२५ वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ ।

सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

“हामी यो वर्ष सूचीकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ”, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार नगरले चालु आवमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पुर्याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए । उनले भने, “मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा युनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।”

सूचीकृतको यस प्रक्रियामा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । बाह्र वर्षे कुम्भ मकर मेला (२०७८ साल) अगावै विश्व सम्पदामा सूचीकृत भइसक्ने न्यौपानेले बताए । उनका अनुसार नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, घरवास सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा शहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । यसलाई विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सूचीबद्ध भएपछि यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले विसं २०५२ मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताए । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

पनौती नपाको वडा नं ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । काठमाडौँ उपत्यका (उपत्यकाका सात क्षेत्रः काठमाडौ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये सूचीकृतमा पनौती पहिलो हुने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com