आवधिक छुटबिना नै ग्रिनकार्ड र नागरिकताका फारम अपडेट गरेपछि युएससीआईएसविरुद्ध मुद्दा


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

युएससीआईएसले कुनै आवधिक छुट वा पूर्वसूचनाबिना तत्काल लागू हुने गरी अमेरिकी ग्रिनकार्ड, अमेरिकी नागरिकता र ट्राभल डकुमेन्टलगायतका आवेदन फारमका नयाँ संस्करण जारी गरेपछि अमेरिकी अदालतमा युएससीआईएसविरुद्ध मुद्दा दायर गरिएको छ। अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसन र बेनाच कोलोपी एलएलपीले वासिङ्टन डीसीस्थित अदालतमा तत्काल राहतको माग गर्दै शुक्रबार मुद्दा दायर गरेका हुन्।

नयाँ संस्करणहरू घोषणा गरिएपछि अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसनले यी फारमहरूका लागि एजेन्सीले ग्रेस अवधि लागू गर्ने वा नगर्ने भन्नेबारे जानकारी माग्न युएससीआईएसलाई पटक-पटक सोधपुछ गरेको तर कुनै प्रतिक्रिया नपाएपछि मुद्दा दायर गरेको जनाएको छ।

युएससीआईएसले फेब्रुअरी २४, मार्च ३ र मार्च ४ मा १२ वटा फारम अपडेट गरेको थियो। पुराना संस्करणका फारम प्रयोग गरेर पेश गरिएका कुनै पनि आवेदन अस्वीकृत हुन सक्ने चेतावनी युएससीआईएसले दिएको छ। ती सबै नयाँ फारममा जनवरी २०, २०२५ को संस्करण मिति उल्लेख गरिएको छ।

यो अचानक परिवर्तनले आवेदक र अध्यागमन वकिलहरूमा चिन्ता उत्पन्न गरेको छ। कतिपय आवेदकले नयाँ संस्करण लागू भइसकेपछि पनि अनजानमा पुराना फारम पेश गरेका थिए। नयाँ संस्करणका फारममा शब्दावली र समावेशीतामा उल्लेखनीय परिवर्तन गरिएको छ, जसले वर्तमान ट्रम्प प्रशासनको नीतिलाई प्रतिबिम्बित गर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुराना संस्करणमा तीन लिङ्ग विकल्पहरू—पुरुष, महिला र अर्को लिङ्ग पहिचान—रोज्न दिइएको थियो, तर नयाँ संस्करणले लिङ्ग विकल्पलाई पुरुष र महिलामा सीमित गरेको छ। पुराना संस्करणमा लिङ्ग तटस्थ शब्द र गैरनागरिक शब्द प्रयोग गरिएको थियो भने नयाँ संस्करणमा महिला र पुरुषमात्र जनाउने शब्द र “एलियन” शब्द प्रयोग गरिएको छ। नयाँ संस्करण पुरानो संस्करणको तुलनामा कम समावेशी भएको छ।

यू भिसा आवेदन (आई-९१८), आई-४८५ को पूरक फारम जे, आई-४८५ को पूरक फारम ए, बायोग्राफिक इन्फर्मेसन (जी-३२५ए), स्पोन्सर फारम (आई-१३४), आप्रवासीका रूपमा अग्रिम प्रवेशका लागि आवेदन फारम (आई-१९२) मा पनि जनवरी २०, २०२५ को संस्करण लागू गरिएको छ। यसअघि उद्यमी परोल फारम (आई-९४१), टी भिसा आवेदन (आई-९१४), पब्लिक चार्जको धरौटी रद्द गर्ने फारम (आई-३५६) का सन्दर्भमा पनि जनवरी २०, २०२५ को संस्करण लागू गरिएको थियो।

ट्रम्प प्रशासनले गैरनागरिक र आप्रवासीलाई वर्णन गर्न “एलियन” र “अवैध एलियन” शब्द पुनः प्रयोग गर्न थालेपछि फारमहरूमा पनि सोहीअनुसार अपडेट गरिएको हो। युएससीआईएस, आईसीई, अध्यागमन अदालतलगायतका अन्य सरकारी कागजातमा पनि “एलियन” शब्द प्रयोग गर्न थालिएको छ।

त्यस्तै, ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार अमेरिकी सरकारका कागजातमा लिङ्गको रूपमा महिला र पुरुषमात्र उल्लेख गर्न सुरु गरिएको छ। सोहीअनुसार विभिन्न फारम र कागजात अपडेट गर्ने क्रम ट्रम्प प्रशासनले जारी राखेको छ।

अमेरिकी विदेश मन्त्रालयले यसअघि लिङ्गमा “एक्स” मार्क गर्ने पासपोर्ट आवेदन फारम हटाइसकेको छ। कार्यकारी आदेशअनुसार नै अमेरिकी पासपोर्टबाट “एक्स” मार्क हटाइएको हो। अबदेखि पासपोर्टमा पनि लिङ्गको रूपमा पुरुष वा महिलामात्र उल्लेख गरिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com