बुर्किना फासोमा सेनाबाट सत्ता कब्जा, संविधान निलम्बन, सरकार र संसद विघटन, सिमानाका बन्द


प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

बुर्किना फासोको सेनाले सोमबार देशलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । सेनाले संविधान निलम्बन गरेको छ भने सरकार र संसद विघटन गरेको छ । त्यस्तै सिमानाका पनि बन्द गरिएको छ । कर्फयु आदेश दिइएको छ भने विद्यालयहरु २ दिनका लागि बन्द गरिएका छन् ।

एक दर्जन भन्दा बढी सैनिकहरू सहित एक सेना अधिकारीले सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारी टेलिभिजनमार्फत सत्ता कब्जा गरेको घोषणा गरेका हुन् । क्याप्टेन सिदसोर कादेर ओएड्रागोले बुर्किना फासोमा सुरक्षा स्थितिको निरन्तर गिरावट र जनतालाई एकताबद्ध गर्न सरकारको असक्षमताका कारण काबोरेलाई हटाएको घोषणा गरेका हुन् ।

राष्ट्रपतिले आफ्नो राजीनामामा हस्ताक्षर गरिसकेको उनलाई सुरक्षित स्थानमा राखिएको सेनाले जनाएको छ । काबोरेलाई कहाँ राखिएको छ भन्नेबारे स्थान अज्ञात छ । सोमबार दिउँसो उनको ट्विटर खाताबाट गरिएको ट्वीटमा मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख गरिएको थियो ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेस राष्ट्रपति काबोरको अवस्थाको बारेमा चिन्तित रहेको बुर्किना फासोको घटनाक्रमलाई नजिकबाट हेरिरहेको उनका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन् । आइतवार राजधानी ओउगाडोउगोमा राष्ट्रपति भवनको वरिपरि लडाई सुरु भएदेखि काबोरे सार्वजनिक रूपमा देखिएका छैनन्।राजधानीको उक्त क्षेत्रमा गोली चलेको र हेलिकप्टरको आवाज पनि सुनिएको थियो ।

सोमबार बुर्किना फासोमा फ्रान्सेली दूतावासले आफ्नो वेबसाइटमा एक सन्देश पोस्ट गर्दै देशमा रहेका आफ्ना नागरिकहरूलाई स्थीति अन्यौलग्रस्त रहेको चेतावनी दिएको थियो । दिनको समयमा अत्यावश्यकबाहेकका गतिविधिहरूबाट जोगिन र रातमा बाहिर नजान चेतावनी समेत दिइएको थियो । सोमबार साँझका लागि तय गरिएका एयर फ्रान्सका दुई उडान पनि रद्द गरिएको दूतावासले जनाएको छ ।

राष्ट्रपति रोच काबोरे २०१५ मा निर्वाचित भएका थिए ।

बुर्किना फासोमा हालका महिनाहरूमा आतंककारीहरूद्वारा सर्वसाधारण र सैनिकहरूको हत्यापछि निराशा बढेको छ। केही घटनाहरु इस्लामिक स्टेट र अलकायदा सम्बन्धित रहेका छन् ।

सुन उत्पादक भए पनि बुर्किना फासो पश्चिम अफ्रिकाको सबैभन्दा गरीब देशहरू मध्ये एक हो। यहाँको सेनाले इस्लामिक लडाकुहरूको हातबाट ठूलो क्षति बेहोर्नु परेको छ । इस्लामिक लडाकुहरूले देशको धेरै भागहरू नियन्त्रण कायम गर्नुका साथै ती क्षेत्रका बासिन्दाहरूलाई उनीहरूको इस्लामिक कानूनको कठोर संस्करणको पालना गर्न बाध्य पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com