२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
अमेरिका

महामारी बेरोजगारी सहायता लिएकाहरुले आजदेखि नियमित बेरोजगारी विमा आवेदन दिनसक्ने

न्युयोर्कमा महामारी बेरोजगारी सहायता पीयुए लिएकाहरुले आजदेखि नियमित बेरोजगारी विमा आवेदन दिनसक्ने भएका छन् । सेप्टेम्बरको पहिलो साताबाट पीयुएको अवधि समाप्त भएकाले अझै पनि बेरोजगार हुनेहरुले नियमित बेरोजगारी विमाका लागि आवेदन दिनसक्नेछन् ।

आवेदन ओभरल्याप हुनसक्ने भएकाले बिहिबार अगाडिसम्म त्यस्तो आवेदन नदिन न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको थियो । तर बिहिबार पछि पीयुए लिइरहेकाहरुले नियमित बेरोजगारी विमाका लागि आवेदन दिनसक्ने भएपनि जुन आधारमा पीयुएका लागि योग्य भएको हो, त्यही आधारमा नियमित बेरोजगारी विमाका लागि योग्य हुने सुनिश्चित भने नहुने जनाइएको छ । किनभने नियमित बेरोजगारी विमाका लागि योग्य हुनका लागि फरक मापदण्डहरु रहेका छन् ।

नियमित बेरोजगारी विमा रकम लिइरहेकाहरुले भने विमामा उल्लेख सुविधा समाप्ती मितिपछि पुन आवेदन दिनसक्नेछन् । नियमित बेरोजगारी विमाका लागि योग्य हुनका लागि विगतमा काम गरेको र बेरोजगारीलाई कभर गर्न प्रयाप्त ज्याला कमाएको हुनुपर्छ । त्यस्तै आफ्नो कुनै गल्ती विना नै काम गुमाएको हुनुपर्छ । त्यस्तै काम गर्न, खोज्न र स्वीकार गर्न तयार भएको हुनुपर्छ ।

अमेरिकामा सेप्टेम्बर ५ देखि सबै संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त भइसकेका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो ।

सेप्टेम्बर ५ पछि महामारी बेरोजगारी सहायता पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी, थप गरिएको सुविधा ईबी, संघीय सरकारबाट अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिएको ३ सय डलर, मिश्रित आम्दानी गर्नेहरुका लागि संघीय सरकारबाट थप गरिएको साप्ताहिक एकसय डलरको सुविधा समाप्त  भएको छ । नियमित बेरोजगारी विमाको समयअवधि बाँकी रहेकाहरुका सन्दर्भमा भने उक्त रकम राज्यहरुले प्रदान गर्नेछन् । तर संघीय सरकारबाट प्राप्त हुने थप रकम प्राप्त हुनेछैन ।

पीयुए लिइरहेकाहरुले सेप्टेम्बर ११ सम्म अन्तिम साताको प्रमाणिकरण गर्न सक्नेछन् । त्यसपछि भने उनीहरुले प्रमाणीकरण गर्न आवश्यक छैन । सामान्यता शनिबारसम्म प्रमाणिकरण गर्न सकिने भएपनि अन्तिम साताको प्रमाणिकरण सेप्टेम्बर ११ सोमबारसम्म गर्न सकिने भएको छ ।

सेप्टेम्बर ५ पछि पनि न्युयोर्कमा नियमित बेरोजगारी विमा रकम प्राप्त गर्नका लागि आवेदक बेरोजगार हुनुपर्छ भने बेरोजगारी विमा रकम लिन थालेको सुरुको २६ हप्ता अर्थात् १०४ दिन समाप्त भएको हुनुहुँदैन । आवेदकले बेरोजगारी रकम पाउन बाँकी रहेको दिनहरु अनलाइन एकाउन्टमा गएर हेर्न सक्नेछन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सेप्टेम्बर ५ वा त्यो भन्दा अगाडि बेरोजगार भएका साताको संघीय सुविधा प्राप्त गर्न नसकेकाहरुको आवेदन न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले पुनरावलोकन गर्ने जनाएको छ । अगाडि रकम नपाएका हप्ताहरुको पुनरावलोकन सुरु गरेर योग्यहरुलाई रकम प्रदान गरिने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । रकम नपाएकाहरुले पनि नियमित रुपमा साप्ताहिक प्रमाणिकरण भने गरेको हुनुपर्नेछ ।

डिपार्टमेन्ट अफ लेवरले नयाँ पीयुए दावीहरु सेप्टेम्बर ५ पछि पनि ३० दिनसम्म स्वीकार गर्ने जनाएको छ । उनीहरुले सेप्टेम्बर ५ भन्दा अगाडिका साताको रकम पाउन सक्नेछन् । त्यस्ता आवेदनहरु स्वीकार गर्ने, योग्यता मूल्यांकन गर्ने र योग्य रहेको विगतको मितिदेखिकै रकम प्रदान गर्ने डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । त्यस्तै थपिएको सुविधा ईबी कार्यक्रमका सन्दर्भमा भने विगतमा १३ हप्ताभन्दा बढीको यो सुविधा लिएकाहरु अगस्त ९, २०२१ देखि यो कार्यक्रमका लागि योग्य हुनेछैनन् । तर उनीहरु सेप्टेम्बर ५ सम्म पीईयुसी वा पीयुएका लागि भने योग्य हुनसक्नेछन् ।

अगस्त ९ देखि ईबी कार्यक्रम १३ साताभन्दा धेरै लिन नसकिने नियम बनाइएको थियो । जसको अर्थ अगस्त ९ सम्म १३ हप्ता नपुगेकाहरुले १३ हप्ता पुगुन्जेल यो सुविधा प्राप्त गर्नसक्ने र अगस्त ९ अगाडि नै १३ हप्ता पुगेकाले त्यसपछिका हप्तामा यो सुविधा प्राप्त गर्न नसक्ने प्रावधान रहेको थियो । उदाहरणका लागि अगस्त ९ मा १० हप्तापुगेकाले त्यसपछि पनि तीनहप्तासम्म यो सुविधा पाउनसक्ने प्रावधान रहेको थियो । तर जतिहप्ता बाँकी रहेपनि सेप्टेम्बर ५ पछिभने उनीहरुले रकम पाउँदैनन् ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →