‘अबको ८ महिनामा धरहरा पुनःनिर्माण सकिन्न’


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले ढलान गर्ने तयारी भइरहेको छ । अहिलेसम्म पुनःनिर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

गोरखा भूकम्पको तीन वर्षपछि मात्रै सो सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको भीमसेनस्तम्भ पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका हुन् । मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पारेपछि नौतले बनाइएको थियो ।

दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि हिजोआज निर्माणका काममा सुस्तता देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर शुरुआती चरणमा तीव्र रुपमा निर्माणको काम भए पनि पछिल्लो समय सोहीअनुरुप काम अघि बढ्न नसक्दा थप गरिएका समयमा पनि काम सकिन्छ भन्नेमा शङ्का उब्जिएको बताउँछन् । कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनःनिर्माण प्राधिकरणले आठ महिना समय थप गरिदिएको छ ।

नेपाली र केही भारतीयसहित दैनिक १५० कामदार नियमित रुपमा निर्माणमा जुटिरहेका छन् । धरहरा पुनःनिर्माणका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठ आफूहरुले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महिना मात्रै थपिएको बताउँछन् । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किलै छ । “धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्य अभिवृद्धि र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ”, म्यानेजर श्रेष्ठले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार ऐतिहासिक ढुङ्गेधारा क्षेत्रलाई संरक्षण गर्ने गरी काम भइरहेको छ । ढुङ्गेधाराबाट निरन्तर पानी खस्ने व्यवस्था गर्न लागिएको छ । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा रु तीन अर्ब ४८ करोड खर्च लाग्ने बताइएको छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहरा थप चौडा हुनेछ । यहाँ दुई लिफ्ट रहने छन् । साथै एउटा परम्परागत भ¥याङ पनि हुनेछ । आगन्तुकले दुईमध्ये एक रोजेर प्रयोग गर्न सक्छन् ।

बयालीस रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् । बाहिरबाट ११ तलाको देखिने भए पनि स्तम्भ २२ तलाको हुनेछ । यसको उचाइ ७२ मिटर तथा १४.६३ मिटरको आधार रहने छ । पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान बन्ने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृह हुनेछ । यहाँ पढ्न, ध्यान गर्न या आरामसँग बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने बताइएको छ । धरहराको १८ औँ तलामा अवलोकन कक्षसहित सङ्ग्रहालय, फोहरा, बगैंँचा र खाजाघर पनि रहने छन् ।

पचास वर्षअघिदेखि हुलाक सेवा दिँदैआएको यहाँको गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागकै प्राङ्गणमा सारिएको छ । गोश्वारा हुलाकको भवन भएका ठाउँमा तीनतले भूमिगत पार्किङ स्थल बन्ने छ । यहाँस्थित टक्सार विभाग पनि बबलमहलमा स्थानान्तरण भएको छ । टक्सार विभाग रहँदा सुरक्षाका कारण बन्द गरिएको पुरानो बाटोलार्ई स्थानीय जनताको मागअनुसार केही समयअघिदेखि खोलिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com