फ्याक्ट चेक: बेलायतका निवर्तमान प्रधानमन्त्री सुनकले डेलिभरी ड्राइभरको काम सुरु गरेका हुन्?


प्रकाशित मिति : असार २३, २०८१ आईतबार

बेलायतका निवर्तमान प्रधानमन्त्रीले डेलिभरी ड्राइभरको काम सुरु गरेको भन्दै एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमध्ये पोस्ट कमिंग्स इफेक्ट नामको फेसबुक पेजमा शेयर गरिएको एउटा फोटोमा ३८ हजारभन्दा बढीले रियाक्ट गरेका छन् भने ७ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । त्यस्तै १२ हजारभन्दा बढीले शेयर गरेका छन् ।

जुलाई ३ मा गरिएको उक्त पोष्टमा ऋषि सुनकले जुलाई २ मा डेलिभरी ड्राइभरको रूपमा आफ्नो नयाँ जागिरको लागि अभ्यास गर्दै गरेको र यो जागिर सोमबारबाट सुरु हुने लेखिएको छ । चुनाव अगाडिको यो पोष्ट हेर्दा व्यंग्यात्मक देखिन्छ । तर धेरैले ऋषि सुनकले साँच्चिकै प्रधानमन्त्रीबाट हटेपछि डेलिभरी ड्राइभरको काम सुरु गरेको सोंचेर प्रतिकृयाहरु दिइरहेका छन् । जुन भ्रमपूर्ण रहेको छ ।

राजनीतिक नेता भनेको पदमुक्त भएपछि डेलिभरी ड्राइभरका रुपमा काम सुरु गर्ने ऋषि सुनक जस्तो हुनुपर्ने भन्दै कैयन नेपालीहरुले समेत यो पोष्ट शेयर गरेका छन् भने कमेन्ट समेत गरेका छन् । तर यो तस्वीर न त ऋषि सुनक पदमुक्त भएपछिको हो, न त उनले डेलिभरी ड्राइभरका रुपमा काम सुरु गरेका छन् ।

खसोखासले यो तस्वीरको फ्याक्ट चेक गर्दा यो तस्वीर बेलायतको चुनाव हुनुभन्दा अगाडि जुलाई २ को तस्वीर रहेको पाइएको छ । गेटी इमेजमा रहेको यो तस्वीर बकिङ्घमशायर, इङ्गल्याण्डमा ऋषि सुनक चुनावी अभियानका क्रममा रहेको बेला खिचिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Embed from Getty Images

गेटीमा दिइएको तस्वीर बर्णन अनुशार उनले बकिंघमशायरमा जुलाई २, २०२४ मा कन्जरभेटिभको आम चुनावी अभियान कार्यक्रम अघि मोटरवे सर्भिस स्टेशनमा आफ्नो टिमको लागि म्याकडोनाल्डको ब्रेकफाष्ट अर्डर गरेका थिए । फिल नोबलले खिचेको यो तस्वीर जुलाई २ विहान ६ बजेतिरको हो ।  गेटीमा सुनक म्याकडोनाल्डमा भएका बेला खिचिएका अन्य तस्वीरहरु पनि छन् ।  यो तस्वीर जुलाई २ का समाचारहरुमा नै ब्यापक भएको थियो ।

तरपछि केही प्यारोडी एकाउन्टहरुले पनि सुनकले डेलिभरी ड्राइभरका रुपमा काम सुरु गरेको भन्दै यो तस्वीर हालेका थिए । तर कतिपयले सुनकले साँच्चीकै डेलिभरी ड्राइभरका रुपमा काम सुुरु गरेको पत्याउँदै रिपोष्ट समेत गरेका छन् भने कतिपयले सुनकले आफ्नो परिवारका लागि म्याकडोनाल्ड किनेको भन्दै पोष्ट गरेका छन् । जुन भ्रमपूर्ण रहेको छ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com