमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पतालहरूमा पुर्‍याइएको छ।

डेनभर फील्ड अफिसका एफबीआई विशेष एजेन्ट मार्क मिचालेकले घटनालाई ‘लक्षित हिंसात्मक आक्रमण’ भन्दै एफबीआईले यसलाई ‘आतंकवादी आक्रमण’को रूपमा अनुसन्धान गरिरहेको बताए।

एफबीआईले आक्रमणकारीको नाम मोहम्मद सोलिमान भएको खुलासा गरेको छ। आक्रमणपछि उनी पनि घाइते भएका थिए र अहिले अस्पतालमा उपचार गराइरहेका छन्।

एफबीआई निर्देशक काश पटेलले पनि घटनालाई “लक्षित आतङ्कवादी हमला” भनेका छन्। कोलोराडो राज्यका महान्यायाधीवक्ता फिल वाइजरले यसलाई ‘घृणात्मक अपराध’ (हेट क्राइम) को रूपमा व्याख्या गरेका छन्, किनभने आक्रमण यहूदी समुदायलाई लक्षित गरेर गरिएको थियो। बोल्डर प्रहरी प्रमुख स्टेफन रेडफर्नका अनुसार उनीहरूले एक्लो आक्रमणकारीलाई पक्राउ गरिसकेको विश्वास लिएका छन्।

यो आक्रमण बोल्डरस्थित प्रसिद्ध पर्ल स्ट्रिट मल्लमा भएको थियो, जुन कोलोराडो विश्वविद्यालयको छायाँमा रहेको एक व्यस्त किनमेल क्षेत्र हो। त्यहाँ “Run for Their Lives” नामक संस्थाले इजरायली बन्धकहरूको सम्झनामा नियमित रूपमा साप्ताहिक हिँडाइ आयोजना गर्दै आएको थियो।

संस्थाका अनुसार “पछिल्ला धेरै महिनादेखि हामीले शान्तिपूर्ण रूपमा हिँडाइ गरिरहेका थियौं, तर आजको दिनसम्म कुनै हिंसात्मक घटना भएको थिएन।”

घटनाको प्रत्यक्षदर्शी, कोलोराडो विश्वविद्यालयकी १९ वर्षीया छात्रा ब्रुक कौफम्यानले भनिन्, “मैले चार जना महिलाहरूलाई भुइँमा डढेको अवस्थामा देखेँ। एक महिलालाई कसैले झण्डामा बेरेको थियो। एक व्यक्ति छाती खुल्ला, हातमा पारदर्शी तरल पदार्थ भएको बोतल बोकेर चिच्याइरहेको थियो।”

अमेरिकी सेनेटका अल्पसंख्यक नेता चक शुमर, जो एक प्रमुख यहूदी डेमोक्र्याट हुन्,ले यस घटनालाई ‘यहूदीविरोधी आक्रमण’ भनेका छन्। “यो भयावह घटना हो। यस्तो हिंसा अब सहन सकिन्न,” उनले एक्समा लेखेका छन्।

कोलोराडोका गभर्नर जेरेड पोलिसले पनि घटनाप्रति दुःख व्यक्त गर्दै भने, “यहूदी समुदाय फेरि बोल्डरमा आतंकको शिकार हुनुपरेको कल्पना गर्न पनि गाह्रो छ।”

अमेरिकाको गाजा युद्धसँग सम्बन्धित राजनीतिक ध्रुवीकरणको पृष्ठभूमिमा यो घटना भएको हो। एकातर्फ इजरायल समर्थक समूहहरू प्रदर्शनका आलोचक छन् भने अर्कातर्फ प्यालेस्टिन समर्थन गर्नेहरूले अमेरिकी विश्वविद्यालयहरूमा युद्धविरोधी प्रदर्शनहरू गरिरहेका छन्।

डोनाल्ड ट्रम्प प्रशासनका उप प्रमुख स्टाफ स्टेफन मिलरले एक्समा लेख्दै सोलिमानको भिसा सकिएपछि पनि अघिल्लो प्रशासनले उनलाई काम गर्न अनुमति दिएको आरोप लगाए। उनले यो घटनालाई ‘आत्मघाती आप्रवासन नीति’ को परिणाम भनेका छन्।

हाल अमेरिकी डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीले सोलिमानको आप्रवासन स्थिति सम्बन्धमा विस्तृत जानकारी आउँदै गरेको बताएको छ।

यो आक्रमण गत महिना वाशिंगटन डी.सी. मा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएपछि भएको हो। त्यो पनि अमेरिकन यहूदी कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागीहरू निस्कँदै गर्दा भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com