होमल्यान्ड सेक्युरिटी सेक्रेटरीमा नोमको नाम अनुमोदन, ट्रम्पको अध्यागमन कारवाहीको नेतृत्व गर्ने
प्रकाशित मिति : माघ १२, २०८१ शनिबार
शनिबार बिहान अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका होमल्यान्ड सेक्युरिटी सेक्रेटरीमा क्रिस्टी नोमको नाम अनुमोदन गरेको छ । अब उनले राष्ट्रपति ट्रम्पले प्रतिक्षा गरेको अध्यागमन कारवाहीको नेतृत्व गर्नेछिन् । उनको मनोनयनका पक्षमा ५९ र विपक्षमा ३४ मत खसेको थियो ।
नोमले २०१९ देखि साउथ डकोटाका गर्भनरको रूपमा सेवा गर्दै आइरहेकी छिन् । उनले पूर्व राज्य सांसद र चार कार्यकालका प्रतिनिधिसभा सदस्यको रूपमा काम गरेकी थिइन् । अब उनलाई होमल्यान्ड सेक्युरिटीको नेतृत्व गर्न जिम्मेवारी दिइएको छ ।
यो एउटा विशाल विभाग हो जसले यूएस कस्टम्स र बोर्डर प्रोटेक्शन सीबीपी, इमिग्रेशन र कस्टम्स इन्फोर्समेन्ट आइस, फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी र यूएस सेक्रेट सर्भिस जस्ता एजेन्सीहरूलाई अनुगमन गर्दछ।

शनिबारको मतदानपछि एक वक्तव्यमा नोमले आफूले दक्षिणी सिमाना सुरक्षित गर्ने र अमेरिकाको बिग्रिएको आप्रवासन प्रणालीलाई सुधार्नेमा प्राथमिकता दिने बताएकी छिन्।
सबै अमेरिकनहरूलाई सुरक्षित र संरक्षित गर्न हरेक दिन काम गर्ने उनले बताइन् । आफ्नो शीर्ष प्राथमिकतामध्ये एक राष्ट्रपति ट्रम्पको अमेरिकन जनताबाट प्राप्त गरिएको आदेशलाई कार्यान्वयन गर्नु रहेको र त्यसले अमेरिकाको दक्षिणी सिमाना सुरक्षित गर्ने तथा बिग्रिएको आप्रवासन प्रणालीलाई सुधार्ने उनले बताइन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआत आप्रवासनसँग सम्बन्धित विभिन्न कार्यकारी आदेशहरू जारी गरेर गरेका थिए, जसमा अमेरिकी दक्षिणी सिमानामा राष्ट्रिय आपतकालको घोषणा र जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रक्रियाको सुरूवात गर्ने निर्णय थियो । आप्रवासन बाहेक नोमले आफ्नो मनोनयनको सुनुवाइको क्रममा अन्य थुप्रै मुद्दाबारे पनि चर्चा गरेकी थिइन् ।





