अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको संख्यामा उल्लेख्य गिरावट
प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार
राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा अध्यागमन नीतिको प्रभाव अमेरिकाको भिजिटर भिसामा देखिन थालेको छ । मार्चमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको संख्यामा अघिल्लो महिनाको तुलनामा गिरावट देखिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मार्चमा १५५० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् ।
फेब्रुअरीमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या १८३८ रहेको थियो । जनवरीको २१५० को तुलनामा थोरै कमी भएपनि डिसेम्बरको ११९० को तुलनामा भने उल्लेख्य बृद्धि थियो । नोभेम्बरमा पनि त्योभन्दा कम १६३२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । मार्चको तथ्यांकले डिसेम्बरको तथ्यांकलाई उछिनेपनि जनवरी र फेब्र्रुअरीको तुलनामा भने कम रहेको छ । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा १६६९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।
बाइडेनकालको पछिल्लो आर्थिक बर्ष २०२४ मा नेपालीलाई अमेरिकाको भिजिटर भिसा अस्वीकृत दरमा उच्च बृद्धि भएको थियो । आर्थिक बर्ष २०२४ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ५० दशमलव ५ प्रतिशतलेमात्र अमेरिकाको भिजिटर भिसा पाएका थिए । बाइडेन प्रशासनको सुरुको ३ बर्षमा नेपालीको भिसा स्वीकृत दर अत्यन्तै उच्च भएपनि अन्तिम बर्षमा भने भिसा स्वीकृत दरमा उल्लेख्य गिरावट आएको थियो । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये झण्डै ४९ दशमलव ५ प्रतिशतको भिजिटर भिसा अस्वीकृत गरिएको थियो ।
भिसा अस्वीकृत दर आर्थिक बर्ष २०२३ को तुलनामा २०२४ मा अत्यन्तै उच्च थियो । २०२४ मा २४ हजार ३ सय ९ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । अर्थात् ४८ हजार १ सय नेपालीले आर्थिक बर्ष २०२४ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।
आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका थिए । २०२३ मा भिजिटर भिसाका नेपाली आवेदकमध्ये जम्मा ३१ दशमलव ३ प्रतिशतकोमात्र भिसा अस्वीकृत गरिएको थियो । आर्थिक बर्ष २०२३ मा २९ हजार ७ सय २२ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको थियो । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय ४५ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।
आवेदकमध्ये झण्डै ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा नपाएका हुन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो ।
अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् । २०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।
अघिल्लो ट्रम्प प्रशासनको बेलामा नेपालीको भिसा अस्वीकृत दर उच्च थियो । आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो । आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा स्वीकृतिको प्रतिशत दर बढेपनि संख्या भने घटेको थियो । २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको थियो ।
आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । २०२० मा भिसा अस्वीकृत दर ४८ दशमलव १ प्रतिशत थियो ।
नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशत थियो ।






