अमेरिकाको अस्थायी कृषि कामदार भिसा १५ दिनमा, सुचीमा नभएपनि नेपाली कसरी योग्य हुनसक्छन्?


प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार

युएससीआईएसले अमेरिकाको अस्थायी कृषि कामदार भिसा एच टु ए आवेदनबारे निर्णय १५ दिनभित्र दिने गरेको छ । कृषि कामदारको महत्वलाई ध्यानमा राख्दै युएससीआईएसले १५ दिनभित्र निर्णय वा थप कागजात पेश गर्नका लागि सुचना दिने गरेकोमा यदि उक्त अवधिभित्र निर्णय वा थप कागजात पेश गर्नका लागि सुचना नआएमा युएससीआईएसको ग्राहक सेवा केन्द्रमा तुरुन्त सम्पर्क गर्न सुझाव दिइएको छ ।

अमेरिकाको अस्थायी कृषि कामदारका लागि नेपाललाई योग्य देशमा सुचिकृत गरिएको छैन । तर यस्तो आवेदनको लाभार्थी बन्नु अमेरिकाको हितमा रहेको छ भन्ने निर्धारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गरेको खण्डमा भने सुचीमा नभएका देशका व्यक्तिको अस्थायी कृषि कामदार भिसा स्वीकृत हुन सक्नेछ । अर्थात् आवेदन अमेरिकाको हितमा रहेको प्रमाणित गर्न सकेमा नेपालीहरु सुचीमा नभएपनि अस्थायी कृषि कामदार भिसा पाउन सक्नेछन् ।

सुचीमा नभएका देशका व्यक्तिका लागि आवेदन दिनुपरेमा भने छुट्टै आवेदन पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । त्यस्तै सुचीमा नभएको देशलाई सुचीमा समावेशका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड समक्ष सिफारिस गर्न पनि सकिन्छ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पोलिसी अफिस वा अमेरिकी विदेश मन्त्रालय अन्तरगतका दूतावास र कन्सुलेटमा लिखित अनुरोध गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुचीमा नभएका देशका सरकारका तर्फबाट आफ्नो देशलाई सुचीमा समावेश गर्नका लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै सुचीमा नभएका देशका कामदार राख्नुपर्ने अवस्थाका रोजगारदाताका तर्फबाट पनि यस्तो अनुरोध गर्न सकिन्छ । त्यस्तै यसबारे सम्बन्धित र रुची राख्ने अन्य समुहले पनि यस्तो अनुरोध गर्न सक्छन् । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उक्त देशलाई सुचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्छ । यस्तो निर्णय गर्दा उक्त देशका नागरिक अमेरिकाबाट देशनिकाला हुने क्रममा उक्त देशको दूतावासले ट्राभल डकुमेन्ट बनाउन समन्वय गरे नगरेको लगायत उक्त देशका कति व्यक्तिलाई दिइएको देशनिकालाको आदेश कार्यान्वयन भएको छ वा कतिलाई दिइएको आदेश कार्यान्वयन भएको छैन लगायतका मापदण्डहरु हेरिनेछ ।

अस्थायी कृषि कामदार भिसा एच टु एका लागि सुरुमा आवेदकले अस्थायी लेबर सर्टिफिकेशनका लागि फाइल गर्नुपर्छ । त्यसपछि उक्त लेबर सर्टिफिकेशनका साथमा युएसीआईएसमा आई १२९ आवेदन दिनुपर्छ । उक्त आवेदन स्वीकृत भइसकेपछि दूतावासमार्फत भिसा आवेदन दिएर अमेरिका आउनसकिन्छ । यो भिसामा आइसकेपछि भिसा थप गरेर अधिकतम ३ बर्षसम्म अमेरिकामा बस्न सकिन्छ । यसरी कामदार भिसामा ३ बर्ष अमेरिका बसेको व्यक्ति अर्को पटक अमेरिका आउनका लागि कम्तीमा ३ महिना अमेरिकाबाहिर बसेको हुनुपर्छ ।

अस्थायी कृषि कामदारका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरु मुख्य भिसा वाहकसँगै एच फोर भिसामा अमेरिका आउन सक्छन् । तर मुख्य भिसावाहकका परिवारका सदस्यहरु भने अमेरिका आइसकेपछि काम गर्न योग्य नहुने युएससीआईएसले जनाएको छ । यदि अस्थायी कृषि कामदार भिसाप्राप्त व्यक्ति काम सुरु हुने मितिले ५ दिनभित्र काममा हाजिर नभएमा यसबारे रोजगारदाताले युएससीआईएसलाई जानकारी दिनुपर्छ ।

त्यस्तै रोजगारदाताको सहमति विना कामदारले कुनै सुचना नदिई काम छाडेको खण्डमा ५ दिनभित्र युएससीआईएसलाई जानकारी दिनुपर्छ । यदि रोजगारदाताले युएससीआईएसलाई जानकारी नदिएको खण्डमा हरेक नियम उल्लंघनको १० डलर जरिवाना तिर्नुपर्छ । तोकिएको इमेल ठेगाना वा हुलाक ठेगानामार्फत युएससीआईएसलाई जानकारी दिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com