गाडी लाइन छाडेर मौरीपालनतर्फ


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

कुनै समयमा बस मालिक भनेर चिनिने तनहुँको व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए। “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ”, उनले भने, “कसैसँग झगडा र राता गाला गर्नुपरेको छैन ।”

मौरीपालनको शुरुमा धेरै सङ्घर्ष गर्नुपरेको बताउने मिश्रले भने, “जीवनमा हरेस भने कहिल्यै खाइनँ, त्यसकै सफलता आज मिलेको आभास गरेको छु ।” वनको मुढेघारबाट मौरी पाल्न शुरु गरेका मिश्रले दशौँ पटकसम्म पनि मौरी नबसेपछि धेरै दुःख पाए पनि हरेसचाहिँ नखाएको उनी बताउँछन् । अहिले उनको फार्ममा ५० घार सेरेना जातका मौरी छन् ।

करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलसमेत लगाएका छन् । वर्षमा कम्तीमा ४०० माना मह उत्पादन हुने र प्रतिमाना रु एक हजारमा बिक्री गर्ने गरेको उनी बताउँछन् । मौरी छुट्याएर मौरीको घारसहित वर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए। यसरी बिक्री गर्दा प्रतिघार मौरीसहित रु १० हजार मूल्य पर्नेछ ।

मह र मौरी बिक्री गरेर वार्षिक रु सात/आठ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा १०० घार मौरी पुर्याउने लक्ष्य रहेको उनी बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बजारको समस्या छैन 

उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताए । मह बिक्रीका लागि घरघरमा धाउनु पर्दैन । घरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनका लागि टाढा–टाढादेखि मानिस आउने गर्छन् । कुनै समय त मह सकिएको अवस्थामा मानिसहरु रित्तै हात फर्कनुपरेको उनी बताउँछन् ।

बजारमा डुलाएर बिक्री गर्ने मह अधिकांश नक्कली हुने भएकाले डुलाएर हिँड्नेसँग सजग रहन सबैमा उनले आग्रह गरे । मह बालबालिका, वयस्कदेखि वृद्धवृद्धा सबैको लागि उत्तम मानिन्छ । रुघाखोकीका लागि मह अचूक औषधिको रूपमा लिइन्छ ।

वार्षिक कम्तीमा ४०० माना मह उत्पादन गर्दै आएका मिश्रले यस वर्ष मह उत्पादन ह्वात्तै घटेको बताए । यस वर्ष अत्यधिक वर्षा भएका कारण मह उत्पादन घटेको हो । अहिले मुस्किलले बाह्र माना मह उत्पादन भएको उनले जानकारी दिए । लामो समय पानी परिरहेकाले चर्नका लागि बाहिर निस्के पनि फूलको रस पानीले पखालिदिने भएकाले सोचेअनुरूपको मह उत्पादन नभएको उनी बताउँछन् । मौरीका लागि अरिङ्गाल, माउसुली, सुलसुले, गँगटे, बिच्छीलगायत मुख्य शत्रु मानिन्छन् ।

पछिल्लो समयमा विदेशिने युवालाई सकारात्मक सन्देश किसान मिश्रले दिएका छन्। मेहनत र परिश्रम गर्न सके स्वदेशमै बसेर मनग्य पैसा कमाउन सकिने उनको धारणा छ । “वार्षिक आठ/दश लाख कमाउन विदेशिनु पर्दैन”, उनले भने, “एक सय घार मौरी पाल्न सके विदेशमा कमाउने पैसा आफ्नै देशमा घरपरिवारसँग बसेर कमाउन सकिन्छ ।” मौरीपालनका लागि धेरै लगानी गर्न नपर्ने, दिनहुँ खटिनुनपर्ने, धेरै जनशक्ति नचाहिने हुँदा अन्य पेशाको तुलनामा सजिलो पेशाका रूपमा लिने गरिन्छ ।

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

मौरीपालन कृषक मिश्रले मौरीबाट विष उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्। महको घारभित्र रु ६० हजार पर्ने मेसिन जडान गरी सिसासँगै करेन्ट प्रवाह गर्दा मौरीलाई करेन्ट लाग्ने र करेन्ट लागेको झोकमा रिसाउँदा सिसालाई टोक्दा विष छाड्ने बताइएको छ ।

उक्त विष औषधि प्रयोगमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले विष उत्पादन गर्ने योजना रहेको उनले बताए । सिसामा थोरै विष छाड्ने भएकाले उक्त विष कोट्याएर सङ्कलन गरिनेछ । उक्त विषको प्रतिकिलो रु २५ लाखसम्म मूल्य पर्ने बताइएको छ । मौरीपालन किसान मिश्रलाई मौरीसहित २५ घार अनुदानमा प्रदान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। मौरीपालनतर्फ कृषकलाई आकर्षित गर्न कार्यालयले मौरीसहितको घार अनुदानमा वितरण गर्दै आएको उनले बताए। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com