अमेरिकामा झण्डै २ सय मिलियनले भ्याक्सिन लगाइसकेपछि सीडीसीले भन्यो -‘८ हप्ताको अन्तर उपयुक्त’
प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार
अमेरिकन सीडीसीले कोरोनाविरुद्धका भ्याक्सिन मोडेर्ना वा फाइजरको पहिलो डोज लगाएको ८ हप्तापछि दोश्रो डोज लगाउन उपयुक्त हुने बताएको छ । अमेरिकामा झण्डै २ सय मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन मोडेर्ना र फाइजरको पूर्ण डोज लगाइसकेको सन्दर्भमा सीडीसीको नयाँ सुझाव आएको हो ।
यस अगाडि फाइजरको पहिलो डोज लगाएको तीनसातापछि र मोडेर्नाको पहिलो डोज लगाएको ४ सातापछि दोश्रो डोज लगाउन सिफारिस गरिएको थियो । तर मायोकार्डिटिसको जोखिम कम गर्न दुईडोजबीचको अन्तर ८ हप्तासम्म हुन उपयुक्त हुने भन्दै नयाँ निर्देशिका जारी गरिएको हो । यद्यपी विगतको समयान्तरमा लगाएको भ्याक्सिन पनि सुरक्षित र प्रभावकारी रहेको सीडीसीले जनाएको छ ।

कोरोनाविरुद्धको एमआरएएन भ्याक्सिनको दोश्रो डोज लगाइसकेपछि मायोकार्डिटिसका दुर्लभ केसहरु रिपोर्ट गरिएको थियो । १२ देखि ३९ बर्षसम्मका पुरुषहरु यसको सबैभन्दा धेरै जोखिममा देखिएका छन् । पहिलो र दोश्रो डोजबीचको अन्तर लामो राख्दा मायोकार्डिटिसको जोखिम कम हुने सीडीसीले ठहर गरेको हो ।
६५ बर्षभन्दा माथिका र प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई भने अहिले पनि तीनदेखि चारसाताको अन्तरमा खोप लगाउनुपर्ने सीडीसीको सुझाव छ । ११ बर्षभन्दा कम उमेरका बच्चाका सन्दर्भमा भने कुनै तथ्यांक उपलब्ध छैन । दोश्रो डोज लगाएको ५ महिनापछि भने प्राय सबैलाई बुस्टर डोज सिफारिस गरिएको छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुलाई भने २ महिनापछि बुस्टर डोज सिफारिस गरिएको छ ।
के हो मायोकार्डिटिस ?
मायोकार्डिटिस मुटुको मांशपेशीमा हुने एकप्रकारको संक्रमण हो । मांशपेशी सुन्निदा मुटुले पम्प गर्ने क्षमतामा कमी आउनसक्छ । जसका कारण मुटुको चाल बढ्ने वा मुटुको रिदम अनियमित हुने हुनसक्छ ।
थकान महसुस हुने, मुटुको चाल अनियमित हुने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्नेमात्र नभई हातखुट्टा सुन्निने, जोर्नी दुख्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षणहरु समेत देखिन सक्छन् । मुटुको काम गर्ने क्षमतामा कमी भएर शरीरका अन्य भागमा रगत संचार नहुने र मुटुमा रगतका थोपा जमेर हृदयघातसमेत हुनसक्ने हुन्छ ।
मायोकार्डिटिस सुरुको चरणमा रहेको छ भने लक्षण नै नदेखिने समेत हुनसक्छ । स्वास फेर्न गाह्रो भएमा वा छाती दुखेमा मात्र पनि मेडिकल सहायता खोजिहाल्नुपर्छ ।





