क्यानडाका ५२ प्रतिशत जनता राजतन्त्रको विपक्षमा
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार
Pictures of people enjoying the Canada Day celebrations at London’s Trafalgar Square.
यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका छन् ।
गैरनाफामूलक संस्था एङ्गस रिड इन्स्टिच्युट (एआरआई)ले गरेको एक सर्वेक्षणमा सहभागी ५२ प्रतिशत जनताले देशलाई अब संवैधानिक राजतन्त्र आवश्यक नभएको जवाफ दिएका छन् । बेलायतका राजा क्यानडाका राज्य प्रमुख हुन् भने गभर्नर जनरलले देशमा उनको प्रतिनिधित्व गर्दै आएका छन् ।
विपक्षी समूह ब्लक क्युबेकोइसले यस सम्बन्धमा गत वर्ष अक्टोबरमा हाउस अफ कमन्समा प्रस्तुत गरेको प्रस्तावमा भने २७ प्रतिशतले आगामी पुस्ताका लागि संवैधानिक राजतन्त्र रहनुपर्ने मत जाहेर गरेका थिए । क्यारेबियन मुलुक बार्बाडोसले संवैधानिक राजतन्त्रात्मक देशबाट आफूलाई मुक्त गरिसकेको छ भने बेलिज, बहमास, जमैका, ग्रेनाडा, एन्टिगुवा र बाबुडा, सेन्ट किट्स र नेभिसलगायत राष्ट्रमा पनि राजतन्त्र नचाहिने जनमत रहेको छ ।
एआरआईको सर्वेक्षणअनुसार ४८ प्रतिशतले नयाँ राजा चाल्र्सप्रति सकारात्मक दृष्टिकोण राखेर उहाँलाई राष्ट्रप्रमुखका रुपमा स्वीकार गरेका छ भए पनि क्यानडाको मुद्रामा उहाँको तस्बिर नभए पनि हुने अभिमत जाहेर गरेका छन् । महारानी एलिजाबेथप्रति उनीहरूले स्नेह दर्शाएका छन् ।
सर्वेक्षणमा सामेल भएका ६३ प्रतिशतले उहाँप्रति सकारात्मक धारण व्यक्त गरे पनि उहाँका उत्तराधिकारी राजा चाल्र्सप्रति त्यस्तै धारणा देखाएका छैनन् । पैतालीस प्रतिशत उत्तरदाताले भने देशले अब संविधान संशोधन गरेर संवैधानिक राजतन्त्रलाई विश्राम दिनुपर्ने बताएका छन् । यद्यपि त्यसो गर्ने प्रक्रिया जटिल एवम् कष्टकर छ ।





