लैङ्गिक पहिचानको नागरिकतामा चिकित्सकको प्रमाणपत्रको व्यवस्थाप्रति आपत्ति


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता प्रमाणपत्र दिने व्यवस्था गरे पनि नेपाल नागरिकता ऐन संशोधन विधेयकमा चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएकामा अभियानकर्मीले आपत्ति जनाएका छन् ।

विधेयकमा महिला, पुरुष र अन्यको मात्र व्यवस्था गरेकामा आज राजधानीमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रमका सहभागी लैङ्गिक पहिचान अभियानकर्मीले आपत्ति जनाएका हुन् । अभियानकर्मी रुक्सना कपालीले गृह मन्त्रालयले नागरिकता वितरण सम्बन्धमा अन्य लिङ्गी निर्देशिका बनाएकामा त्यसमा स्व अनुभूतिका आधारमा नागरिकता दिने व्यवस्था नभएको बताउनुभयो ।

यसका लागि नागरिक समाजका तर्फबाट लैङ्गिक पहिचानसम्बन्धी मस्यौदा विधेयक, २०७८ तयार पारिएकाले संसद्मा पेश गरी पारित गर्ने वातावरण बनाउन संसद्लगायत सरोकार भएका निकाय एवं व्यक्तिको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

अभियानकर्मी मनिषा ढकालले संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता दिनू भने पनि त्यसअनुसारको कानुन नबनेकाले कार्यान्वयनमा कठिनाइ भएकोे बताउनुभयो । संविधानविपरीत जिल्ला प्रशासन कार्यालयले लिङ्ग परिवर्तनको कागजात माग गर्ने गरेकामा उहाँले आपत्ति जनाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियानकर्मी इशान रेग्मीले २०७६ माघ २९ गते पार्वतीकुमारी रेग्मीको नामको नागरिकता बाजुरा जिल्ला प्रशासन कार्यालयबाट परिवर्तन गर्नुभएको थियो । लिङ्ग परिवर्तन गरी नागरिकता लिने संविधानको व्यवस्था कार्यान्वयनका लागि धेरै कठिन भएको उहाँले सुनाउनुभयो ।

नागरिकतामा एलिना भण्डारी नाम भए पनि स्व अनुभूतिका आधारमा पुरुषको अनुभव गर्नुभएका एलिन भण्डारीलाई अर्कैको नागरिकता बोकेजस्तो लाग्ने गरेको छ । विधेयकमा रहेको लिङ्ग परिवर्तनका लागि चिकित्सकको प्रमाणपत्र चाहिने व्यवस्था हटाउन पनि उहाँले माग गर्नुभयो ।

लिङ्ग पहिचानको नागरिकता लिने क्रममा आफूले तीनवटा नागरिकता पाएको भूमिका श्रेष्ठले सुनाउनुभयो । पुरुष, महिला वा अन्यमध्ये अन्यको राहदानी लिएर आफूले नेपालबाट पहिलोपटक हवाई यात्रा गरेको पनि उहाँले सुनाउनुभयो ।

अभियानकर्मी सरिता केसीले विधेयकमा लिङ्ग परिवर्तनको नागरिकता लिन चिकित्सकको प्रमाणपत्र चाहिने व्यवस्था सरोकार भएकासँग छलफल नगरी ल्याएकाले यसले समस्या ल्याउने अनुभव सुनाउनुभयो । नीति, निर्मातालाई यससम्बन्धी शब्दावली नै थाहा नभएकाले समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ । सरोकार भएका व्यक्ति र संस्थासँग छलफल गरेर विधेयकको यो प्रावधान संशोधन गर्न अभियानकर्मीको साझा माग छ ।

कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्यालले लैङ्गिक पहिचानमा स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था हुनुपर्ने बताउनुभयो । लिङ्ग परिवर्तन गर्न विदेशमा जानुपर्ने, खर्च जुटाउन नसकिनेजस्ता कारणले यो कठिन हुने उहाँको भनाइ थियो ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालको संविधान २०७२ को धारा १२ मा लैङ्गिक पहिचानका आधारमा नागरिकता पाउने व्यवस्था गरिए पनि कानुन नबनेकै कारण कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । संविधानमा पहिलो वर्षमै बाझेका कानुन खारेज भई अर्को कानुन बन्ने उल्लेख भएपनि अझै कार्यान्वयन हुन नसकेको उहाँले सुनाउनुभयो ।

संविधानको धारा ३०४ अनुसार २०७५ फागुन २५ गते नै नागरिकता ऐन आउनुपर्नेमा त्यो हुन सकेन । कानुन बनिसक्नुपर्ने बेलामा विसं २०७५ मा संसद्मा विधेयक प्रस्तुत भयो । विधेयक दुई वर्षसम्म प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अड्क्यो ।

विसं २०७७ मा संसद्मा पेश भएको विधेयक अझै पारित हुनसकेको छैन । संसद्को चालु अधिवेशनमा विधेयक पारित गर्ने गरी राजनीतिक दल, सरकार र शीर्षनेताका बीच छलफल भइरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com