अमेरिकी उप विदेशमन्त्री जेया काठमाडौंमा, १० बर्षपछिको उच्चस्तरीय भ्रमण, चीनको चासो
प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार
तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी कुटनीतिज्ञ उजरा जेया आज दिउसो नेपाल आइपुगेकी छिन् । मे १७ मा भारत आएकी उनी आज नेपाल आएकी हुन् ।
शनिबार उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत राजनीतिक दलका उच्च नेतृत्वलाई भेट्ने कार्यक्रम तय भएको छ । उनी आइतबार फर्कनेछिन् । भारतीय मुलकी जेयालाई राष्ट्रपति जो बाइडेनले नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारका लागि अमेरिकी उपविदेशमन्त्री नियुक्त गरेका थिए ।
मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यमा सहयोग गहिरो बनाउन र मानवीय प्राथमिकतालाई अगाडि बढाउन उनको भ्रमण फलदायी हुने अमेरिकी विदेश मन्त्रालयले विश्वास लिएको छ । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि नेपालसँग सहकार्य गर्ने विषयमा समेत छलफल गर्नेछिन् ।
यो भ्रमण मानवअधिकारका प्राथमिकतालाई अगाडि बढाउनमा केन्द्रीत रहेको समेत विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई जानकारी दिएका छन् । टिममा युएसएआईडीका एसियाका लागि कार्यवाहक सहायक प्रशासक अन्जली कौर समेत रहेकी छिन् ।
भारतको धर्मशालास्थीत तिब्बती धर्मगुरु दलाई लामासँगका भेटवार्तासहितका कार्यक्रम सकेर उनी नेपाल आएकी हुन् ।
चीनको चासो
जेयाको यो भ्रमणप्रति बेइजिङले आफ्नो चासो प्रकट गरेको छ।
बिहीवारको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भने, -‘तिब्बतसम्बन्धी अमेरिकी विशेष संयोजक भनिएको त्यो नियुक्ति नै चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप हो। चीनले यसलाई जोडदार रूपमा विरोध गरिरहेको छ र कहिल्यै पनि स्वीकार गरेको छैन।’
उनले तिब्बत चीनको अङ्ग रहेको भन्ने आफ्नो प्रतिबद्धता अमेरिकाले स्वीकार गर्नुपर्ने र तिब्बतसँग जोडिएका विषयका नाममा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताए।
१० बर्षपछिको उच्चस्तरीय भ्रमण
नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ बर्ष पुगेको अवशरमा यो भ्रमण आयोजना गरिएको हो । विगतमा अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गरेपनि यो स्तरको भ्रमण भने १० बर्षपछि भएको हो ।
सन् २०१२ मा अमेरिकी उपविदेशमन्त्रीहरु वेन्डी शम्र्यान र मारिया ओटेरोले नेपालको भ्रमण गरेका थिए । अमेरिकी विदेशमन्त्रालयमा उपविदेशमन्त्री तेश्रो उच्च पद हो । उपविदेशमन्त्री पद अमेरिकी विदेशमन्त्री र कार्यवाहक विदेशमन्त्रीपछिको तथा सहायक विदेशमन्त्रीभन्दा माथिको उच्च पद हो ।
अमेरिकाले आर्थिक सहायता फण्डमार्फत कम्तीमा अर्को ८० लाख अमेरिकी डलर नेपाल र भारतमा रहेका तिब्बतीहरुको संस्कृति र भाषाको संरक्षणका लागि प्रदान गर्ने बृहत खर्च विधयेक गत मार्चमा पारित गरेको थियो ।
यसै महिनाको सुरुमा एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेका थिए । उनले नेपालका अधिकारीहरुसँग भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरेका थिए ।
गतमहिना अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेका थिए । उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ काठमाडौंमै थिइन्।





