लन्डन हन्सलो बरोमा मेयर निर्वाचित भए नेपाली मूलका गुरुङ
प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार
लन्डनको हन्सलो बरोमा नेपाली मुलका विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न हन्सलो बरोको साधारणसभाले गुरुङलाई मेयर निर्वाचित गरेको हो ।गुरुङ लेबर पार्टीबाट निर्वाचित काउन्सिलर हुन् ।
बेलायतमा नेपाली मुलबाट यहाँका काउन्सिलहरुमा मेयर निर्वाचित हुने गुरुङ तेस्रो बनेका छन् । यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए ।
लन्डन हन्सलोमा मेयर निर्वाचित गुरुङ पूर्व गोर्खा हुन् ।
१९ वर्ष बेलायती सेनामा सेवा गरेका उनी अवकाशपछि परिवारसहित बेलायत बस्दै आएका छन् ।
सन् २०१४ मा हन्सलोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित गुरुङ २०१४/१५ मा डेपुटी मेयर पनि बनेका थिए । सन् २०१८ मा उनी पुन: काउन्सिलर निर्वाचित भएका थिए ।
गोर्खा नेप्लिज् कम्युनिटी हन्सलोका संस्थापक अध्यक्ष गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेसहितका संघसंस्थामार्फत् सामाजिक कार्यमा संलग्न रहंदै आएका थिए।
त्यस्तै, आर्मड् फोर्सेस च्यारिटी (साफा) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयमसेवी भूमिकामा पनि संलग्न रहँदै आएका छन् ।








