ट्रम्प प्रशासनबाट सयौं विद्यार्थीहरूको भिसा रद्द गर्ने निर्णय अचानक फिर्ता


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

ट्रम्प प्रशासनले शुक्रबार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १५ सय भन्दा बढी विद्यार्थी भिसा रद्द गर्ने आफ्नो निर्णयलाई अचानक फिर्ता लिएको छ। वाशिङ्टनमा भएको अदालती सुनुवाइमा इमिग्रेशन र कस्टम्स इन्फोर्समेन्ट आईसले नीतिमा ठूलो परिवर्तन गरेको घोषणा गरेको हो।

डिपार्टमेन्ट अफ जस्टिसका वकिल जोसेफ एफ कारिलीका अनुशार इमिग्रेशन अधिकारीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा समीक्षा र रद्द गर्ने नयाँ प्रणालीमा काम शुरू गरेका छन् । यो प्रक्रिया पूरा नहुँदासम्म थप परिवर्तन वा रद्द नगरिने भएको छ ।

यो घोषणा भिसा रद्दपछि विद्यार्थीहरूले दायर गरेका मुद्दाहरूको लहरपछि आएको हो, जसमा उनीहरूले अमेरिकामा अध्ययन गर्ने कानूनी अधिकार रद्द गरिएको र प्रायः न्यूनतम स्पष्टीकरण दिइएको बताएका छन्। केही अवस्थामा विद्यार्थीहरूसँग साना ट्राफिक उल्लंघन वा अन्य मामूली गल्तीहरू समेत समावेश थिए, तर अन्य अवस्थामा रद्दको स्पष्ट कारण देखिएको थिएन ।

दूतावासले विद्यार्थीलाई भिसा खारेज भएको जानकारी सहित पठाएको सूचना

कति विद्यार्थी भिसावाहकले अमेरिका छाडिसके भन्ने प्रष्ट छैन । सामान्यतः उनीहरूलाई देश छोड्न कम्तीमा केही हप्ताको समय दिइएको हुन्छ । तर ट्रम्प प्रशासनले न्यूनतम स्पष्टीकरणसहित हिरासत र देशनिकालाको खतरा भएका विद्यार्थीहरूमा त्रास उत्पन्न गरेको थियो। केही विद्यार्थीहरूले कानूनी लडाइ छोडेर स्वेच्छाले देश छाडिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मार्चमा ट्रम्प प्रशासनले गाजा युद्धलाई लिएर विश्वविद्यालयहरूमा भएको इजरायलविरोधी प्रदर्शनमा भाग लिएका केही विद्यार्थीहरूको भिसा रद्द गरी देशनिकालाको प्रक्रिया शुरू गरेको थियो। संघीय न्यायाधीशहरूले ती रद्दहरूमध्ये केही रोकेका थिए र विद्यार्थीहरूलाई देशबाट हटाउने प्रयासमा रोक लगाएका थिए।

तर हालैका हप्ताहरूमा नेपाल, भारत र चीनलगायतका सयौं विद्यार्थीहरूले आफ्नो भिसा रद्द भएको सूचना पाएका थिए । यसले देशभरका विद्यार्थीहरूमा त्रास फैलाएको थियो ।

शुक्रबारको सुनुवाइमा कारिलीले सरकारले अन्य मुद्दाहरूमा पनि नीति परिवर्तन दायर गर्न तयार रहेको बताएका छन् । जसले भिसा पुनर्स्थापना गर्न र आगामी दीक्षान्त समारोहसम्म देशमा रहन मुद्दा दायर गरेका विद्यार्थीहरूलाई केही राहत प्रदान गर्नसक्ने अपेक्षा गरिएको छ ।

अप्रिलमा मात्र अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका छन्। अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको व्यापक मात्रामा सेभिज रेकर्ड रद्द गरिएको कम्तीमा न्युयोर्कका ३ जना कानुन व्यवसायीहरूले खसोखासलाई जानकारी दिएका छन्। उनीहरूले भने, “सेभिज रेकर्ड रद्द गरिएकामध्ये अधिकांशको सेभिज रेकर्ड अप्रिलको पहिलो र दोश्रो साता रद्द भएको पाइएको छ।”

केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो  भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको थियो । सेभिज रेकर्ड अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने एक डेटाबेस प्रणाली हो। यो प्रणालीले विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरू र आगन्तुकहरूको जानकारी राख्छ। यो रेकर्ड खारेज गरिनुको अर्थ उनीहरूको भिसा स्थिति मान्य नरहनु हो। उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउन सक्छन्।

एक साताको अवधिमा मात्र सेभिज खारेज भएका २ दर्जनभन्दा बढी नेपाली विद्यार्थीहरूले आफूलाई सम्पर्क गरेको कानुन व्यवसायी अभिमा उप्रेतीले खसोखासलाई जानकारी दिएकी थिइन् ।  त्यस्तै कानुन व्यवसायी बासु फुलाराले कैयन नेपाली विद्यार्थीहरुको भिसा दूतावासले रद्द गरेर इमेलमार्फत सूचना पठाइसकेको र कलेजहरुले पनि विद्यार्थीहरुलाई सेभिज खारेज भइसकेको जानकारी दिएको खसाखोसलाई बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com