३४ पाउण्डसम्म तौल घटाउने औषधीलाई अमेरिकामा प्रयोगको अनुमति


प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार

मोटोपन भएकाहरुमा ३४ पाउण्डसम्म तौल घटाउने औषधीलाई अमेरिकामा प्रयोगको अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले १५ प्रतिशतसम्म तौल घटाउन सकिने वीगोभी औषधीलाई प्रयोगको अनुमति दिएको हो ।

अध्ययनका क्रममा वीगोभी औषधी लिएकाहरुको १५ प्रतिशत अर्थात् ३४ पाउण्डसम्म (१५ दशमलव ३ किलो) तौल घटेको थियो । सहभागीहरुले १४ महिनासम्म स्थीर रुपमा तौल घटाएका थिए । औषतमा भने ६ पाउण्डसम्म तौल घटेको अध्ययनमा देखिएको छ ।

अहिले अमेरिकामा रहेका औषधीहरुले ५ देखि १० प्रतिशतसम्म तौल घटाउने भएकाले थप ५ प्रतिशत तौल घटाउँदा स्वास्थ्यमा धेरै सुधारहरु आउने अपेक्षा गरिएको छ । अमेरिकामा १ सय मिलियन भन्दा बढी बयस्कहरुमा मोटोपन रहेको छ । जुन कुल जनसंख्याको अनुपात हेर्दा हरेक ३ जनामा १ जनामा मोटोपन रहेको छ ।

नयाँ औषधीले १५ प्रतिशत तौल घटाउँदा उच्च रक्तचाप, रगतमा चिनीकोमात्रा, कोलेस्टोरलको मात्रा नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । विगतका तौल घटाउने औषधीहरुको तुलनामा वीगोभी बढी सुरक्षित रहेको जनाइएको छ । यो औषधी लिंदा देखिने आम साइड इफेक्टहरुमा पेटमा ग्यास भरिने, वाकवाकी लाग्ने, पखाला लाग्ने रहेपनि ती साइड इफेक्ट सहजै कम गर्न सकिने जनाइएको छ ।

परिवारमा निश्चित प्रकारका थाइराइडको इतिहास भएकाहरुलाई भने यो औषधी प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै औषधी प्रयोगकर्तामा डिप्रेशन र अग्नाशय सुन्निने जोखिम हुनसक्ने जनाइएको छ । वीगोभी हरेक साता छालामा इन्जेक्सनमार्फत लगाउनुपर्छ । व्यायाम, स्वास्थ्य आहार र खानाको नियमित तालिकासँगै पनि यो इन्जेक्सनको प्रयोग गर्न सकिनेछ ।

यो औषधीको ठ्याक्कै मूल्य बताइएको छैन । तर इन्सुरेन्सविना यो औषधीको मूल्य मासिक १३ सय डलरको हाराहारीमा हुने बताइएको छ । कुनै कुनै स्वास्थ्यविमाहरुले तौलकम गर्ने उपचारहरु कभर नगर्ने भएकाले यसको खर्च तौल घटाउन चाहनेहरुले बेहोर्नुपर्ने हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com