नारायणी किनारमा तीन सङ्घीय मन्त्रालयका छुट्टाछुट्टै योजना


प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ । शहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २।५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ । रु १९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । खुट्किलाको सतह दुई मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन् । उहाँको भनाइमा माथिल्लो तह ४।५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिने छ । पाँच मिटरको फरकमा विरुवा लगाइने उनले बताए ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । उनले भने, “बाढीले नबगाउने गरी आकर्षक ढङ्गले सिढी निर्माण गरिँदै छ ।” यसले तटबन्धको काम गर्ने, सौन्दर्यकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उनको भनाइ छ । यो तटबन्धका कारण नवलपरासीतर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भरतपुर महानगरपालिकाका इञ्जिनीयर अस्मीता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उहाँका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २।४ किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे्रे सवारी अट्ने दुई वटा पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेको छ । रु छ करोड ५० लाख बजेटमा काम भइरहेको छ ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्ध बाहेकका रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरुपको रु ५० करोडको बोलपत्र आह्वान गरेको छ । आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उहाँका अनुसार झण्डै रु दुई करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ । उनले भने, “हामीले अरु मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौँ ।”

स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनःजोडेर यसवर्ष सोही गुरुयोजना अनुसारका रु ५० करोडका कामअघि बढेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती तीन मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताइन् । उनका अनुसार सुरुमा पदमार्गलगायत काम महानगरकै बजेटबाट थालिएको हो । महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरुयोजनाअनुसार सङ्घीय मन्त्रालयले सहकार्य गरेको उहाँको भनाइ छ । काम नजुध्ने गरी व्यवस्थित ढङ्गले अघि बढाइने दाहाल बताउँछिन् ।

महानगरको सहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ । दाहालले भनिन्, “म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।”

सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उहाँको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्वपूर्ण गन्तव्य बन्नेछ । धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताए । उनले नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताए । नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उनले बताइन् । पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com