प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेकी महतोले गाडिन झण्डा
प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बन्नुभएकी ताराकुमारी काजी महतो विजयी हुनुभएको छ । महतोले नौ हजार ९०१ मत ल्याउनुभएको छ । उहाँले माओवादी केन्द्रका ऋषि काफ्लेले सात हजार ७२९ मत प्राप्त गर्नुभएको थियो । ताराकुमारी विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार हजार ६९० मतका साथ उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेललाई एक हजार ६९० मतका अन्तरले निर्वाचित हुनुभएको हो । उहाँले ६ हजार ८३० मत प्राप्त गर्दा राप्रपाका पौडेलले पाँच हजार १४० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याउनुभएको छ । महतो यसअघिको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा प्रमुख पदमा झिनो मतले पराजित हुनु भएको थियो ।
एमालेले सो पालिकामा एक वडाध्यक्षसहित प्रमुख र कांग्रेसले उपप्रमुख मात्र जित्न सफल भएको छ । वडाहरुमा माओवादी केन्द्रले चारवटा, नेकपा समाजवादीले दुईवटा र राप्रपाले दुई वटामा विजयी हासिल गरेका छन् । माडीमा २० हजार ४९६ मत खसेको थियो ।





