दुर्घटनाग्रस्त टाइटन पनडुब्बीमा सवार पाँच जनाको शव समुन्द्रबाट निकाल्न सम्भव होला ?


प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार

यूएस कोस्ट गार्डका जोन माउगर कोस्ट गार्ड बेस बोस्टनमा मिडियासँग कुरा गर्दै। युएस कोस्ट गार्डका अनुसार हराएको पनडुब्बी टाइटानिकको भग्नावशेष नजिकै पसेको थियो र त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । एपी फोटो स्टीवन सेने

टाइटन पनडुब्बी डुबेको खबर पाएपछि अमेरिकी तटरक्षकलाई पनडुब्बीमा सवार पाँच जनाको शव फिर्ता ल्याउन सकिन्छ कि सकिदैन भनेर सोधिएको थियो । यस प्रश्नको जवाफमा कोस्ट गार्डले अवस्था धेरै गाह्रो भएको बताएका थिए ।

पनडुब्बीको भग्नावशेष फेला परेको ठाउँ वरपरको पानीको चाप अत्यन्तै धेरै भएकाले शव निकाल्न असम्भव रहेको विज्ञहरू बताउँछन् । मरिन अटोनोमीका प्रोफेसर ब्लेयर थोरन्टनका अनुशार दुर्घटनास्थलमा भएको पानीको दबाब कसैले पनडुब्बीमा पूरै आइफिल टावर राखे बराबर छ ।

विज्ञहरूका अनुसार पनडुब्बीको संरचनाले मात्रै पनडुब्बीभित्र रहेका पाँच जनालाई पानीको यो चापबाट जोगाउन सम्भव थियो । तर अत्यन्तै धेरै बल प्रयोग गरेर पानीको दबाबबाट जोगाउने कुरा त एकैछिनमा नष्ट हुँदा पानीले एक हजार टन भार जस्तै ठूलो बलले व्यक्तिलाई हिर्काउने विज्ञहरु बताउँछन् ।

फोरेन्सिक जेनेटिक्सका प्रोफेसर डेनिस कोर्टका अनुसार दुर्घटनास्थलमा तुरुन्तै शव निकाल्न निकै गाह्रो छ । अत्याधिक चापका कारण सानो पनडुब्बी संकुचनका कारण फुटेपछि त्यहाँबाट मृतकको शव ल्याउने आशा बाँकी नरहेको उनको भनाई छ ।

सन् १९१२ मा एट्लान्टिक समुन्द्रमा डुबेको जहाज टाइटानिक हेर्न ओशनगेटको पनडुब्बी टाइटनले पाँच जनालाई लिएर गएको थियो तर आइतवार समुद्रमा डुबेको एक घण्टा ४५ मिनेटपछि आफ्नो मातृ जहाज पोलर प्रिन्ससँग सम्पर्क विच्छेद भएको थियो ।

हिजो राति अमेरिकी कोस्ट गार्डले यो पनडुब्बी दुर्घटनाको शिकार भएको बताएको थियो । रियर एडमिरल जोन माउगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६०० फिट तल पनडुब्बीका पाँच भाग भेटिएको बताएका थिए ।

पनडुब्बी टाइटन लिएर समुन्द्रमा गएको मदर शिप पोलार प्रिन्स अहिले दुर्घटनास्थलबाट क्यानडाको न्यूफाउन्डल्याण्ड फर्कदैछ । टाइटनको खोजीमा गएका धेरै जहाजहरू अझै पनि दुर्घटनास्थल नजिकै छन्, तर पोलार प्रिन्स अब सेन्ट जोन्स फर्किरहेको छ । शनिबार बिहानसम्म सामान्य अवस्थामा आउने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com