अमेरिका भ्रमणमा आउँदै डा. सन्दुक रुइत, १५ दिनमा दर्जनभन्दा बढी कार्यक्रम तय


प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइत आगामी मे १४ देखि जुन १ सम्म अमेरिका भ्रमणमा आउने कार्यक्रम तय भएको छ। यो भ्रमणका क्रममा डा. रुइतले अमेरिकामा एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन्। कार्यक्रम क्योर ब्लाइन्डनेस प्रोजेक्टको  आयोजनामा हुन लागेको हो । जसमा सपोर्टिङ पार्टर अमेरिकी दूतावास काठमाडौं समेत रहेको छ भने कार्यक्रमको टुर पार्टनर ठमेल एनवाईसी इभेन्टस रहेको छ ।

डा. रुइतले यो अवसरमा नेत्रचिकित्सा क्षेत्रमा नेपालले पुर्‍याएको योगदानलाई विश्वसामु प्रस्तुत गर्ने र नेपाललाई नेत्र उपचारको नवप्रवर्तनकर्ता राष्ट्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छन्। आयोजकका अनुसार यो भ्रमणले नेपालमा सस्तो र प्रभावकारी मोतिबिन्दु शल्यक्रियामार्फत दृष्टिविहीनताको अन्त्य गर्ने अभियानलाई थप अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ।

भ्रमणको कार्यसूचीअनुसार डा. रुइत मे १४ मा सान फ्रान्सिस्को आगमनपछि मे १५ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। त्यसैगरी, मे १६ मा वासिङ्टन डिसीमा पत्रकार सम्मेलन र मे १७ मा सोही स्थानमा अन्तरक्रिया कार्यक्रम तय भएको छ।

मे १८ र १९ मा मियामीमा आयोजित कार्यक्रममा सहभागिता जनाउने र बास्कम पामर आँखा संस्थानको भ्रमण गर्ने तालिका रहेको छ। मे २१ मा जोन्स हप्किन्स विल्मर आँखा संस्थानको भ्रमणपछि मे २२ मा न्यूयोर्कमा पत्रकार सम्मेलन र मे २३ मा सोही स्थानमा अन्तरक्रिया कार्यक्रम हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, मे २४ मा बोस्टन र मे २५ मा न्यू ह्याम्पशायरमा कार्यक्रम आयोजना गरिनेछ। भ्रमणको अन्त्यतिर मे ३० मा कोलोराडो, मे ३१ मा डालास र जुन १ मा नर्थ क्यारोलिनामा कार्यक्रम तय भएका छन्।

डा. सन्दुक रुइत तिलगंगा नेत्र केन्द्रका कार्यकारी निर्देशक हुन्, जुन संस्थाले विगत तीन दशकदेखि नेपालमा दृष्टिविहीनताको अन्त्यका लागि अग्रणी भूमिका खेल्दै आएको छ। उनले सन् १९९२ मा तिलगंगा नेत्र केन्द्रको स्थापना गरेका थिए, जुन हाल नेपालमा नेत्र उपचारको उत्कृष्ट केन्द्रका रूपमा स्थापित छ।

सन् १९९५ मा उनले तिलगंगामा इन्ट्राअक्युलर लेन्स प्रयोगशाला स्थापना गरे, जसले लेन्सको लागत १५० डलरबाट घटाएर ४ डलरमा झारेको छ। हालसम्म यो प्रयोगशालाले ६५ लाखभन्दा बढी लेन्स उत्पादन गरी ४० भन्दा बढी देशमा वितरण गरेको छ, जसले विश्वभरका ६५ लाखभन्दा बढी व्यक्तिको दृष्टि पुनःस्थापना गरेको छ।

डा. रुइतले सानो चिरा सर्जरीको प्रविधिलाई सरल, सस्तो र गुणस्तरीय बनाएर नेपाल र विकासशील देशहरूमा मोतिबिन्दु शल्यक्रियालाई क्रान्तिकारी बनाएका छन्। उनको यो भ्रमणले हेटौंडास्थित इन्ट्राअक्युलर लेन्स  प्रयोगशाला विस्तार परियोजनालाई पनि प्राथमिकतामा राखेको छ, जसले उत्पादन क्षमता दोब्बर बनाउने र नेपाललाई वैश्विक नेत्रचिकित्सा प्रविधिमा अग्रणी बनाउने लक्ष्य राखेको छ।

डा. रुइतको योगदानलाई विश्वभर प्रशंसा गरिएको छ। उनले सन् २००६ मा प्रतिष्ठित ‘रामोन म्याग्सेसे पुरस्कार’ प्राप्त गरेका थिए, जुन एसियाको नोबेल पुरस्कार मानिन्छ। सन् २००७ मा रिडर्स डाइजेस्टले उनलाई ‘एसियन अफ दि इयर’ घोषणा गरेको थियो भने सोही वर्ष उनले ‘प्रिन्स महिदोल अवार्ड फर पब्लिक हेल्थ’ र अष्ट्रेलिया सरकारबाट ‘द अर्डर अफ अष्ट्रेलिया’ सम्मान प्राप्त गरे।

सन् २०१६ मा उनलाई एसिया सोसाइटी न्यूयोर्कले ‘एसियन गेम चेन्जर अवार्ड’ प्रदान गरेको थियो। डा. रुइतले स्थापना गरेको हिमालयन क्याटर्याक्ट प्रोजेक्ट र फ्रेड हलोज फाउन्डेसनमार्फत उनले नेपालसहित चीन, भारत, बंगलादेश, कम्बोडिया, भियतनाम, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, इथियोपिया, थाइल्याण्ड र अफ्रिकाका विभिन्न देशमा नेत्र उपचार सेवा विस्तार गरेका छन्। उनको नेतृत्वमा हालसम्म ३५ मिलियनभन्दा बढी शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

डा. रुइतको अभियानले विश्वभरका ९०% मोतिबिन्दुका बिरामीहरू, जो विकासशील देशमा बस्छन्, उनीहरूका लागि सस्तो र पहुँचयोग्य उपचार सुनिश्चित गरेको छ। तिलगंगा नेत्र केन्द्रले हाल नेपालका दुई अस्पताल र १६ बाह्य क्लिनिकहरूमा नेत्र सेवा प्रदान गर्दै आएको छ, जहाँ ३० जना नेत्र विशेषज्ञहरू कार्यरत छन्।

डा. रुइतले विश्वभरका ६५० भन्दा बढी चिकित्सकहरूलाई तालिम प्रदान गरेका छन्, जसले एसिया, अफ्रिका र अष्ट्रेलियामा उनको प्रविधि प्रयोग गरी दृष्टिविहीनताको अन्त्यमा योगदान पुर्‍याइरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com