प्रचण्ड-माधवलाई ओलीको जवाफ- ‘नरभक्षी आन्दोलनका दिन गए’
प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा नरभक्षी आन्दोलन कसैलाई गर्न नदिने र कसैले गर्न पनि नसक्ने बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रचण्ड-माधवलाई कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोललने हुँदेन भनेर उहाँले भनेको के हो ? के चिकेन चिल्ली खान खोजेको हो ? नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । नेपाल शान्तिपूर्ण छ । नेपाल अशान्तिको भुमरीमा जान सक्दैन ।’
बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताए । उनले आफ्नो सरकार गरिबलाई माया गर्ने सरकार रहेको समेत बताए । ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ, इन्सुरेन्सलाई क्षतिपूर्ति दिन लगाउँछौँ भएन भने गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ ।’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले देश विकास र प्रगतिको पथमा हिँडेको समयमा देशमा अशान्ति र अराजकता कुनैहालतमा सैह्य नभएको बताए । सरकारले अहिले जनताका पक्षमा काम गरिरहेकाले अवरोधहरु भएको र पार्टी छाडेर केही नेताहरु हिँडेको पनि उनले बताए ।





