‘पार्टीको आन्दोलन र भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय’


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैंँ सरकारका काममा अवरोध मात्रै आएको जनाउँदै पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट गरे ।

उनले विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर पार्टीका अन्य नेताहरु सरकार र मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटामा अग्रसर भएको आरोप लगाउँदै भने, ‘हामी एकता, एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ महाधिवेशन गर्ने, विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट हुने पार्टी बनाउन सक्रिय थियौंँ तर नेताहरु पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनुभयो ।’

अप्ठेरो अवस्थामा जनतासमक्ष जानुलाई निरङ्कुश कदम भनी चलाइएको हल्ला गलत भएको जनाउँदै उनले अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ठोकुवा गरे । ‘एकतापछि पार्टी सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन, हातहाती चाहिन्छ भनी उहाँहरुको स्वार्थले घेरिनुपर्यो’, प्रधानमन्त्री ओलीले भने ।

‘साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौंँ र यसमा सफलता पनि पाएका छौं । वर्षौँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए’, उनले भने, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘कसले काम गर्यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र, तिकडम मात्र गर्यो, जनतालाई बुझाउनुपर्छ ।’

संसद् विघटन आइतबार भएपछि प्रधानमन्त्री ओलीले आफ्ना निकटका निवर्तमान सांसदलाई आज बालुबाटारमा बोलाएका थिए । प्रतिनिधिसभा निर्वाचन आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com