राष्ट्रपतिद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा, भोलीबाट खुल्ने


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् ।

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन् ।

सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा थापाले बताए । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको जनाउँदै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिकरुपमा विरोध प्रदर्शन गर्दै आएका थिए । पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि आज अपराह्न पशुपति प्राङ्गणमा विशेष पूजाआराधना गर्ने तयारी गरेका छन् ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको जनाइएको छ ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् । मन्दिर नखुल्दा फूलप्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द रहँदा कोषलाई करीब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारीलगायत कारण यति लामो समय मन्दिर बन्द रहेको इतिहास वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन आह्वान गरेको छ । भीडभाड नगरी दर्शन गरेर फर्कन पनि कोषले अनुरोध गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com