बस हाँक्छन् लन्डन हन्स्लोका नेपाली मेयर, भन्छन् – ‘बस चलाउदैमा मेरो इज्जत घट्दैन’


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

झट्ट हेर्दा विकास, विलासिता र बिन्दासमात्र देखिने लन्डनको कथा वास्तविक जीवनमा अलिक फरक छ । चाहे राजनीतिज्ञ हुन्, चाहे सर्वसाधारण, यहां काम नगरि बस्ने विरलै भेटिन्छ ।

त्यसको एउटा उदाहरण हुन् लन्डन बरो अफ हाउन्स्लोका ५६ औं मेयर विष्णु गुरुङ । नेपालमा स्थानीय प्रतिनिधि पदमा पुगेपछि सकेसम्म लाभ लिने प्रवृत्ति देखिएभन्दा फरक लाग्छ उनको दैनिकी ।

६३ वर्षीय मेयर गुरुङ सोमबार देखि शुक्रबारसम्म बिहान ४ बजे उठेर बस हाँक्न जान्छन्, अनि आफ्नो ड्यूटी सकेर मेयर अफिस पुग्छन् ।

सन् २००५ देखि लन्डनमा बस चलाउन थालेका उनले दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र अहिले मेयर भएपछि पनि यो काम छाडेका छैनन् । उनी लन्डनमा २६७, २८५, ४९०, एच२८, एच२६, आर ७०, आर ६८ रुटका बस चलाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मेरो त बटर ब्रेडको जोहो बस चलाउने जागिरबाटै चल्छ’, मेयर गुरुङले भने, ‘मेयर पद सकिएपछि पनि लन्डनमा बाँच्नु त पर्यो । त्यसैले मैले आफ्नो काम कहिल्यै छोडिन ।’

बेलायतमा सबैले कामको इज्जत र सम्मान गर्ने, समानता अनि भेदभाव नभएकाले पनि आफू बस हाँक्ने कामप्रति बढी दत्तचित्त भएको उनले सुनाए ।

‘अर्को कुरा यसले मलाई जनताको सेवा र भेटघाट गर्ने अवसर दिएको छ । मलाई कामप्रति गर्व छ’, उनले थपे, ‘कामको प्रेसर त हुन्छ तर म त्यो अनुभव गर्दिन, सबैकुरा इच्छाशक्ति नै रहेछ ।’

बस हाँकिरहँदा स्थानीय जनताले अचम्म मान्दै ‘तिमी यो काम पनि गर्छौं’ भन्ने गरेको अनुभव उनी सुनाउछन् ।

बेलायतमा काम गर्दा न कसैले खिसी गर्छन् न जातीय विभेद छ । म्यानेजर नै भुईं पुछ्न तम्सिने संस्कार छ यहाँ । मेयर गर्वसाथ भन्छन्, ‘बस चलाउदैमा मेरो इज्जत घट्दैन । बरु काम नगरी बेनिफिट खानेको के इज्जत ?’ आफ्नो काउन्सिलका काउन्सिलरमध्ये कोही व्यापारी, कोही रेल चालक र कोही इन्जिनियर रहेको पनि उनले सुनाए ।

मेयर गुरुङले तलववापत वार्षिक ११ हजार, २०० सय पाउण्डमात्र पाउँछन् । व्यक्तिगत खर्चका लागि स्पेशल रेट अफ एलाउन्स (१३ हजार पाउण्ड) र काउन्सिलमा हुने कार्यक्रम, मेयर च्यारिटी (सिभिक इभेन्ट) आदिका लागि वार्षिक २५ हजार पाउण्ड थप पाउँछन् ।

‘हाम्रो गाडी सुविधा हुंदैन् । अफिस प्रविधिमैत्री भएकाले हातबाटै काम हुन्छ । कोभिड पनि भएकाले ५० प्रतिशत काम त घरैबाट हुन्छ’, उनले भने, ‘प्रत्यक्ष बैठक र कुनै कागजातमा हस्ताक्षर गर्नु परेमात्र म अफिस जान्छु ।’

ब्रिटिश आर्मीमा १९ वर्ष बढी समय बिताएर अवकास लिएका गुरुङले पल्टनमा छँदा भेहिकल मेकानिकल इन्जिनियरका रुपमा काम गरेका थिए ।

सन् १९९५ मा रिटायर्ड भएपछि उनले हङकङमा १० वर्ष रोयल इलेक्ट्रिकल एण्ड मेकानिकल 
इन्जिनियर्स इन्सट्रक्टरको काम गरे ।

सन् २००४ अन्त्यमा बेलायत आएपछि उनले गाडी बनाउने काम छाडेर बस कुदाउने जागिर शुरु गरे सन् २००५ देखि ।

उनकै भनाइमा प्रमुख प्रतिपक्षी दल लेबरबाट मेयर, काउन्सिलर हुने उनी एक्लो नेपाली हुन् । सन् २०१२ मा पार्टीको सदस्य भएका उनले दुई वर्षमै सन् २०१४ मा टिकेट पाएर काउन्सिलर भए हानवर्थ पार्क वडाबाट । सन् २०१४ देखि २०१५ सम्म डेपुटी मेयर बने ।

उनले सन् २०१८ मा फेरि काउन्सिलर जिते सोही वडाबाट । सन् २०२१, मेमा लन्डन बरो अफ हाउन्स्लोको ५६ औं मेयर बनेका उनको कार्यकाल आगामी  मेमा सकिनेछ । तर, तेश्रो पटक काउन्सिलरमा उठ्ने चाहना उनले छोडेका छैनन् ।

जागिरबाहेक उनको समाजसेवामा पनि उत्तिकै सक्रियता छ । सन् २००५ मा हन्स्लो गोर्खा नेपलिज कम्युनिटी स्थापना गरेर २०१५ सम्म सामुदायिक सेवामा तल्लीन उनी सन् २०१० देखि आर्मड फोर्सेस च्यारिटी संस्था साफा (सोल्जर्स, सेलर्स, एयरमेन एण्ड फेमिलिज् एसोसिएसन) को नर्थ वेष्ट लन्डन डिभिजन सेक्रेटरी छन् ।

यो सामाग्री मूलरुपमा लण्डनबाट प्रकाशित नेपाली लिंकमा प्रकाशित भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com