मानव बेचबिखनविरुद्ध घरघर, टोलटोलबाट आवाज उठाउनु जरुरी छ : निर्देशक भट्टराई
प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार
आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवस । सार्कको ११ औँ सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भएपछि त्यहि दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । आज नेपालमा ‘तीनै तहको सरकार : बेचविखन विरुद्ध जिम्मेवार’भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि यो दिवसलाई मनाईँदै छ । नेपालमा मानव बेचबिखनको हालको अवस्था, प्रकृति र सुधार गर्नुपर्ने कुराहरुलाई लिएर उद्धार र शान्ति फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक इन्द्रराज भट्टराईसँग खसोखासले गरेको कुराकानीको सम्पादित अशं :
नेपालमा बेचबिखन तथा ओसारपसारको पछिल्लो अवस्था के छ ?
– वास्तवमा हामी भाद्र २० गते नेपालमा हरेक वर्ष मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने गर्छौ । यो राष्ट्रिय दिवसको सन्दर्भमा यस पटक नेपाल सरकार र सँगसँगै प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि कार्यक्रम आयोजना गर्ने गरेको पाईन्छ । सँगसँगै नेपाल यो क्षेत्रमा मानवबेचनविरुद्धमा धेरै संघसंस्थाहरु क्रियाशील पनि छन् । हामी एउटा राज्यले आफ्ना नागरिकहरुको सुरक्षाको निम्ति, विशेष गरेर मानब बेचबिखन र मानव तस्करीको अन्त्यको निम्ति कसरी काम गरेको छ । सँगसँगै अरु सामाजिक संस्थाहरुको भूमीका के छ भन्ने सन्दर्भमा पनि केही कुराहरु छलफल गर्नु जरुरी छ जस्तो मलाई लाग्छ ।
विभिन्न सामाजिक संस्थाहरुले नेपाल–भारतको सीमा नाकामा बसेर त्यो सीमाबाट पार गर्दै गरेका महिला र बालबालिकाहरुको सुरक्षाको निम्ति काम गर्दै गरेको अवस्था पनि छ । म पनि लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध हुँदै काम गर्दै गर्दा ती कामहरुमा प्रत्यक्ष रुपमा संलग्न पनि भएको छु ।
प्रायः नेपालबाट कुन–कुन देशमा मानव तस्करी तथा मानव बेचबिखन हुने गरेको पाईएको छ ? उनीहरुलाई के–कस्ता काममा लगाइएको पाउनुभएको छ ?
– नेपालको सन्दर्भमा हेर्दा खेरी धेरै जस्तो वेचबिखन भारत र अन्य मुलुकमा हुने गर्दछ ।नेपाल र भारतको खुला सीमानाले गर्दा विभिन्न नाममा नेपाली महिला, बालबालिकाहरुलाई विभिन्न नाममा भारत पुर्याइन्छ र भारतहुँदै अन्य मुलुकमा लैजाने प्रचलन त्यत्तिकै छ । मानवतस्करी पनि हुने गर्छ, मानवबेचबिखन पनि हुने गर्छ । महिलाहरुलाई यौन व्यवसायको नाममा भारतका विभिन्न कोठिहरुमा बेच्ने प्रचलन थियो, त्यो रोकिएको त छैन् नै । अहिले हामीले हेर्यौ भने त्यसका आयामहरु फरक ढंगले अगाडी बढिरहेका छन् ।
विशेषगरी बेरोजगारीको चपेटामा परेका नागरिकहरुलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याउने, भारतमा बेचबिखन गर्ने त्यसगरी बालबालिकाहरुलाई विभिन्न श्रमशोषणमा लगाउने, कोइला खानीमा लगाउने तथा हातहतियार र लागूऔषध ओसारपोसारमा लगाउने खालका काम भइराखेको हामीले देखेका छौं ।
र, महिलाहरुको सन्दर्भमा हेर्दा खेरीविशेष गरी बरोजगार महिलाहरु रोजगारीको लागि विभिन्न मुलुकहरुमा जान खोजिरहेको हामी देखिरहेका हुन्छौं । खाडी मुलुकमा जाने सन्दर्भमा चाँही नेपाल सरकारले २०७४ देखि खाडी मुलुकमा घराएसी काममा जाने प्रचलनलाई बन्द गरेतापनि बाध्यताबस धेरै महिलाहरु भारतको बाटो हुँदै म्यानमार, श्रीलंका बंगलादेश हुँदै खाडी मुलुक जाँदै गर्दा बेचबिखन तथा तस्करी साथै विभिन्न कानूनी झमेलामा परेर जेल जीवन पनि बिताइरहेको अवस्था हामीले अहिले देख्ने गरेका छौं ।
बेचबिखन तथा तस्करीमा परेकाहरुको उद्धारका बारेमा धेरै गुनासाहरु आउने गरेको पाईन्छ । यसमा तपाईहरुको आफ्नो अनुभव कस्तो छ ?
– विशेष गरी सम्बन्धित जो पीडितहरु हुनुहुन्छ, प्रभावितहरु हुनुहुन्छ उहाँहरुको परिवारबाट विभिन्न ढंगले सामाजिक संघसंस्थाहरुमा अथवा नेपाल सरकारका सम्बन्धित निकायहरुमा जानकारी अथवा निवेदनहरु आउने गर्छन् । त्यो आइसकेपछि नेपाल सरकारले महिला मन्त्रालयमा मानव बेचबिखनविरुद्धको राष्ट्रिय समिति निर्माण गरेको छ । म आफै पनि त्यो राष्ट्रिय समितिमा काम गर्दै गर्दाको अनुभव के हुन्छ भने त्यो राष्ट्रिय समितिमा हामी छलफल गर्छौ । छलफल गरिसकेपछि उद्धारको निर्णय हुन्छ र नेपाल सरकारका परराष्ट्र र अरु कन्सुलर अफिसहरु छन् । तीनहरु मार्फत समन्वय गर्छौ । र, भारतको सन्दर्भमा कुरा गर्दा, त्यहाँ क्रियाशील नेपाली संघसंस्थाहरु, भारतीय प्रहरी, महिला आयोग लगाएतका जुन निकायहरु छन् । उनीहरुसँग समन्वय गरेर राजदुतावासको पनि सहकार्यमा चाँही उद्धार गर्ने उहाँहरुलाई चाँही नेपाल ल्याउने र नेपालका विभिन्न सेल्टरहरुमा राख्ने र परिवारमा पुर्नमिलन काम हुने गरेको छ ।
अघिल्लो वर्षहरुको तुलनामा अहिले मानव बेचबिखन तथा तस्करीका घटना घटेको देखिएको छ । यसमा तपाईलाई के लाग्छ ? – हामीले तथ्याङलाई हेर्ने हो भने राज्यले अहिलेसम्म एकिकृत तथ्याँक निर्माण गर्न सकेको छैन् । मैले आफैले नेपाल सरकारको महिला मन्त्रालयको यो वर्षको मानव बेचबिखनविरुद्धको राष्ट्रिय प्रतिवेदन बनाउने काममा मैले नेतृत्व गर्ने जिम्मेवारी पनि प्राप्त गरेको थिए । त्यो हेर्दा खेरी चाँही हजारौको संख्यामा उद्धार भएको छ । विदेशबाट हेर्दा खेरी सयौंको संख्यामा उद्धार भएको अवस्था छ ।
ठ्याक्कै यति डाटा भन्दा पनि घटनाको प्रकृतिले विशेष गरि : पहिले मानवबेचबिखन के हो भन्दा ठ्याक्कै भन्न सक्ने अवस्था हुन्थ्यो अहिले आएर हेर्दा खेरी वैदेशिक रोजगारी पनि मानवबेचबिखन हो,भन्ने अर्थमा चाँही त्यो बुझिएको छ । कानूनी रुपमा, प्रष्ट रुपमा चाँही त्यसलाई कानूनी ढंगले मुद्धा सम्म लैजाने अवस्था हुन सकेको अवस्था छैन् । अहिले हामी हेर्यौ भने दशौं हजारको संख्यामा बेचबिखन हुने गरेको छ । तर, प्रहरीमा दर्ता भएको मुद्धा हेर्ने हो भने २ सय देखि ३ सयको हाराहारीमा छ । यसले गर्दा संख्या घटेको होकी जस्तो लाग्न सक्छ तर प्रकृतिको हिसाबले बेचबिखनमा स्वरुपहरु विभिन्न ढंगले बढिरहेको देख्दा मानव तस्कर घटेको छैन् ।
तपाईहरु आफै उद्धारमा लाग्नुहुन्छ, यसमा कस्ता कस्ता प्रकृतिका घटना पाईने गरेको छ ?
-हामीले घटनाको प्रकृतिलाई हेर्दै गर्दा मैले आन्तरिक बेचबिखनलाई पनि हेर्नुपर्छ जस्तो लाग्छ । नेपाल भित्रै हामीले देखेका छौं । हाम्रा दिदी–बहिनी, हाम्रा चेलिबेटीहरु नेपालभित्र सहरी इलाकाहरुमा बेचनबिखनमा परेका छन् । यहाँ पनि यौन व्यवसाय हुने गरेको छ । एउटा प्रकृति त्यो भयो ।
अर्को हामीले भारत कै र अन्य मुलुकको सन्दर्भमा हेर्दा खेरी एउटा वैदेशीक रोजगारीको प्रलोभनमा पारेर उनीहरुलाई त्यहाँ सम्म पुर्याउने, विभिन्न बाहानामा हिंसा गर्ने, बेचबिखन गर्ने, तस्करी गर्ने कामहरु भइराखेका छन् । अर्को त हामीले नेपाल–भारतको सीमामा हेर्यौ भने कतिपय त बलिदिने नेपाली यूवतीहरुलाई चाँही भारत लैजाँदै गरेको हामीले देखेका छौं । यौन व्यवसाय पुरानै प्रवृति भइहाल्यो सँगसँगै बालबालिकाहरुको यौन शोषण, श्रमशोषण लगाएतका कुराहरु त्यहाँ आउने गरेका छन् ।
अहिले चाँही बेचबिखनको प्रकृतिको बारेमा हेर्यौ भने यौन व्यवसायमा पनि हिजो जसरी कोठि सञ्चालन गरेर यौन व्यवसाय गर्ने त्यसबाट व्यवसायको रुपमा पैसा कमाउने धन्दाको रुपमा प्रयोग गरिन्थ्यो भने आज त्यति मात्र नभएर कोठिको सट्टा विभिन्न ढंगले, विभिन्न नाममा महिलाहरुलाई यौन शोषण गर्ने र यौन व्यवसायमा लगाउने र बिक्रि गर्ने काम भइराखेको छ ।
मानव बेचबिखनमा परेकाहरुको उद्धार, रोकथाम र नियन्त्रण, सरकारको प्रयासलाई कस्तो पाउनु भएको छ ? साथै, तपाईको विचारमा सरकारको तर्फबाट सुधार गर्ने कुराहरु के–कस्ता छन् ?
-नेपाल सरकारले गरेको प्रयासलाई पनि सराहनीय सम्मान पनि गर्न चाहान्छु । हामीसँग मुख्य कुरा कानून थिएन् । २०६४ सालमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन बन्यो । २०६५ मा नियमावली बन्यो । र विभिन्न खालका कार्यविधिहरु पनि निर्माण भएको छ । राष्ट्रिय समिति निर्माण भएको छ । सँगसँगै नेपाल सरकारले नेपाल प्रहरीमा मानवबेचबिखन अनुसन्धान व्यूरो भनेर छुट्टै व्युरोको गठन गरेको छ । जसमा झण्डै ६०–७० जना प्रहरीले बेचबिखनको घटनामा काम गर्ने अवस्था निर्माण भएको छ । अनुसन्धानको काम भएको छ । उद्धारका काम भएका छन् । सरकारी तबरबाट त्यस्ता प्रयासहरु भएका छन् ।
हामीलाई के लाग्छ भने, सरकारले सबै मन्त्रालयहरु र सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर छिट्टो भन्दा छिटो यो अभियानलाई ७५३ वटै स्थानीय तहसम्म पुर्याउने, ७६१ वटै सरकारहरु यसको पक्षमा काम गर्नुपर्ने जरुरी देखेका छौं । हाम्रा थुप्रै दिदीबहिनीहरु भारतमा बेचबिखनमा परेको सरकारका थुप्रै निकायहरुलाई थाहा छ । तपाई म दुःखका साथ भनौं, दिल्लीको जिबी रोड भन्ने ठाउँमा २ वटा त्यस्ता कोठिहरु छन्, कोठि नं. ६४ र ५६ जहाँ नेपाली युवतीहरुलाई मात्रै राखेर यौन व्यवसाय गरिएको छ । नेपाल सरकारका निकायहरुलाई यो थाहा छ । हामीले बारम्बार उहाँहरुलाई झकझकाउने काम गरिरहेका छौं । ती नेपाली दिदीबहिनीहरुलाई नेपाल ल्याउनको लागि भारत सरकारसँग हामी पहल गरौं भनेर धेरै पहल र प्रयास जारी गरेका छौं । यस्ता कामहरु हुन जरुरी छ । हरेक घरघरबाट बेचबिखनविरुद्धको अभियानलाई सुरु गर्नु जरुरी छ । हामी सबै मिले मात्र यो समस्याको समाधान गर्न सकिन्छ । बेचिएका ती यूवतीहरु मेरा आफन्ती हुन् भन्ने दृष्टिकोण हरेकमा हुनुपर्ने जरुरी छ र सरकारको नेतृत्व गर्नेहरुले यसका गम्भीर ध्यान पर्ने जरुरी छ ।
अर्को महत्वपूर्ण विषय मैले अहिले पनि के देखेको छु भने, यो बेचबिखनको सन्दर्भमा जति मुद्धा दर्ता छन् । ति मुद्धाहरु जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा चाँग लागेर बसेका छन् । मुद्धाको फैसला भएको अवस्था छैन् । एउटा पीडित प्रभावितले ८/१० वर्षदेखि मुद्धामा गइराखेको छ । उसले न्याय पाएको अवस्था छैन् । कतिपय अपराधीहरु मिलेमतोमा छुटेको अवस्था छ । यस्ता चिजहरुलाई म न्यायाधिवक्ताको कार्यालयलाई जोडदारका साथ के भन्न चाहान्छु भने न्यायाधिवक्ताको कार्यालयले यी घटनाहरु, यी केशहरुलाई छिटो भन्दा छिटो फैसला गराउन पहल चाल्नु पर्छ ।
नागरिकहरुलाई यसबाट जोगिन कस्तो सुझाव दिन चाहानुहुन्छ ?
– हामीले सोचौं हरेक व्यक्त जुनसुकै व्यक्ति, जुनसुकै समयमा, जहाँबाट पनि बेचबिखनमा पर्न सक्छ । पहिलो कुरा, हामी आफै सचेत बनौं, अरुलाई सचेत बनाउने काम गरौं । वडा तहदेखि संघीय सरकारसम्म खबरदारी गर्ने पहलकदामीलाई अगाडी बढाउने काम गरौं । हामी सबै मिल्यौं भने, हातमा हात मिलायौं भने यो समस्याको समाधान गर्न सकिन्छ ।
फेरी अन्त्यमा भन्न चाहान्छु, हरेक पुरुष जिम्मेवार हुन जरुरी छ । हरेक पुरुषले महिला तथा बालबालिकाहरुलाई माया, सम्मान गर्न जरुरी छ । हरेक नागरिकले बेचबिखनमा परेका प्रभावितहरु मेरै आफन्त हुन्, मेरै परिवार हुन् भनेर लाग्न जरुरी छ र उनीको पक्षमा काम गर्न जरुरी छ । तपाई हामी सबै मिलेर यो आवाज उठायौं भने घरघरबाट, टोलटोलबाट, वडावडाबाट आवाज उठायौं भने यो समस्याको समाधान गर्न सकिन्छ र नेपाललाई मानवबेचबिखनमुक्त मुलुक निर्माण गर्न सकिन्छ र त्यो अभियानमा जुट्नको लागि सबैलाई हार्दिक आह्वान गर्न चाहान्छु ।





