मदागास्करमा डुङ्गा डुब्दा २२ आप्रवासीको मृत्यु


प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार

मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लुकिछिपी मायोटेको फ्रान्सेली इलाकातर्फ जाँदै गरेको डुङ्गामा ४७ जना रहेको र उनीहरूको डुङ्गा डुबेको थियो ।”

“उक्त घटनामा २३ जना यात्रुको जीवित उद्धार गरिएको थियो भने २२ जनाको मृत शरिर समुद्रबाट निकालिएको थियो,” विज्ञप्तिमा भनिएको छ । शनिबार भएको उक्त दुर्घटनापछि वेपत्ता रहेका दुई जनाको खोजी तथा उद्धार कार्य जारी छ ।

हिन्द महासागरको मदागास्करको उत्तरमा रहेको फ्रान्सेली क्षेत्र मायोटे हुँदै यूरोप छिर्ने प्रयासमा जोखिमयुक्त बाटोका कारण हरेक वर्ष धेरै आप्रवासीहरूले अकालमा ज्यान गुमाउने गर्छन् ।

फ्रान्सेली अधिकारीहरुका अनुसार सन् २०२१ मा छ हजार ५०० भन्दा बढी मानिसहरूलाई लुकीछिपी उक्त क्षेत्रमा प्रवेश गर्न खोज्दा हिरासतमा लिइएको थियो ।
यस्ता क्रसिङको प्रयास गर्दा कति जनाले ज्यान गुमाएका छन् भन्ने कुराको कुनै व्यावहारिक तथ्याङ्क छैन। सन् २००० को दशकको सुरुतिर प्रकाशित फ्रान्सेली सिनेटको एउटा प्रतिवेदनअनुसार हरेक वर्ष झन्डै एक हजार मानिसको मृत्यु हुने गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com