महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै


प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार

–शेरबहादुर सिंह/ नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो ।

महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने छ । तर भारतले निर्माण गर्ने नहरको अझै टुङ्गो छैन । नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर निर्माण गर्ने भएको छ ।

महाकाली पारीको दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले शारदा बैराज (नहर)बाट सन्धिअनुसार पानी उपलब्ध गराउनुपर्ने छ । सन्धि भएको २७ वर्ष वित्दा समेत भारतले शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमासम्म भारतले एक हजार १०० मिटर मूल नहरसँगै अन्य संरचना समेत निर्माण गर्नुपर्ने हुन्छ ।

डेढ दशकअघिदेखि ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर निर्माण थाले पनि आयोजनाले पनि दोधारा चाँदनीतर्फ मूल नहर बनाउनुपर्ने विषय प्राथमिकतामा राख्न सकेको थिएन । पछिल्लो समय सिँचाइ आयोजना आफ्नो भूमिमा मूल नहर निर्माण गर्न अग्रसर भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितले दोधारा चाँदनीमा चालु आर्थिक वर्षमा नै नहर निर्माण गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“भारतीय पक्षले सन्धिअनुसार त्यहाँ बनाउनुपर्ने नहर र संरचना निर्माण गर्न कुनै सुरसार गरेको छैन”, उहाँले भन्नुभयो, “नेपाल–भारतका अधिकारीबीच हुने संयुक्त बैठकमा उक्त विषयमा छलफल हुने गरेको भए पनि निकास भने दिइएको छैन ।” सन्धिअनुसार भारतले दोधारा चाँदनीलाई तीन हजार ५०० हेक्टर क्षेत्रफलका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । सन्धिको ४ नं बुँदामा दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ ।

“बुदा नं ३ मा पञ्चेश्वर परियोजनाको विषय रहेकाले बुँदागतरूपमा कार्यान्वयन गरौँ भन्नेमा भारतको जोड देखिन्छ”, सिँचाइ स्रोतले भन्यो, “पञ्चेश्वर नबन्दासम्म दोधारा चाँदनीलाई पानी दिने विषयमा भारतीय पक्ष तयार देखिँदैन ।” यता सिँचाइ आयोजनाले भने भारतमाथि दबाब बढाउन पनि आफ्नो भूमिमा एक हजार २०० मिटर मूल नहर निर्माणको काम अघि बढाउँदै छ ।

“नहर खनिने क्षेत्रको मुआब्जाका लागि सूचना सार्वजनिक गरिसकेका छौँ”, इञ्जीनियर पण्डितले भन्नुभयो, “चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया सकेर ५०० मिटर नहर बनाइसक्ने गरी योजना अघि बढाएका छौँ ।” वर्षात्मा हरेक वर्ष महाकाली र जोगबुढा नदीको बाढीको त्रास दोधारा–चाँदनीका बासिन्दालाई रहन्छ । बाढीमा पानी उपलब्ध हुने गरेपनि आवश्यक पर्दा भने त्यहाँका बासिन्दाले बोरिङको पानीको सहारा लिनुपर्ने बाध्यता छ ।

“छेउमै महाकाली बगेर के गर्नु, हामीलाई एक थोपा पानी छैन”, दोधारा चाँदनी नगरपालिका–१ का नरबहादुर थापाले भन्नुभयो, “६ महिनामै गर्ने काम भारतीय पक्षले २७ वर्षसम्म पनि अघि बढाएको छैन ।” उहाँले शारदा नहरबाट पानी उपलब्ध गराउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । झण्डै २६ हजार मतदाता रहेको दोधारा–चाँदनी कुनै समय कञ्चनपुरकै विकट क्षेत्रका रुपमा चिनिन्थ्यो । महाकाली नदीमा एशियाकै लामो झोलुङ्गे पुल बनेपछि उक्त क्षेत्र मुलुकको मूलप्रवाहमा आएको छ ।

हाल महाकाली नदीमा चार लेनको पक्की पुल बन्दै छ । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्ने भएपछि सो क्षेत्रको मुहार नै फेरिएको छ । भारतले पनि सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलसित सडक सञ्जाल विस्तार गरे दोधारा–चाँदनी सुदूरपश्चिम प्रदेशको आर्थिक नाकाको रुपमा चिनिने निश्चित छ । दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बू दोधारा चाँदनीमा नहर निर्माणको काममा ढिलाइ गर्न नहुने बताउनुहुन्छ ।

“नहर निर्माणपछि किसानलाई खेतीपाती गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “नहर निर्माणपछि आकासे पानी र बोरिङका भरमा बस्नुपर्ने बाध्यता हट्नेछ ।”

नेपालले ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत हालसम्म झण्डै २८ किलोमिटर मूल नहर निर्माण गरेको छ । विसं २०६४ देखि उक्त नहर निर्माण गर्न थालिएको हो । भारतीय पक्षले भने नेपाल सीमासम्म भर्खरै एक हजार दुई सय मिटर नहर निर्माण गरेको छ । भारतले उक्त नहर दुई वर्षमा निर्माण गरेको हो । अब चाँडै उक्त नहरमा महाकालीको पानी बग्ने आयोजनाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com