जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका आलमलाई कांग्रेसले टिकट नदिने संकेत
प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस नेता अफताव आलमलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने संकेत गरेका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ लोकापर्ण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
सोही कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए । पाण्डेले गगन जी आबद्ध पार्टीले आलमलाई चुनावमा लडाउनु भन्दा ठूलो पीडा केही नहुने बताउँदै कुनै समय यसलाई लेख्ने बताएका छन् ।
पाण्डले भनेका थिए, ‘हाम्रो गगन जी आबद्ध पार्टीले अफताव आलमलाई चुनावमा लडाउँदै छ । यो भन्दा ठूलो पीडा के होला र हामीले कुन न कुनै समय यो पीडालाई पनि लेख्ने छौं ।’

जवाफमा कांग्रेस महामन्त्री थापाले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी गरे । उनले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका निर्णयहरु पार्टीले नगर्ने विश्वस्त पारे ।
थापाले जवाफमा भने, ‘संविधानले, विधानले बर्जित गरेको मात्र होइन्, नैतिकताको कसिमा राखेर हेर्दा खेरी छाती ठोकेर हो यो निर्णय मैले गरेको हो, हामिले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन्, यति कुरा आश्वस्त पार्छु ।’
जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले बुधबार प्रतिनिधि सभाको उम्मेदवारका लागि नाम सिफारिस गरेको थियो ।





