बाइडेन कार्यकालको अन्तिम बर्षको तुलनामा ट्रम्पको देशनिकाला दर अझै १० प्रतिशत कम


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

बाइडेन कार्यकालको अन्तिम बर्ष आर्थिक बर्ष २०२४ को तुलनामा ट्रम्पको देशनिकाला दर अझै १० प्रतिशत कम रहेको तथ्यांक सार्वजनिक भएको छ । ट्रान्जैक्शनल रेकर्ड्स एक्सेस क्लियरिंगहाउसले आज सार्वजनिक गरेको विश्लेषण अनुशार बाइडेनको कार्यकालको अन्तिम बर्षको तुलनामा अहिले ट्रम्प कार्यकालमा भइरहेको आइसको देशनिकाला कम देखिएको हो ।

जसका कारण ट्रम्प प्रशासनले अध्यागमन कारबाहीहरूको वास्तविक रेकर्ड लुकाउन जारी राखेको छ । सुरुमा सामाजिक सञ्जालमा दैनिक आइसको गिरफ्तारीको संख्या पोस्ट गरिदै आएको भएतापनि गिरफ्तारीको संख्या घट्न थालेपछि यो अभ्यास बन्द भएको थियो । यस प्रशासनद्वारा गरिएको देशनिकालाको पनि वास्तविक संख्याको कुनै पनि दैनिक तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

त्यस्तै जनवरी २० पछि पक्राउ परेका र देशनिकाला गरिएका कुल नेपालीहरुको संख्या पनि खसोखासले अमेरिकी अध्यागमन एजेन्सी आइससँग मागेको थियो । तर त्यस्ता तथ्यांकहरु अहिले संकलन र प्रमाणीकरणको प्रकृयामा रहेको आइसले खसोखासलाई जानकारी दिएको छ । निकट भविश्यमा उक्त तथ्यांक आइसले औपचारिक रुपमा नै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

आइसका एकजना प्रवक्ताले खसोखासलाई भनेका छन् -“जनवरी २० देखि आइसले अन्य संघीय कानून प्रवर्तन र डिपार्टमेन्ट अफ डिफेन्स साझेदारहरूको थप सहयोगमा आफ्नो आप्रवासन प्रवर्तन गतिविधिहरूमा उल्लेखनीय वृद्धि गरेको छ। अमेरिकी जनतालाई हाम्रो प्रयासको नतिजाको बारेमा सबैभन्दा सही जानकारी मात्र प्रदान गर्ने प्रयासमा आइसले डेटा संकलन र प्रमाणीकरण गरिरहेको छ । र मासिक रूपमा हाम्रो प्रवर्तन तथ्याङ्क प्रकाशित गर्ने दिशामा काम गरिरहेको छ। हाल तथ्याङ्कहरू तीन महिनाको बक्यौतामा छन् । र त्रैमासिक आधारमा प्रकाशित गरिएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक महिना पछि आइसले दुई नयाँ अर्ध मासिक रिपोर्टहरू प्रकाशित गरेको छ। यसको पछिल्लो रिपोर्ट मार्च १४ मा प्रकाशित भएको थियो र मार्च ८, २०२५ सम्मको तथ्याङ्कहरू समावेश गरिएको थियो । यद्यपी जनवरी २० मा ट्रम्पले पदभार सम्हालेपछिको स्पष्ट रिपोर्टहरु भने सार्वजनिक भएका छैनन् । २०२४ को अक्टोबरदेखि २५ जनवरी २०२५ सम्मको रिपोर्टमा ८५ हजार ७ सय ६९ जनालाई आइसले देशनिकाला गरेको रेकर्ड छ । तर जनवरी १९ सम्म बाइडेन नै पदमा रहेकाले जनवरी २० पछिको देशनिकालाको संख्याको विवरण प्रष्ट नभएको हो ।

आर्थिक बर्ष २०२४ मा कुल २ लाख ७१ हजार ४ सय ८४ जना आप्रवासीहरुलाई देशनिकाला गरिएकोमा दैनिक देशनिकालाको औषत दर ७४२ रहेको थियो । त्यसपछि गत अक्टोबरदेखि जनवरी २५ सम्मका ११७ दिनमा दैनिक आइसको देशनिकालाको दर ७३३ थियो । जुन बाइडेन कालको आर्थिक बर्ष २०२४ को औषत दर भन्दा कम हो । जनवरी २६ देखि फेबु्रअरी ८ सम्म ९ हजार ७ सय ५ जनालाई देशनिकाला गरेको हिसाब गर्दा दैनिक देशनिकालाको औषत संख्या ६९३ मात्र रहेको छ ।

त्यस्तै फेबु्रअरी ९ देखि २२ सम्म ८ हजार ३ सय ९४ जनाको देशनिकालाको हिसाब गर्दा दैनिक देशनिकालाको औषत संख्या ६ सय रहेको छ । फेबु्रअरी २३ देखि मार्च ८ सम्म ९ हजार ६ सय ७३ जनाको देशनिकाला भएको तथ्यांक हेर्दा दैनिक देशनिकाला संख्या औषतमा ६९१ रहेको छ । यो तथ्यांक हेर्दा जनवरी २६ देखि मार्च ८ सम्म ट्रम्पकालमा कुल २७ हजार ७७२ जना आप्रवासीहरु देशनिकाला भएको देखिन्छ । जुन दैनिक औषत संख्या ६६१ हो अर्थात् बाइडेनकालको आर्थिक बर्ष २०२४ को दैनिक औषत संख्या ७४२ भन्दा १० दशमलव ९ प्रतिशतले कम हो ।

आइसले ट्रम्पकालमा कतिजनालाई देशनिकाला गरियो भन्ने विवरण सार्वजनिक नगरेपनि जनवरी २६ पछि हरेक १५ दिनमा आर्थिक बर्ष २०२५ को कुल तथ्यांक सार्वजनिक गरेकालाई त्यसमा जनवरी २५ भन्दा अगाडिको तथ्यांकको संख्या घटाएर ट्रम्प कालमा देशनिकाला हुनेहरुको संख्या निकालिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com