स्याङ्जामा बाख्राको दूधबाट चीज उत्पादन


प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार

स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको छ । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उहाँले दुई सातादेखि चीज उत्पादन सुरु गर्नुभएको हो ।

गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आउनुभएको छ । उहाँको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन् ।

भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको हो । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ । दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उहाँको लक्ष्य छ ।

“ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ”, उहाँले भन्नुभयो, “भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिक्नुभएको हो । दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उहाँ बताउनुहुन्छ । “अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ”, गुरुङले भन्नुभयो, “अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु ।”

भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आउनुभएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्कनुभयो । बाख्रापालनसम्बन्धी तालिम लिनुभएका गुरुङ भन्नुहुन्छ, “मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।”

गुरुङले २०७० सालमा १२ बाख्राबाट व्यवसाय थाल्नुभएको थियो । बाख्रा खरिद र खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरी व्यवसाय थाल्नुभएका गुरुङ अहिले यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।

नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशील अर्यालले चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । “बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो रहेको छ”, उहाँले भन्नुभयो, “गुणस्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या हुँदैन ।”-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com