भारत-पाकिस्तान सैन्य द्वन्द्व रोकिएपछि जम्मू-कश्मीरको जीवन कस्तो छ ?
प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार
Students shout slogans as they express solidarity with Pakistan’s armed forces during a school assembly in Lahore on May 12, 2025, after schools reopened following a ceasefire between Pakistan and India. Indian and Pakistani military chiefs were set to confer on May 12 as a ceasefire that brought the nuclear-armed rivals back from the brink of all-out war held. (Photo by Arif ALI / AFP)
जम्मू-कश्मीरमा भारत र पाकिस्तानबीच शनिबार सैन्य संघर्ष रोकिएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। चार दिनसम्म चलेको तनावपूर्ण सैन्य कारबाहीपछि स्थानीय बासिन्दाहरू आफ्नो नियमित जीवनमा फर्किन थालेका छन्।
मङ्गलबार श्रीनगर र नियन्त्रण रेखा नजिकका क्षेत्रबाहेक जम्मू-कश्मीरका सबै जिल्लामा स्कूल, कलेज र विश्वविद्यालयहरूमा पठनपाठन पुनः सुरु भएको छ। विमानस्थल अधिकारीहरूका अनुसार, श्रीनगर र जम्मू विमानस्थलहरूबाट पनि मङ्गलबारदेखि नियमित उडानहरू सञ्चालनमा आएका छन्।
हज यात्रामा जाने यात्रीहरूको पहिलो समूह ४ मे मा प्रस्थान गर्ने तयारीमा थियो, तर सीमा तनावका कारण उनीहरूको यात्रा रोकिएको थियो। सरकारले बुधबार बिहानदेखि हज यात्रीहरूको प्रस्थान सुरु हुने घोषणा गरेको छ। उडान रद्द भएका कारण समयमा पुग्न नसकेका यात्रीहरूका लागि थप उडानहरूको व्यवस्था गरिएको छ। यद्यपि, मङ्गलबार भारतको निजी एयरलाइन ‘एयर इन्डिया’ले जम्मूका लागि आफ्ना उडानहरू रद्द गरेको छ भने ‘इन्डिगो’ले जम्मू र श्रीनगरका लागि उडानहरू रद्द गरेको छ।
सरकारले नियन्त्रण रेखा नजिकका गाउँहरूबाट विस्थापित भएर अस्थायी शिविरहरूमा पुगेका नागरिकहरूलाई फिर्ता लैजान विशेष बसहरूको व्यवस्था गरेको छ। उरी, तङ्घधार, करनाह, माझिल र चौकीबललगायत सीमावर्ती गाउँहरूमा खसेका गोलाहरूलाई निष्क्रिय गर्न सुरक्षा बलहरू सक्रिय छन्। बारामूलाका एसएसपी गुरिन्दर पाल सिंह र कुपवाडाका एसएसपी गुलाम जिलानीका अनुसार, प्रहरी, सेना र अर्धसैनिक बलका बम निष्क्रिय दस्ताहरूले दर्जनौँ बस्तीहरूबाट यस्ता गोलाहरू हटाइरहेका छन्। उरीमा मात्र २० वटा यस्ता गोला फेला परेका छन्, जसमध्ये अधिकांश निष्क्रिय गरिएको छ।
जम्मूको पुञ्छ, राजौरी र आरएस पुरा सेक्टरहरूमा बारुदी सुरुङहरू हटाउने र विस्थापित नागरिकहरूलाई फिर्ता पठाउने कार्य पनि जारी छ। जम्मू(कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाहले सोमबार राजौरी र पुञ्छको भ्रमण गरी क्षतिको मूल्याङ्कन गरेका छन् र प्रभावित परिवारहरूसँग भेटघाट गरेका छन्।
यो सैन्य तनाव २२ अप्रिलमा पहलगाममा भएको आतङ्ककारी हमलापछि सुरु भएको थियो, जसमा २५ पर्यटक र एक कश्मीरी घोडसवारको मृत्यु भएको थियो। उक्त हमलाले भारत र पाकिस्तानबीच कूटनीतिक तनाव सिर्जना गरेको थियो, जुन ६ मे को रातमा पूर्ण सैन्य संघर्षमा परिणत भयो। भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘आतङ्ककारी ठिकानाहरू’लाई निशाना बनाएको थियो भने पाकिस्तानले भारतीय सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको दाबी गरेको थियो।
शनिबार दुवै देशले सैन्य संघर्ष रोक्ने घोषणा गरे पनि युद्धविराम उल्लङ्घनको आरोप एक-अर्कामाथि लगाइरहेका छन्। सोमबार साँझ दुवै देशका डीजीएमओले हटलाइनमा कुराकानी गरी युद्धविरामलाई कडाइका साथ लागू गर्ने सहमति जनाएका छन्।








