उत्तर कोरियाद्वारा पुनः लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण


प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार

People sit near a television showing a news broadcast with file footage of a North Korean missile test, at a railway station in Seoul on March 16, 2023. – North Korea fired a “long-range ballistic missile” on March 16, Seoul’s military said, its third launch this week, as South Korean President Yoon Suk Yeol headed to Tokyo to boost ties in the face of Pyongyang’s growing aggression. (Photo by Anthony WALLACE / AFP)

उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा आज गरिएको प्रक्षेपण तेस्रो हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।

“हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्र वरपरबाट प्रक्षेपण गरिएको एउटा लामो दुरीको ब्यालिस्टिक मिसाइल पत्ता लगाएको छ,” दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एएफपीलाई भनेका छन् । उनका अनुसार आज प्रक्षेपण गरिइको क्षेप्यास्त्र इन्टर कन्टिनेन्टल ब्यालिेस्टिक मिसाइल हो । उक्त क्षेप्यास्त्रलाई उच्च गतिमा प्रक्षेपण गरिएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति युनले जापान र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय सहयोग सुदृढ गर्न आह्वान गर्दै उत्तर कोरियाले विवेकहीन गतिविधिको मूल्य चुकाउनुपर्नेछ बताउनुभयो । जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र छ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताउनुभएको छ ।

जापानमा कोरियाली नेताले लामो समयदेखिको दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्ध सुधारको प्रयास गर्नुहुने बताइएको छ । पैतीस वर्ष लामो औपनिवेशिक शासनमा जापानी पक्षबाट भएका अत्याचारका कारण सोल र टोकियोबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

दक्षिण कोरिया र जापानले रक्षा खर्च र संयुक्त सैन्य अभ्यासलाई बढाइरहेका छन् । क्षेत्रीय एवम् विश्वव्यापी स्थायित्वका निम्ति रक्षा खर्च र सैन्य अभ्यास बढाउन आवश्यक भएको राष्ट्रपति युनले बताउनुभएको छ ।

जापान प्रस्थान गर्नुअघि कोरियाली राष्ट्रपतिले उत्तर कोरियालको आणविक एवम् क्षेप्यास्त्रको जोखिम बढिरहेका बेला कोरिया र जापानबीचको सहयोग बढाउनु समयको माग भएको पत्रकारहरूलाई बताउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै छिमेकीहरूलाई चेतावनी दिन जापान शिखर सम्मेलनकै दिन पारेर क्षेप्यास्त्र प्रक्षेपण गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तरले हतियार विकासको औचित्य प्रमाणित गर्ने बहाना खोजी रहेको उनीहरूको टिप्पणी छ ।

छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको उनीहरूले बताएका छन् । उत्तर कोरियाले आज गरेको प्रक्षेपणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्य अझ सुदृढ हुने उनीहरूको तर्क छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो । प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमाण्को पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि उत्तर कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नाउँको अमेरिका–कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहने छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिनुभएको थियो । उहाँले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गर्नुभएको थियो ।

उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन । आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com