२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

माफ गर मेरा‘दलित’ साथीहरू!

अस्मिता खड्का

म धेरै कुरा नगरी बच्चाबेला मैले देखेको जातीयविभेदका बारेमा केही कुरा लेख्दैछु। पहाडी जिल्ला अर्घाखाँचीको सामान्य परिवारमा जन्मेँ हुर्केँ। मेरो परिवार खेती-किसानीमै निर्भर थियो। क्षेत्रीबाहुनको बाहुल्यता रहेको हाम्रो समाजमा दलित समुदायका मानिस आँगनको डिलमा कसैलाई नछुने गरी बस्नु पर्ने। तर मलाई अचम्म लाग्थ्यो। दमाइ दाइले सिलाएको दौरासुरुवालमा मेरो बुवा घरमा हुने हरेक पुजामा बस्नु हुन्थ्यो। तर त्योबेला मेरो हिम्मत थिएन, ती लुगा सिलाउने दाइलाई किन गुन्द्री नदिएको भन्ने।

असार लाग्छ। कोदाला, फाली र हँसियामा धार लगाएर आउने कामी दाइलाई पनित्यही व्यवहार हुन्थ्यो। त्यही विभेद देखेर हुर्केको म ११-१२ को हुँदा चाडपर्वमा लुगा सिलाउन भुकभुके उज्यालोमै गाउँदेखि करिब एक घण्टा हिँडेर दमाइ दाइको घरमा जान्थ्यौँ।

नयाँ लुगा लगाउन पाइने हुँदा हामीलाई खानको मतलब नै हुँदैनथ्यो।

बिहानै लुगा सिलाउने दाइको घर पुग्दा दाइले गाली गर्नुहुन्थ्यो-खाना खाएर आउनु पर्दैन? यतिबिहानै किनआएको केटाकेटी मान्छे?

मलाई अहिले पनि याद छ, मैले साेधें, ‘दाइ तपाई‌काेमा खाना छैन हो ?’

दाइले भने, ‘तिमी क्षेत्रीकी छोरी हाम्रो घरमा खायौँ भने तिम्रो घरकाले मार्छन्।’

दाइले पटक–पटक घर जान भने पनि हामी मान्दैनथ्यौँ। दिनभर भोकै देखेपछि लुगा सिलाउने साईला दाइले भाउजुलाई भन्नुभयो–केही खान मिल्ने काँचो, नपकाएको देऊ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मलाई याद छ। साईंली भाउजुले भन्नुभो–बारीमा फलेको मकैबाहेक अरु के छ र? केटाकेटीलाई काँचो मकै कसरी दिने?

दुई जनाले आफूमा कुरा गरिरहे तर मलाई भने नयाँ लुगा लगाउने रहरमा भोक टार्न सजिलो भएको थियो। पछि साईंली भाउजुले भन्नुभयो–म आगो बालिदिन्छु आफैँ मकै पोलेर खाउ नानी।

मैले ‘हुन्छ’भनेँ।

हुन्छ त भनेँ। तर गाउँघरमा दलितले छोएको खाए दाँत सबै खस्छन्, घरमा अलच्छिन पस्छ भन्ने कुरा हजार पटक गाउँका आमाबुबाहरुबाट सुन्दै हुर्केको म। भोकको बेला आफैँले दमाइ दाइको घरभित्र मकै पोलेर त खाएँ, तर घरमा आएपछि सोचेँ- भोलि उठ्दा मेरा सबै दाँत खसे भने घरकाले थाहा पाएर पिट्ने होलान्? निकै डर लाग्यो।

बिहान उठ्नेबित्तिकै हेरेँ। मेरा सबै दाँतजस्तोको तस्तै छन्।।अनि सोचेँ-यत्तिकै भनेका रहेछन्।

अर्को पटक जाँदा लुगा सिलाउने साईंला दाइसँग झगडा गरेँ–दाइ तपाईंले खान दिनुपर्छ भनेर मलाई तिम्रा घरकाले गाली गर्छन् भनेको ?

उहाँले ‘हैन’भन्नुभयो।

‘मैले तपाईंको मकै खाँदा त मेरा दाँत झरेनन्।’

दाइ केहीबोल्नुभएन। भाउजुले भन्नुभो–हाम्रोमा खाएको नभन्नू ल। तिम्रो घरकाले तिमीलाई घरबाट निकालिदिन्छन्। त्यसपछि मलाई डर लाग्यो। दमाइ दाइकोमा मैले खाना खान थालेको कसैलाई भनिनँ। तर बिस्तारै–बिस्तारै मैले कामीदाइ र दमाइदाइको घरमा बस्ने,खानाखाने कुरा पुरै गाउँलाई थाहा भएछ।उनीहरुले थाहापाउँदासम्म मैले घर छोडिसकेको थिएँ।

१३-१४को हुँदा विभेदविरुद्धको आन्दोलनमा लागेको एउटा अभियन्ताको नाम बनाईसकेको थिएँ। मानिसहरु हाम्रो अगाडि कोही केही बोल्दैनथेँ। तर हिँडेपछि सत्तोसराप गरेका धेरै घटना छन्। तीेमध्ये मेरो घरमा भएको एउटा घटना यहाँ सुनाउन मन लाग्यो।

सामाजिक विभेदविरुद्ध आन्दोलनमा लागेको केही वर्षपछि म जन्मेको घरमा आएको थिएँ, किनकि बाटोमै घर पर्ने हुँदा मेरो दलित साथी विष्णु र म घरमा खाना खान पस्यौँ। परिवारले त्योबेला निकै सम्मान गरे। सबै ठीकै भयो। हामी हाम्रो कामका लागि त्यहाँबाट हिँड्यौँ।हामी जातभातको कुरामा बहसभन्दा कामको कुरामा बहस गर्दै गत्तव्यमा पुग्यौँ।

तर, केही वर्षपछि थाहाभयो म गएपछि गाउँको एउटा महिलाकै कारण घरमा ठूलो रडाको भएछ। गाउँकी ती महिलाले मेरो साथी विष्णुले पढ्ने कलेजमा पढेकी रहिछन्। उनले विष्णुलाई देख्नेबित्तिकै चिनिछन्। तर हाम्रो अगाडि केही बोलिनन्। घरको नजिकैको भएकाले गाउँघरमा विनाकामै अर्कोको घरमा के भैरहेको छ चासो राख्ने बानी आम नै हो।

टोलभरिका मान्छेकहाँ गएर मेरो नाम लिँदै ‘नानीले आज दमाइको छोरीलाई भित्र राखेर खाना खुवाउनु भयो’भन्दै हिँडिछन्।

त्यसपछि घर चोख्याउने भनेर, घरमा भएको पाकेको खाना, दुध दही सबै भैंसीको मलखादमा खन्याएछन्। अनि सबैमिलेर घर गाईको गोबर र माटोले लिपेर पानीमा सुन चोपेर पुरैघर छर्केछन्। उनीहरुको भाषामा भन्दा चोख्याएछन्।

त्यो घटना टोलमा सबैले गुपचुप नै राखे। कारण थियो त्यो बेला म माओवादी युद्धको एउटा सिपाही थिएँ। माओवादीले थाहा पाए भने कारबाही गर्छन् भनेर उनीहरुले डरले त्यो गरेका रहेछन्। युद्धको बेला हुन पनि जातीयविभेद गर्नेलाई कारबाही नभएको होइन। तर, यो बेला जातीयताका बारेमा एजेण्डा निकै जोडतोड्का साथ उठाए र अहिले त्यसको परिणाम क्षतिपूर्तिस्वरुप आरक्षणको व्यवस्था गरिएको छ।

कानुनहरुमा जातका आधारमाविभेद गर्नु अपराध भनिएको छ, तर कार्यान्वयन छैन। युद्धसँगै जातीय विभेदको कुरा हराउँदै गयो। मानिस डरले मात्र परिवर्तन भएका रहेछन् तर अहिले आएर त्यसका परिणाम  देखिन थालेका छन्।

कम्युनिष्ट भनेको जातपात मान्दैन। जातीयविभेदको सख्तविरोधीहो भन्दै पार्टीको मूलनीतिमा समावेश गरेको वषौँ बिते। डरकै भरमा भए पनि मानिसले बुझ्दै जाँदा अहिले समाजमा केही परिवर्तन आएको छ। तर त्यो शून्यप्रतिशतका रुपमा रहेको छ।

कम्युनिष्टमध्येको तत्कालीन माओावादीले जातीयविभेदको अन्त्यका लागिअन्तरजातीयविवाहलाई निकै प्रोत्साहन गर्‍यो।हजारौँ जोडीको अन्तरजातीय विवाह भयो। तर शान्तिकालपछि ती सबै विवाह सम्बन्धविच्छेदमा टुंगिएका छन्। सयजनामा एक-दुई जनाको विवाह कायम होला। तर त्यहाँ पनि हजारौँ विभेद भोग्नु परेका छन्। हामीले नै जातीयविभेदका विरुद्ध आन्दोलनमा हजारौँ दलित युवा साथीहरुलाई आवद्ध गर्‍यौं। तर अहिले आएर ती साथीहरु हामीलाई धिक्कार्दैछन् होला।

त्यसैले ती मेरा दलित साथीहरुसँग माफी माग्दैछु-जातीय अहंकार मेरो समुदायबाट हटाउन सकिनँ। मैले निकै कोशिस गरेको हो। तर मेरा नेता, मेरो पार्टी नै त्यो वैचारिक आदर्शबाट उल्टोबाटो कोशाैं दूर पुगेको छ। त्यसको ताजा उदाहरण हो-तत्कालीन राज्य संचालकका एक मन्त्रीले देखाएको नांगो नाँच।

त्यसैले माफीमाग्दै, अझै पनि जातीयविभेदविरुद्ध लड्ने मोर्चामा म आफ्नो ठाउँबाट सबै अगाडि पाउनुहुने छ। जातीयविभेद अन्त्यका लागि प्रोत्साहन गर्ने नेता र नीति बोकेका मानिसले भने कहिल्यै मनदेखि विभेद अन्त्यका लागि काम गरेकै रहेनछन् भन्ने कुरा उनीहरुको व्यवहारबाट प्रष्ट हुन्छ। जातीयविभेदविरुद्ध चर्को नारा दिएका थिए भन्ने कुरा विचारलाई अहिले चिहानघारीमा खोतल्ने बेला भएको छ।यस्तो गरेकोमा उनीहरुलाई कुनै पछुतो छैन। किनकि उनीहरु कथितठूलो जातका, जसलाई देशदोहन गर्ने लाइसेन्स मिलेको छ। हजारौँछोटे राजाको गद्दीमा बसेको अहमता बढेको छ।

यता विभेदविरुद्ध आवाज बोल्नेहरु अहिले चुपचाप छन्, जसले गर्दा जातीय अहंकारकाे आगो ओकल्नेहरुको आवाज ठूलो र बलियो बनेको देखिन्छ।किनकि तिनै नक्कली परिवर्तनकारीको हातमाअहिले राज्यको बागडोर रहेको छ।

हिजो जातीयविभेदविरुद्ध बोल्ने कम्युनिष्ट नेताहरु अहिले मुखमा ताल्चा मारेर बसेका छन्।

अझै धेरै तिरस्कार तिनैहरुबाट भोग्नु पर्ने छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।