२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
श्रोत केन्द्र

न्युयोर्कका यो सातादेखि न्यूनतम बेरोजगारी विमा रकममा बृद्धि

न्युयोर्कका यो सातादेखि लागु हुनेगरी न्यूनतम बेरोजगारी विमा रकममा बृद्धि गरिएको छ । न्यूनतममात्र बेरोजगारी विमा रकम प्राप्त गरिरहेकाहरुको खातामा यो बृद्धि देखिनेछ । तर न्यूनतमभन्दा बढी रकम पाइरहेकाहरुलाई भने कुनै फरक पर्नेछैन् ।

जनवरी ४ देखि लागु हुनेगरी यो बृद्धि लागु गरिएको हो । यसअगाडि न्यूनतम १०४ डलर रहेकोमा जनवरी ४ पछिको साताका लागि १०८ डलर बनाइएको छ । जसजसले १ सय ४ डलरमात्र पाइरहेका छन्, उनीहरुले ४ डलर थपेर १०८ डलर पाउनेछन् । तर १०४ डलरभन्दा बढी पाइरहेकाहरुलाई कुनै असर पर्नेछैन ।

प्रणालीले यो रकम आफै अपडेट गर्ने र त्यसका लागि फोन गर्नु नपर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले जनाएको छ । साथै रकम बृद्धिका लागि कुनै अनुरोध समेत गर्नु नपर्ने जनाइएको छ ।

यसैबीच काम गुमाएका न्युयोर्कबासीले बेरोजगारी विमा रकमका अतिरिक्त ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्राप्त गर्न सुरु गरिसकेका छन् । गत आइतबार समाप्त भएको साताको साप्ताहिक प्रमाणिकरण गरेका न्युयोर्कबासीहरुले यो रकम प्राप्त गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजमा हस्ताक्षर गर्न एकदिन ढिलो गरेका कारण कतिपय राज्यहरुले १० हप्ताका लागिमात्र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय पाउने देखिएको छ । तर न्युयोर्कबासीहरुले पूरै ११ हप्ताको अतिरिक्त ३ सय डलर पाउने भएका छन् ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जनवरी ३ मा समाप्त हुने सातादेखि नै बेरोजगारी विमा र संघीय सरकारले प्रदान गर्दे अतिरिक्त साप्ताहिक तीनसय न्युयोर्कबासीले प्राप्त गर्ने घोषणा गरेका हुन् । अर्थात् न्युयोर्कबासीले कुनै पनि हप्ताको रकम नगुमाउने भएका छन् ।

यो कार्यक्रम नियमित बेरोजगारी विमाका अतिरिक्त पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी र संघीय महामारी बेरोजगारी क्षतिपूर्ति एफपीयुसी कार्यक्रममा समेत लागु हुनेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

आवेदकहरुले अतिरिक्त सुविधा प्राप्त गर्न न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरमा फोन गर्न आवश्यक नभएको जनाइएको छ । यदि बेरोजगारी सुविधा लिन सुरु गरेको ५२ हप्ता पूरा भएको छैन भने साप्ताहिक प्रमाणिकरण गरेमात्र उक्त थप सुविधा र रकम प्राप्त हुनेछ । यदि ५२ हप्ताको अवधि समाप्त भएको छ भने र पहिले नै थप सुविधाका लागि आवेदन दिनुभएको छैन भने अनलाइनबाट नयाँ आवेदन दिनुपर्छ ।

अब न्युयोर्कबासीले महामारी बेरोजगारी सहायता अन्तरगत मार्च १४ सम्म अधिकतम ५७ हप्तासम्म सुविधा लिन सक्नेछन् । अहिले पीयुए पाइरहेकाहरुले नियमित रुपमा साप्ताहिक प्रमाणिकरण गरे पुग्छ । तर संघीय सरकारका अनुशार जनवरी ३१ पछि भने थप योग्यताका कागजातहरु आवश्यक पर्नसक्छ । यदि थप कागजातको आवश्यकता परेमा डिपार्टमेन्ट अफ लेवरले आवेदकलाई सिधै सम्पर्क गर्ने जनाएको छ ।

न्युयोर्कबासीले महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी २४ हप्तासम्म प्राप्त गर्न सक्नेछन् । सुरुमा यो १३ हप्ताका लागिमात्र थप गरिएको थियो । अब ११ हप्ता थपेर मार्च १४ सम्म बनाइएको छ । राज्यको सुरुको २६ हप्ताको सुविधा लिइसकेकाहरुले साप्ताहिक प्रमाणिकरण जारी राखेपछि यो कार्यक्रम स्वतः जोडिन्छ ।

त्यस्तै संघीय महामारी बेरोजगारी क्षतिपूर्ति एफपीयुसी पनि जनवरी ३ मा समाप्त हुने साताबाट सकृय भएको छ । यो कार्यक्रम ११ हप्ताका लागिमात्र अर्थात् मार्च १४ सम्मका लागि थपिएको छ । यो कार्यक्रमका कारण परम्परागत बेरोजगारी विमा वा पीयुए लिइरहेका न्युयोर्कबासीको सुविधा मार्च १४ सम्म स्वत थपिनेछ । यो कार्यक्रम अन्तरगत पुराना हप्तामा रकम नपाएकाहरुले अहिले रकम पाउने छैनन् । जनवरी ३ मा समाप्त हुने साताबाटमात्र रकम पाउनेछन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →