नेपालीलाई अमेरिका भ्रमण गर्दा ६ महिनाको म्याद भएको राहदानी नचाहिने नियम कायम


प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

अमेरिकाले नेपालीहरूलाई अमेरिका भ्रमण गर्दा ६ महिनाको म्याद भएको राहदानी नचाहिने नियमलाई कायम राखेको छ। सीबीपीले सोमबार जारी गरेको अपडेटमा नेपाललाई पनि ६ महिनाको म्याद भएको राहदानी नचाहिने नियमलाई कायम राखेको हो। पछिल्लो सूची गत वर्षको जनवरीमा प्रकाशन गरिएको थियो।

अमेरिका भ्रमण गर्ने आगन्तुकहरूसँग अमेरिकामा बसोबास गर्ने उद्देश्यले तोकिएको अवधिभन्दा छ महिना बढीको लागि मान्य राहदानी हुनु आवश्यक भए पनि नेपाललगायतका देशका नागरिकहरूलाई छ महिनाको नियमबाट छुट दिइएको सीबीपीले सोमबार प्रष्ट पारेको छ। उनीहरूसँग अमेरिका बस्ने अवधिसम्म म्याद भएको राहदानी भए मात्र पुग्ने सीबीपीले प्रष्ट पारेको छ।

अमेरिकी विदेश मन्त्रालयले यसबारेको फरेन अफेयर्स म्यानुअल पनि मार्च २५ मा अपडेट गरेको थियो। केही देशहरूले अमेरिकासँग उनीहरूको राहदानी राहदानीमा तोकिएको म्याद सकिएको मितिभन्दा छ महिना बढी समयसम्म सम्बन्धित देशमा फिर्ता गर्न वैध मानिने सम्झौता वा व्यवस्था गरेका छन् भन्ने कुरा म्यानुअलमा उल्लेख छ। यी सम्झौता वा व्यवस्थाहरूको कारणले कागजातको म्याद सकिएको मितिभन्दा छ महिना बढी समयसम्म राहदानीको वैधता बढ्ने विदेश मन्त्रालयको म्यानुअलमा जनाइएको छ।

नेपाललगायतका सूचीकृत देशहरूद्वारा जारी गरिएका राहदानीहरूले म्याद सकिने मितिसम्म कानूनको आवश्यकताहरू पूरा गर्ने भएकाले त्यो मितिभन्दा पहिले कुनै पनि समयमा भिसा जारी गर्न सकिने मार्गदर्शनसमेत अमेरिकी विदेश मन्त्रालयले आफ्ना कन्सुलर अधिकारीहरूलाई प्रदान गरेको छ। यद्यपि राहदानीको म्याद धेरै कम समय बाँकी रहँदा यस्तो कार्य व्यावहारिक नहुनसक्ने समेत मार्गदर्शनमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी भिसा प्रदान गर्दा कन्सुलर अधिकारीहरूले भिसा प्राप्तकर्तालाई राहदानीमा देखाइएको वास्तविक म्याद समाप्ति मितिभन्दा बढी अवधिको लागि अध्यागमन अधिकारीहरूले अमेरिकामा बस्नका लागि विमानस्थलमा अनुमति नदिने कुराको जानकारी गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। अर्थात् यदि तपाईंको राहदानीको म्याद ४ महिनामात्र बाँकी छ भने पोर्ट अफ इन्ट्रीमा तपाईंको आई-९४ त्योभन्दा कम अवधिका लागि मात्र जारी हुन्छ। राहदानीको म्याद विस्तार नभएसम्म अमेरिकामा उनीहरूको बसाइ त्यो मितिभन्दा बढी लम्ब्याउन सकिँदैन।

म्याद सकिएको राहदानीमा भिसा जारी गर्न नहुने समेत अमेरिकी विदेश मन्त्रालयको आफ्ना कन्सुलर अधिकारीहरूलाई निर्देशन दिएको छ। तर म्याद सकिएको राहदानीसँगै आवेदकले कानूनले व्यवस्था गरेअनुरूप जमानत कागजातहरू प्रस्तुत गर्न सक्षम भएमा भने म्याद सकिएको राहदानीमा समेत भिसा जारी हुनसक्छ।

यदि कुनै आवेदकले छ महिनाभन्दा बढीको म्याद भएको राहदानी प्रस्तुत गर्दछ तर सम्पूर्ण बसाइको लागि प्रवेश अनुमति दिन पर्याप्त छैन भने कन्सुलर अधिकारीहरूले आवेदकलाई भिसा जारी गर्नुअघि राहदानी विस्तार, नवीकरण, वा प्रतिस्थापन गर्न आग्रह गर्नुपर्ने अमेरिकी विदेश मन्त्रालयको मार्गदर्शनमा उल्लेख छ। यदि उनीहरू अमेरिकामा नआउँदासम्म त्यो सम्भव छैन भने त्यस्तो राहदानीमा भने भिसा जारी गर्न सकिने मार्गनिर्देशन कन्सुलर अधिकारीहरूलाई छ।

तर राहदानीको सीमित वैधताको कारणले गर्दा बसाइको प्रारम्भिक अवधि पोर्ट अफ इन्ट्रीमा सीबीपी अधिकारीहरूबाट सीमित हुनसक्ने कुरा भिसा कन्सुलर अधिकारीहरूले आवेदकलाई सल्लाह दिनुपर्ने मार्गदर्शन रहेको छ। साथै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमार्फत बसाइको विस्तार खोज्ने प्रक्रियाहरू पनि व्याख्या गर्नुपर्छ। सूचीमा रहेकाहरूबाहेक अन्य देशका व्यक्तिका लागि अमेरिका आउनका लागि राहदानी छ महिनाभन्दा बढीको लागि मान्य हुनुपर्छ किनभने छ महिना वा सोभन्दा कमको म्याद भएको राहदानी प्रस्तुत गर्ने व्यक्तिलाई पोर्ट अफ इन्ट्रीबाट अमेरिका प्रवेश दिइनेछैन।

जब वैध भिसा भएको राहदानीको म्याद समाप्त हुन्छ, राहदानीको म्याद समाप्त हुँदा त्यो भिसाको वैधतामा कुनै असर नपर्ने समेत अमेरिकी विदेश मन्त्रालयको मार्गदर्शनमा उल्लेख छ। तर अमेरिका प्रवेश गर्दा भिसा भएको राहदानीका साथमा नयाँ वा नवीकरण गरिएको राहदानीसमेत बोक्नुपर्छ। यसरी एक व्यक्तिले दुईवटा राहदानीहरू प्रस्तुत गर्न सक्छ। एउटाले भिसा आवश्यकता पूरा गर्छ र अर्कोले राहदानी आवश्यकता पूरा गर्छ। नयाँ राहदानीमा उल्लेख गरिएअनुसार राष्ट्रियता भिसा भएको राहदानीमा देखाइएको जस्तै हुनुपर्छ।

सम्पूर्ण मार्गदर्शन र देशहरूको सूची पढ्न यहाँ क्लिक गर्नुहोला।

नोटः ६ महिनाभन्दा कम म्याद भएको राहदानीमा यात्रा गर्दा तपाईले यात्रा गर्ने एयरलाइन्सले चढाउने नचढाउनेबारे उक्त एयरलाइन्ससँग पहिले नै बुझ्न आवश्यक छ । किनभने कतिपय एयरलाइन्सले ६ महिनाभन्दा कम म्याद भएको राहदानीवाहकलाई विमानमा नचाढाउन पनि सक्छन् । तर स्थलमार्गबाट प्रवेश गर्दा भने यस्तो समस्या नआउनसक्छ । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com