मृत्युपछि पनि अंगदानबाट पाँचजनाको जीवन बचाउन सफल न्युयोर्क प्रहरीका हिरो
प्रकाशित मिति : माघ १२, २०७८ बुधबार
न्युयोर्क सिटीको हार्लममा शुक्रबारको गोली प्रहारको घटनामा मृत्यु भएका प्रहरी अधिकारी २७ बर्षका विल्वर्ट मोरा बाँच्दामात्र होइन, मृत्युपछि पनि हिरो सावित भएका छन् । प्रहरीमा सेवा गर्दा तीनपटकसम्म हिरोको उपाधी पाएका उनले अरुको रक्षाका लागि जीवनको बलिदान दिए भने मृत्युपछि उनको अंगबाट ५ जनाले जीवनदान पाएका छन् ।
उनको मुटु, कलेजो, अग्न्याशय र दुबै मृगौला पाँच जनालाई दान गरिएको छ । अंगदानका लागि प्रतिक्षा गरिरहेकाहरु ३ जना न्युयोर्क निवासी रहेको र २ जना न्युयोर्कबाहिरका रहेको जनाइएको छ । आंगदानबाट जीवन बचाएकोमा न्युयोर्कको लिभ अन एनवाई नामको संस्थाले विल्वर्ट मोरा र उनको परिवारप्रति आभार व्यक्त गरेको छ ।
टाउकोमा गोली लागेका प्रहरी अधिकारी विल्वर्ट मोराका दुईवटा सर्जरी गरिएको थियो भने अंगदानका लागि लाइफ सपोर्टमा राखिएको थियो । हार्लमको वेष्ट १३५ स्ट्रीट र लिनक्स एभिन्युमा घरेलु हिंशाबारेको फोनकल आएपछि घटनास्थल पुगेका ती प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको थियो । शुक्रबार बेलुका आमाछोरा संलग्न घरेलु हिंशाको घटनाको खबर पछि प्रहरी पोशाकमै पुगेका उनीहरुमाथि गोली हानिएको थियो ।
विल्वर्टले सन् २०१८ को अक्टोबरमा न्युयोर्क प्रहरीमा सेवा सुरु गरेका थिए । त्यसपछि सन् २०१९ को नोभेम्बरदेखि उनी हार्लमको ३२ औं प्रिसिन्टमा खटिएका थिए ।