भागरथी भट्टको बलात्कार र हत्या आरोपीले अपराध स्वीकारेको भन्दै आज सार्वजनिक गरिदै
प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ । उनी भागरथी पढ्ने स्कुलकै विद्यार्थी रहेको जनाइएको छ । उनले आफूले बलात्कार पछि हत्या गरेको स्वीकारेको प्रहरी दावी छ ।
अभियुक्तले अभियोग स्वीकार गरेको बताउँदै उनलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
यसअघि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर पनि अनुसन्धान गरिरहेको थियो भने एक सरकारी कर्मचारी समेतलाई नियन्त्रणमा लिएको थियो ।
स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा बेपत्ता भएकी थिइन् । भोलिपल्ट स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी उनको हत्यारालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन देशभरबाट दबाब बढेको थियो भने घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीलायतका उच्च अधिकारी नै फिल्डमा खटिएका थिए ।
आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी रहेको जनाइएको छ । विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेको र बाबुको पालाको रिसले छोरीमाथि जघन्य अपराध गरेको बयान समेत दिएको जनाइएको छ ।





