रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट, दोश्रो र तेश्रो श्रेणीमा अग्रता


प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको अप्रिलको भिसा बुलेटिनले रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीका लागि ग्रिनकार्ड र आप्रवासी भिसा पाउने मिति अगाडि बढाएको छ । युएससीआईएसले अप्रिलमा पनि रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएकाले अमेरिकामा हुनेले ग्रिनकार्ड फाइल गर्ने मिति र अमेरिबाहिर हुनेले आप्रवासी भिसा पाउनसक्ने मिति एउटै हुनेछ ।

अप्रिलमा पहिलो श्रेणीका सन्दर्भमा भने पहिले जस्तै ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ । मार्च महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि अप्रिलमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति २२ जुन २०२३ रहेको छ, यो मिति मार्चका लागि १५ मे २०२३ रहेकोमा अप्रिलका लागि झण्डै ३ साता सरेको हो । अमेरिकाबाहिर हुनेले पनि २२ जुन २०२३ अगाडि प्राथमिकता मिति भएमा अप्रिलमा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

तेश्रो श्रेणीको स्कील्ड ग्रिनकार्ड आवेदकका लागि १ जनवरी २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा अप्रिलमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । यो मिति मार्चमा १ डिसेम्बर २०२२ रहेकोमा अप्रिलका लागि १ महिना सरेको छ । अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १ जनवरी २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले अप्रिलमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा २२ मे २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा अप्रिलमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । मार्चमा यो मिति १ फेब्रुअरी २०२१ रहेकोमा अप्रिलका लागि लागि झण्डै ४ महिना सरेको छ । जुन रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका लागि खुशीको कुरा हो । यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा २२ मे २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले अप्रिलमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

तर चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारका लागि भने दुखको खबर छ । किनभने यो श्रेणीमा अमेरिकी विदेश मन्त्रालयले ग्रिनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अनुपलब्ध रहेको छ । यसको मतलब यो अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रिनकार्डहरू उपलब्ध हुनेछैनन् ।

युएससीआईएससँगको सहकार्यमा अमेरिकी विदेश मन्त्रालयले आर्थिक वर्ष २०२५ को लागि रोजगारमा आधारित चौथो श्रेणीमा उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको जनाएको हो । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले एक आर्थिक वर्षभित्र जारी गर्न सकिने रोजगारमा आधारित आप्रवासी भिसाहरूको संख्यालाई सीमित गर्छ। विशेष गरी, रोजगारमा आधारित चौथो श्रेणीको भिसाको वार्षिक सीमा विश्वव्यापी रोजगारमा आधारित ग्रिनकार्डका सबै श्रेणीको सीमाको ७ दशमलव १ प्रतिशत मात्र हुने व्यवस्था गरेको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको भिसा र ग्रिनकार्डको वार्षिक सीमा हरेक आर्थिक वर्ष लगभग ९,९४० हो। यो वार्षिक रूपमा तोकिएको १४०,००० रोजगारमा आधारित भिसा र ग्रिनकार्डहरूको ७ दशमलव १ प्रतिशत हो। यसबाट देशहरुलाई पनि छुट्टै सिमा तोकिएको हुन्छ ।

आर्थिक बर्ष २०२५ का लागि उपलब्ध सबै ईबी ४ भिसाहरू प्रयोग भइसकेकाले दूतावासहरूले यो आर्थिक वर्षको बाँकी अवधिको लागि यी श्रेणीहरूमा भिसा जारी गर्न सक्नेछैनन्। नयाँ आर्थिक वर्ष अक्टोबर १, २०२५ मा सुरु भएपछि वार्षिक सीमाहरू रिसेट हुनेछन्। त्यस बिन्दुमा दूतावासहरूले योग्य आवेदकहरूलाई यो श्रेणीमा आप्रवासी भिसा जारी गर्न पुनः सुरु गर्न सक्नेछन्। गत वर्ष यो श्रेणीको वार्षिक सीमा अगस्टको अन्त्यमा पुगेको थियो। तर, यो वर्ष, यो सीमा धेरै छिटो पुगेको छ।

ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीलाई विघटन गरिरहँदा जागिरबाट निकालिएका विदेशी कर्मचारीहरूले यही श्रेणीको विशेष आप्रवासी ग्रिनकार्डका लागि आवेदन दिने विचार गरिरहेका छन्। जागिरबाट निकालिएपछि उनीहरुलाई विशेष आप्रवासी भिसाका लागि आवेदन दिने विकल्प सुझाउने इमेल प्राप्त भएको थियो । तर यो प्रकृया पूरा हुन अहिले झण्डै ६ बर्ष लागेको छ ।

विशेष आप्रवासी ग्रिनकार्डहरू विभिन्न कार्यक्रमहरूअन्तर्गत जारी गरिन्छन्, जसमा धार्मिक कार्यकर्ताहरू, केही अन्तर्राष्ट्रिय संगठनका कर्मचारीहरू र अन्य योग्य व्यक्तिहरू समावेश छन्। अमेरिकी आप्रवासन कानूनअन्तर्गत तोकिएको अवधिको लागि अमेरिकी सरकारको वफादार र मूल्यवान सेवा प्रदान गरेका विदेशी कर्मचारीहरू रोजगारमा आधारित चौथो श्रेणीमार्फत ग्रिनकार्ड प्राप्त गर्न योग्य हुन सक्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com