हार्वर्ड विश्वविद्यालयमा यात्रा गर्न चाहनेहरूको थप जाँच शुरू गर्न कन्सुलर मिसनहरूलाई आदेश
प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार
अमेरिकी विदेश मन्त्रालयले हार्वर्ड विश्वविद्यालयमा कुनै पनि उद्देश्यका लागि यात्रा गर्न चाहने भिसा आवेदकहरूको थप जाँच शुरू गर्न आफ्ना सबै विदेशी कन्सुलर मिसनहरूलाई आदेश दिएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको शैक्षिक संस्थाविरुद्धको कडाइको उल्लेखनीय विस्तारको रूपमा आएको छ।
मे ३० मा पठाइएको आन्तरिक केबलमा, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘हार्वर्ड विश्वविद्यालयमा कुनै पनि उद्देश्यका लागि यात्रा गर्न चाहने गैर-आप्रवासी भिसा आवेदकहरूको थप जाँच तुरुन्त शुरू गर्न’ निर्देशन दिएका छन्। यस्ता आवेदकहरूमा सम्भावित विद्यार्थी, विद्यार्थी, प्राध्यापक, कर्मचारी, ठेकेदार, अतिथि वक्ता र पर्यटकहरू समावेश छन्।
पत्रमा उल्लेख भएअनुसार, हार्वर्ड विश्वविद्यालयले ‘हिंसा र यहूदी-विरोधी भावनाबाट मुक्त क्याम्पस वातावरण कायम गर्न असफल’ भएको छ। डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीलाई उद्धृत गर्दै, यो जाँचले कन्सुलर अधिकारीहरूलाई ‘यहूदी-विरोधी उत्पीडन र हिंसाको इतिहास भएका आवेदकहरू पहिचान गर्न’ मद्दत गर्ने लक्ष्य राख्छ।
आदेशले कन्सुलर अधिकारीहरूलाई आवेदकको सामाजिक सञ्जाल खाताहरू निजी भएमा विश्वसनीयतामाथि प्रश्न उठाउन र खाताहरू सार्वजनिक गर्न लगाउन पनि निर्देशन दिन्छ।
यो कदम ट्रम्प प्रशासनको तीव्र आप्रवासन कडाइको हिस्सा हो। यसअघि, रुबियोले विद्यार्थी र आदान-प्रदान आगन्तुक भिसा आवेदकहरूका लागि नयाँ अपोइन्टमेन्टहरूको तालिका बनाउन रोक्ने आदेश दिएका थिए। साथै, वासिङ्टनले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका र महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने चिनियाँ विद्यार्थीहरूको भिसा खारेज गर्न शुरू गर्ने बताइएको छ।
ट्रम्प प्रशासनले हार्वर्डमाथि बहु(मोर्चा आक्रमण शुरू गरेको छ, जसमा अर्बौं डलरको अनुदान रोक्का गर्ने, कर-मुक्त स्थिति समाप्त गर्ने प्रस्ताव र भेदभावको जांच शुरू गर्ने समावेश छ। ट्रम्पले शीर्ष अमेरिकी विश्वविद्यालयहरूलाई अमेरिका-विरोधी आन्दोलनका उद्गमस्थल भएको आरोप लगाएका छन्। गत हप्ता, प्रशासनले हार्वर्डको विदेशी विद्यार्थी भर्ना गर्ने क्षमता खारेज गरेको थियो, जुन पछि संघीय न्यायाधीशले रोकिदिए।
विदेश मन्त्रालयले यसबारे तुरुन्त टिप्पणी गरेको छैन।








